बिजय हुँदा राष्ट्रिय धुन संगै झण्ड उचाल्दा खुसिको आँशु आउथ्यो,राष्ट्रिय बक्सिङ्ग खेलाडी चित्र बहादुर गुरुङ्ग |
अन्यमई ८ पोखरा :-स्याङ्गजा जिल्ला बिरुवा गाउँ पालिका गोफादीको सानो गाउँमा जन्मेर , हुर्केरका एक सफल राष्ट्रिय खेलाडीको नाम हुन् चित्र बहादुर गुरुङ्ग ।सन् १९८९ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न साग गेम्सबाट स्वर्णपदक जितेका थिए, बक्सर चित्रबहादुर गुरुङले । उनी अहिले पोखराको बन बिज्ञान अध्ययन क्याम्पसमा खेलकुद शिक्षक छन् ।चित्र बहादुर गुरुङ्गले बक्सिङ खेल्न थालेको तीन वर्षमै आफूले सागमा स्वर्ण जितेको बताउँछन्। स्याङ्जामा घर भए पनि उनले लामो समय हङकङमा बिताएका थिए । सन् १९६८ देखि १९७५ सम्म हङकङ बस्दा उनी पौडी र बास्केटबल खेलाडी थिए ।
सन् १९७५ मा नेपाल फर्केपछि उनले पौडीलाई निरन्तरता दिन सकेनन् । स्याङ्जामा नियमित अभ्यास गर्नका लागि स्विमिङ पुल नभएकाले पौडीलाई निरन्तरता दिन नसकेको उनी बताउँछन् ।पौडी छाडेर चित्रबहादुर भलिबल खेल्न थाले । चाँडै नै उनी भलिबलको राष्ट्रिय खेलाडी बने । ०३८, ०४० र ०४१ सालमा भएको राष्ट्रिय प्रतियोगितामा उनले भलिबल खेलेका थिए । यसैगरी, उनले सर्टपुट (छेलो फ्याँक्ने) मा पनि राष्ट्रिय प्रतियोगिता खेले ।सन् १९८६ बाट मात्रै उनी बक्सिङतिर लागे । समूह खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न नसक्ने महसुस गरेर बक्सिङ रोजेको उनले बताए । सन् १९८९ मा उनले बक्सिङबाट नेपालका लागि स्वर्णपदक जिते । यो उनको जीवनकै सबैभन्दा खुसीको क्षण थियो ।
पाकिस्तानको इस्लामावादमा स्वर्णपदक थाप्दाको क्षणलाई उनी यसरी वर्णन गर्छन्- ‘कुनै पनि प्रतियोगितामा स्वर्णपदक जित्नुभन्दा ठूलो खुसी एउटा खेलाडीका लागि अर्को हुन सक्दैन । त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दाको गौरव शब्दमा बयान पनि गर्न सकिँदैन ।पदक घोषणा गर्ने क्रममा नेपाली झन्डा फहराउँदा नै म निकै भावुक बनिसकेको थिएँ । आफूले देशको शिर उँचो बनाएको अनुभूति भइरहेको थियो । जब नेपालको राष्ट्रिय धुन (त्यतिबेला श्रीमान गम्भीर नेपाली थियो) बज्न थाल्यो, मेरो आँखाबाट अनायासै बरर आँसु र्झन थाले । त्यो हर्षको आँसु थियो । म पछि पनि धेरै रोएँ । उक्त प्रतियोगितामा चित्रबहादुरले पहिलो प्रतिस्पर्धामा भुटानका बक्सरलाई नकआउट गरिदिएका थिए । त्यसपछि सेमिफाइनलमा उनले भारतीय बक्सरलाई ५-३ ले हराएर फाइनलमा प्रवेश गरे । फाइनलमा श्रीलंकन बक्सरलाई पनि उनले ५-३ ले नै हराएर स्वर्णपदक जितेका थिए ।चित्रबहादुरले बेइजिङमा सम्पन्न १४औँ एसियन च्याम्पियनसिपमा कास्यपदक जिते, जुन नेपालले जितेको एक मात्र पदक थियो । यसैगरी सन् १९९० मा आयोजित एसियन गेम्समा पनि उनले कास्यपदक जिते । १२औं एसियन गेम्समा पनि उनी छनोट भएका थिए । तर, बिरामी भएर भाग लिन पाएनन् । सो प्रतियोगितामा भाग लिन नपाएपछि उनले बक्सिङबाट सन्न्यास नै लिए ।राज्यले हेरेन '‘शरीरमा बल हुँदासम्म देशका लागि खेलियो । देशका लागि खेल्दासम्म सबैले हाई-हाई गरे, पत्रिकाले फोटो छापे । तर खेल्न छाडेपछि कसैले वास्ता गरेनन् । जीवन धान्ने चिन्ता सुरु भयो,’ यस्तो गुनासो छ चित्रबहादुरको । राष्ट्रका लागि खेलेका र पदक जितेका खेलाडीको भविष्यका विषयमा राज्यले ध्यान दिनुपर्ने उनी बताउँछन् । त्यसो त अहिले क्याम्पसको जागिर र सरकारबाट आउने आजीवन २५ सय रुपैयाँ भत्ताले उनको जीवन धानिएकै छ । शरीरमा बल भए सम्म राष्ट्रका लागि लडेका खेलाडीहरुको भबिस्य प्रति राष्ट्र हाक्ने नेताहरुको ध्यान नगएकोमा दुख ब्यक्त गरेको छ |