”विगतका शासक वर्गको अदुरदर्शीता” वर्तमान पुस्तालाई चुनौती |

अन्य

”विगतका शासक वर्गको अदुरदर्शीता” वर्तमान पुस्तालाई चुनौती |
मे २७ छविलाल पौडेल पोखरा :-कुनै समय थियो सत्तापक्षले गरेको निर्णय प्रतिपक्षले र प्रतिपक्षले गरेको कार्य सत्तापक्षले तुरुन्त विरोध गरिहाल्नु पर्ने । राष्ट्रिय सरोकारको विषयमा समेत राजनीतिक प्रतिशोध देखिदा देशले ठूला अवसर गुमाउँथ्यो । सांसद किनबेच हुन्थ्यो । राष्ट्रवाद बलिबेदीमा पथ्र्यो । त्यो इतिहास धेरै पुरानो छैन । शैशवकालमा समेत पराधिनता स्वीकार नगरेको देश, जन्मैदेखि स्वतन्त्र, आफ्नो स्वाभिमान र राष्ट्रियताको सवालमा निमेषभर सम्झौता नगरेको देशको रुपमा चिनिएका हौं हामी । शासकलाई जनताले प्रश्न गर्नुपर्ने बेला आएथ्यो जब सत्ता र शक्तिका खातिर दक्षिण छिमेकीसँग राष्ट्रियताको सौदावाजी हुन थाल्यो । भारतसँग हिमचिम बढाई जमिन, पानी लगायतका अन्य क्षेत्रमा समेत राष्ट्रघात हुन थाले । सिमा क्षेत्रका बाँध र टनकपुर सन्धी शासकका अदुरदर्शी निर्णयका उदाहरण हुन् । समयसँगै परिस्थिती बदलिएको छ । मेरो देशको प्रधानमन्त्री संसदलाई संबोधनका क्रममा भन्छन्, राष्ट्र ठूलो र सानो होला, भुगोल सानो र ठूलो होला तर राष्ट्रियता र सार्वभौमिकता सबै राष्ट्रका लागि समान हुन्छ । मेरो देशको प्रतिपक्ष सांसद सिमाना विवादको विषयमा विदेशी मिडियासँग आत्मविश्वास र गर्विलो स्वरमा जबाफ फर्काउछन् : हो म मेरो देशको गौरवशाली संसदमा प्रतिपक्षको कुर्सीमा छु तर भूमिको सम्बन्धमा म मेरो प्रधानमन्त्रीसँगै रहनेछु । भारतमै कलाकारिता गर्ने विख्यात कलाकार मनीषा कोइराला भन्छिन्, हामी श्रम बेच्छौ राष्ट्रियता र सार्वभौमिकता होईन् । तव सारा नेपाली एक साथ ताली बजाउँदै नेपाली हुनुमा गर्व गर्छन् । राष्ट्रवादको यो भन्दा ठूलो उदाहरण अरु के होला । कुरा स्पष्ट छ आफूले काम गर्ने मालिकलाई बोस् भनिन्छ वा होईन । सामान्यतया राष्ट्रवाद जनताले देश र राष्ट्रप्रति सम्मानपूर्ण रुपले गरिने भावनात्मक समर्पण हो । संसारमा देशको लागि हाँसीहाँसी साहदत गर्नेहरु अनगिन्ती छन् । यसलाई राष्ट्रप्रति गरिने भावनात्मक एकताको रुपमा बुझिन्छ । राष्टवाद र देश प्रेमको बारेमा चर्चा गरिरहँदा एक अन्तर्राष्ट्रिय मन्चमा फ्रान्सका राष्ट्रपति इमानुय लम्याक्रोले ‘राष्ट्रबाद र राष्ट्रप्रेम फरक कुरा हो, बढ्ता राष्ट्रवाद देशको निम्ति घातक हुनसक्छ, किनकि राष्टवाद एक राजनीतिक बिचारबाट उत्पन्न हुने निरपेक्ष विचार हो । जसले सिङगो देश र जनताको समग्र भावना समेटिएको हुँदैन । त्यो समय अनुसार परिवर्तन हुने बैचारिक र सैद्धान्तिक पक्षसँग सम्बन्धित कुरा हो । बढ्ता राष्ट्रवादले देशलाई क्षति गर्छ । तर देशप्रेम भनेको समग्र जनताको भावनात्मक सम्बन्ध हो । जसले सिंगो देशवासीलाई एउटा मालामा उन्ने काम गर्दछ । त्यस कारण राष्ट्रवादी भन्दा देशप्रेमी हुनु आव्हान गर्दछु ।’ तात्कालीन समयमा देश भित्र भइरहेको दक्षिणपन्थी र उग्रबामपन्थी शक्तिको संयुक्त आन्दोलन र आन्दोलन गर्न मद्दत गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय शक्तिहरुलाई ब्यङ्ग गर्दै सम्झाएको यो प्रसंगले धेरै कुरा प्रस्ट्याउँछ । सरसर्ती विश्लेषण गर्दा राष्ट्रवाद राजनैतिक शब्दावली जस्तो मात्रै देखिन सक्छ जसलाई शासकहरुले आफ्नो पक्षमा भीड जम्मा गर्न वा सर्मथक बटुल्न बढी प्रयोग गर्ने गर्दछन् । अनि राजनीतिकै फरक विचार बोक्नेले विपरीत विचारका राष्ट्रवादलाई गलत प्रमाणित गर्न अपनाउने गर्दछन् । यस्तो सन्र्दभमा राष्ट्रवाद पहिचानको विषयमा रुपान्तरण गरिनु आजको अपरिहार्यता देखिन्छ । जहाँ राष्ट्रवाद राजनीतिसँग मात्र नभई उत्पादन र पहिचानसँग जोडिएर आत्मर्निभरतासँग मुल्याङ्कन गरिनुपर्छ । जसले २१औं शताब्दीको मानवीय आवश्यक्ता र महत्वकाँक्षा दुबैलाई प्रतिबिम्बित गर्न सकोस् । तसर्थ अवको राष्ट्रवाद हारजीतको लागि मात्र होईन अर्थतन्त्र र उत्पादन केन्द्रित हुनु जरुरी छ । जसले शासकलाई मात्र होईन जनताको जीबिकालाई समेत समृद्ध र चलायमान बनाउन सक्छ । आत्मनिर्भर राष्ट्रवाद एकल राजनीतिको औपचारिकता नभई राज्य र जनताका आवश्यता परिपूर्तीका साधनमा केन्द्रित हुनु् पर्दछ । राजनैतिक क्रान्तिले कृषिक्रान्ति तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सक्नुपर्छ । जसले जनताका आवश्यता साथै अर्थतन्त्रलाई समेत गुणात्मक वृद्धिको संकेत गर्दछ । भोको पेट अनि उत्पादन बिनाको राष्ट्रबाद विकासोन्मुख राष्ट्रका लागि सबैभन्दा घातक हुन जान्छ । तसर्थ अबको राष्ट्रवाद उपभोग्य बस्तु तथा सेवा आयातीत गर्ने होईन देशका हरेक क्षेत्रमा पहिलो चरणमा आत्मनिर्भता र दोस्रो चरणमा निर्यात गर्ने उद्देश्य केन्द्रित हुनुपर्छ । दोस्रो विश्वयुद्ध पछिको जापान, आणबिक होडमा विश्व समुदायसँग प्रायःएक्लिएको उत्तर कोरिया, अरब राष्ट्रहरुको संगठनले नाकाबन्दी नै गरेको कतार आत्मनिर्भर बिनाको राष्ट्रवादको अवस्थामा भएको भए आज ती देशका जनता कंगो र सिरियाको अवस्थामा हुने थिए । उल्लेखित राष्ट्र मध्ये कतार यस्तो राष्ट्र हो, जसले बढाएको अर्थतन्त्रमा लाखौ नेपालीहरुको अमूल्य योगदान छ जसलाई कतार स्वयम्ले निसंकोच स्वीकार गरिसकेको छ । आत्मनिर्भरताको दौड हेर्दा सामान्य तर पार गर्न हम्मे हम्मे हुने म्याराथुन हो । नेपालको सन्र्दभमा उत्पादन विविधता नहुनु, उत्पादित बस्तुले बजार नपाउनु अनि अल्पकालीन लगनशिलताका कारण आत्मनिर्भरताले पूर्णता पाउन सकेको छैन । प्राविधिक ज्ञान बिनाको कृषि अहिले नागरिकहरुका लागि पूर्ण राजनीतिक प्रशिक्षण बिनाको नेतृत्व जस्तै अवस्थामा छ । राजनीतिले टुटेफुटेको जुगाड गर्ने बाहेको दृष्टिकोण नदिनुले यस क्षेत्रका अनुदान र लगानी बालुवामा पानी भएको छ । राष्ट्रवादको नारा अव घर घरमा उत्पादन, युवा जनशक्तिको श्रम र राज्य अनि जनताको दैनिक आवश्यक्ता सँग तालमेल मिलाउन नसक्ने हो भने अर्थतन्त्र अपुरो र अधुरो नै रहन्छ । यस्तो अवस्थामा भोको पेटले माथि उल्लेख गरेको राष्ट्रवादको परिभाषालाई जनताले साथ नदिन सक्छन् । ग्राहस्थ उत्पादकत्वको गुणात्मक बुद्धि अवको आत्मनिर्भर राष्ट्रवादको मार्गनिर्देशन बनाउन राज्यको संयन्त्र केन्द्रित गरिनु पर्छ । चाहे त्यो शिक्षा क्षेत्रमा लगानी बढाएर होस्, चाहे प्रविधिको क्षेत्रमा अथवा कृषि क्षेत्रमा जसरी हुन्छ देशलाई कच्चा पर्दाथको आत्मनिर्भता सहितको औद्योेगीकरणमा धकेल्न कन्जुस्याई गर्न हुदैन । तर बिगतमा उखु किसानले भोगेको नियती जस्तो होईन । श्रम र श्रमिकले अपनत्व महशुस ब्यवहारमै गर्ने नीति तथा कानुनी प्रवन्ध सहित गरिने आन्दोलनले मात्र आन्मनिर्भराको युद्ध पालनायोग्य हुन्छ । जँहा सबै योद्धाहरुको जित मात्र हुन्छ । यो नै आजको दिनमा राजनीतिको मार्ग चित्र हुनु पर्दछ । हामी राष्ट्रको ब्यवस्था बदल्न आत्मनिर्भर भयांै, शासकीय स्वस्प बदल्न सक्षम भयौं । अव राष्ट्रवादलाई पूर्णता दिन आयातीत बस्तु तथा सेवाको उत्पादनमा पनि आत्मनिर्भर हुन कार्यान्वयनको मार्गचित्र सहितको योजना नेतृत्व तहबाट आउनु जरुरी छ । राष्ट्रवादलाई खोक्रो हुन नदिन बिदेशमा बेचिएको श्रमको उचित मूल्य नेपालमै पाईने ब्यवस्था नै आधारभूत प्रश्न हो । १९९० को दशकसम्म समुन्द्रमा हिरा खोज्न भौतारिने खाडी राष्ट्र संयुक्त अरब ईमिरेटस् आजको दिनमा बैभवको हैकम जमाउनु केवल आयातीत श्रमको मात्र उपज होईन । जो सँग श्रम अभाव थियो तर योजना र कार्यान्वयनमा दृढता थियो । ठीक उल्टो हामी सँग श्रम प्रशस्त छ, तर कार्यानवयको दृढतामा खडेरी छ । हाम्रो अर्थतन्त्रलाई सिंगापुर बनाउने हाम्रो नेतृत्वको राष्ट्रवाद नै आयातीत थियो त्यही कारण बोलीमा सीमित भयो । नेपालको राष्ट्रवाद आत्मनिर्भता भएको भए न त नेतृत्व असफल हुने थियो नत हाम्रो सार्वभौमिकता माथि कुदृष्टि नै लाग्ने थियो । हामी सबैथोक बिदेशीमा निर्भर हुन्छौं, विदेशीसँग किनेर खान्छौं । दिनेले त्यसलाई आत्मसमर्पण सम्झन सक्छ । हाम्रो राष्ट्रवाद त्यति बेला निस्प्रभावी बन्छ जति बेला विश्वलाई तरंगित पार्ने महाबीर पुन जस्ता बैज्ञानिक आविष्कार केन्द्र निर्माणका लागि सरकार छाडेर जनतासँग हात फैलाउन पुग्छन् । हाम्रो राष्ट्रबाद राजनीतिबाट दुरदराज हुन्छ तब धुर्मुस सुन्तली जनतासँग मागेर रंगशाला निर्माणमा जुट्छन् । हाम्रो राष्ट्रवाद त्यति बेला कमजोर बन्नसक्छ जब देशको सार्वभौमिकताको विषयमा एकाध बाहेकका मिडिया गुमनाम रहन्छन् । यस्ता जनसरोकारको विषयमा अभिभाकत्व ग्रहण गर्न नसक्ने नेतृत्वलेनै आत्मनिर्भर राष्ट्रवादलाई दुरुत्साहन गर्न असक्षम हुन्छन् । जव हामी राष्ट्रवादलाई आत्मनिर्भर बिहीन बनाउने दुस्प्रयास गर्छौ तब हाम्रो राष्ट्रबाट पुनः राजानीतिको ललिपप मात्र बन्छ । न भोक मेटाउँछ न प्यास । नेपालको सन्दर्भमा भूपरिवेष्ठित राष्ट्रको चुनौतीपार गर्ने सबैभन्दा प्रमुख अस्त्र नै आत्मनिर्भर राष्ट्रवाद हो । जहाँ सबैका चुला बलेका हुन्छन्, सबैका श्रमले स सम्मान मुल्य पाएका हुन्छन् । भुपरिवेष्ठित राष्ट्रका पारबाहन समस्याको समाधान स्वःउल्पादन भन्दा ठूलो कुनै आविष्कारले गर्न सक्दैन । राज्यको नीति तथा कार्यक्रम अनि वार्षिक आयब्ययमा समेत आत्मनिर्भर राष्ट्रवाद भित्र के कस्ता कार्यक्रम कार्यान्वयन गर्ने भन्ने स्पष्ट खाका आयो भने देशको आर्थिक वृद्धि चमत्कारिक हुनेमा शंका रहँदैन । जसको कारण हाम्रो पारबाहन खर्च समेत कटौती हुन्छ । तसर्थ अबको राजनीति देखावटी राष्ट्रवाद र रगत उमाल्ने होईन आत्मनिर्भर राष्ट्रवाद हुनुपर्दछ ।

लेखक :-छविलाल पौडेल शाखा प्रमुख, नेशनल लाईफ इन्सोरेन्स, लेखनाथ, कास्की


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...