घरविहिन दर्जीलाई स्याङ्जाका स्थानीय यूवाद्वारा पक्कि घर उपहार

अन्य    देश    समाज    स्थानीय

घरविहिन दर्जीलाई स्याङ्जाका स्थानीय यूवाद्वारा पक्कि घर उपहार

१६ भदौ, स्याङ्जा । स्याङ्जा विरुवाका यूवाहरुले स्थानीय दर्जीलाई उपहार स्वरुप घर निर्माण गरिदिएका छन् । स्याङ्जाको विरुवा गाउँपालिका वडा न ७ स्थित माथिल्लो बलेउ र यादी गाउँका यूवाहरुले स्थानीय दर्जी ईमान सिँ नेपालीलाई रकम संकलन गरि पक्कि घर निर्माण गरिदिएका हुन् ।

नेपाली परिवारका लागि निर्मित पक्कि घर

नेपालीले विगत ४० वर्षयता दर्जी र कटुवालको रुपमा निरन्तर सेवा दिँदै आएका छन् । उनले परम्परागत बालिघरे प्रथाको आधारमा स्थानीयबाट मकै, कोदोजस्ता कृषि उपज पारिश्रमिक बापत बुझ्दै आएका छन् । उनलाई स्थानीयले ४० वर्षअघि दर्जी र कटुवालको रुपमा स्थानीयको सेवा गर्न छिमेकी गाउँबाट माथिल्लो बलेउ गाउँमा ल्याएका थिए । तर उनले आर्थिक अभावका कारण हालसम्म घर निर्माण गर्न सकेका थिएनन् ।

दर्जीको दुरावस्थालाई मध्यनजर गर्दै सोहि स्थानमा क्रियाशील सम्झना यूवा क्लवले ईमान सिँ नेपाली घर निर्माण अभियान सुरु गरेको थियो । "क्लवले स्वदेश तथा विदेशमा भएका स्थानीयहरुबाट घर निर्माणको लागि रकम संकलन गरेको हो" क्लवका अध्यक्ष गंगा गुरुङले बताए -"उनको बस्नको लागि आफ्नै घर थिएन । शरण लिएर बसिरहेको घर पनि जीर्ण अवस्थामा पुगेकाले हामीले उनलाई रकम जुटाएर घर बनाईदिने निर्णय गरेका हौँ ।"

घर हस्तान्तरण गर्दै स्थानीय

चार दशक यता गाउँलेको सेवामा निरन्तर लागिरहेका नेपाली परिवारको सम्मानको लागि उपहार स्वरुप पक्कि घर निर्माण गरिएको अभियानका संयोजक पिम गुरुङको कथन छ । उनि अघि थप्छन्, "चार दशकदेखि गाउँलेको सेवा गर्दै आएका एउटा सच्चा सेवकको लागि यो एउटा नगन्य पुरस्कार मात्रै हो । तर यसले उनको परिवारको दैनिकीलाई सहज बनाउनेमा हामी विश्वस्त छौँ ।"

नेपाली दम्पतिलाई घर हस्तान्तरण गर्दै स्थानीय बृद्धिजीबीहरु

नयाँ घर पाएपछि नेपाली परिवारले पनि खुशी व्यक्त गरेका छन् । "मैले आफ्नै बलमा घर बनाउने प्रयास नगरेको होईन । तर पैसा नभएकै कारणले बनाउन सकिनँ" ईमान सिँ नेपाली भन्छन्, "तर मलाई यो गाउँका दाजुभाईहरुले घर बनाईदिएर ठूलो गुन लगाउनुभएको छ । म साह्रै खुशी छु ।"

निर्माण कार्यमा श्रमदान गर्दै स्थानीय यूवाहरु

नेपालीको घर निर्माणको लागि क्लवले साढे तिन लाख रुपैयाँ संकलन गरेको थियो । संकलित रकमले मात्रै घर बन्न सम्भव नहुने भएपछि क्लवका सदस्यहरुले निर्माण अवधिभर स्वतस्फुर्त रुपमा श्रमदान गरेका थिए । "यो काम सानै भएपनि हाम्रा लागि निकै महत्वपूर्ण र गर्व गर्न लायक काम हो" क्लवका उपाध्यक्ष टेक गुरुङको जिकिर छ- "यो एउटा उदाहरणीय काम हो, जसबाट अरुलाई पनि यसक किसिमको सामाजिक काम गर्न उत्प्रेरणा मिल्छ ।"

निर्माणाधीन घर
निर्माणाधीन घर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...