अमेरिकालाई समेत हायलकायल बनाएको तालीबानी कमाण्डर

none    विदेश

अमेरिकालाई समेत हायलकायल बनाएको तालीबानी कमाण्डर

सन् २००१ मा शक्तिबाट च्युत भएपछि पश्चिमाहरूको समर्थनमा बनेको अफगानी सरकारविरुद्ध तालिबानले निरन्तर लडिरहेको थियो ।

सन् १९८० मा सोभियत फौज हटेपछि अमेरिकी सहयोगमा उदाएको तालिबान मूलतः मुजाहिद्दीन नामक लडाकु दस्ताका सदस्यबाट उदाएको हो । तालिबान सन् १९९४ मा स्थापना भएको हो, जुन गृहयुद्धको एउटा गुटबाट जन्मिएको थियो । दुई वर्ष अर्थात सन् १९९६ सम्म तालिबानले इस्लामिक कानुन लागू गर्ने भन्दै मुलुकको धेरैजसो ठाउँ आफ्नो कब्जामा लिएको थियो । 

तालिबान नेता स्तानिकजाइ

विपक्षी र पश्चिमा मुलुकले इस्लामिक कानुन लागू गराउने नाममा तालिबानले क्रूर हिंसात्मक बाटो अपनाएको र धार्मिक अल्पसंख्यकलाई दबाएको आरोप लगाउँदै आएका छन् । तालिबानका संस्थापक नेता मुल्लाह मोहम्मद ओमार हुन् । ओमार ११ सेप्टेम्बर २००१ मा अमेरिकाको ट्विनटावरमा आक्रमण भएपछि भूमिगत भए । यो आक्रमणपछि अफगानी स्थानीय फौजलाई अमेरिकाले सहयोग गर्दै सैन्य गठबन्धन गर्‍यो । त्यसपछि तालिबान तितरबितर बनेको थियो । 

ओमार यतिसम्म गुप्तबास भए कि उनको मृत्यु भएको समेत दुनियाँले दुई वर्षपछि मात्र चाल पायो । सन् २०१३ मा ओमारको मृत्यु भएपनि याे खबर दुई वर्षपछि मात्र उनका छोराले पुष्टि गरेका थिए । विदेशी सैनिक फौज अफगानिस्तानबाट हट्न थालेसँगै तालिबानले फेरि एकपटक आफ्नो सैनिक क्षमता बढायो र क्रमशः मुलुकको धेरै भाग कब्जा गर्‍यो ।

तालिबानले राजधानी काबुल नै कब्जामा लिन अघि बढेकै विद्रोही पक्षले बलपूर्वक सत्ता नलिने भन्यो । त्यसपछि गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवाले पनि शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने सार्वजनिक अभिव्यक्ति दिए । लगत्तै तालिबानका प्रतिनिधि वार्ताका लागि राष्ट्रपति भवन पुगेका छन् । सन् २००१ यता तालिबान आन्दोलनलाई यो चरणसम्म ल्याइपुर्‍याउने ६ मुख्य कमाण्डर यस्ता छन् ।

हैबतुल्लाह अखुन्जादा 

बफादार धार्मिक नेताका रूपमा चिनिने हैबातुल्लाह इस्लामिक कानुनका विज्ञ हुन् । तालिबानको सर्वोच्च नेता उनीसँग यो समूहको राजनीतिक, धार्मिक र सैनिक अधिकारको अन्तिम निर्णय छ । यसअघिका सर्वोच्च नेता अख्तर मन्सुर सन् २०१६ मा अफगानिस्तान र पाकिस्तानको सीमामा अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि अखुन्जादाले नेतृत्व सम्हालेका हुन् ।

मे २०१६ मा अचानक गायब हुनुअघि १५ वर्षसम्म अखुन्जादाले दक्षिणपश्चिम पाकिस्तानमा पर्ने कुचलाकको मस्जिदमा पढाउँथे ।अखुन्जादाको उमेर ६० वर्षको हाराहारीमा रहेको अनुमान छ । उनी कहाँ छन् भन्ने अज्ञात नै छ ।  

मुल्लाह मोहम्मद याकुब

याकुब तालिबानका संस्थापक नेता मुल्लाह ओमरका छोरा हुन् । तालिबानको सैन्य फाँटको नेतृत्व गर्ने उनी अफगानिस्तानभित्रै बस्ने स्थानीय सञ्चारमाध्यमको दाबी छ ।  यसअघि नेतृत्व परिवर्तनको प्रतिस्पर्धा हुँदा उनलाई पटक-पटक मुख्य नेतृत्व सुम्पिने प्रस्ताव गरिएको थियो ।

तर, याकुबले सन् २०१६ मा अखुन्जादालाई अगाडि सारे । आफू कम उमेरको भएको र युद्धभूमिको अनुभवको अभाव देखाउँदै उनी नेतृत्व लिनबाट पन्छिएको बताइन्छ । याकुबको उमेर ३० वर्ष मात्र भएको लख काटिन्छ । 

सिराजुद्दिन हक्कानी

सिराजुद्दिन मुजाहिद्दिनका कमान्डर जलालुद्दिन हक्कानीका छोरा हुन् । उनी हक्कानी सञ्जालका नेता पनि हुन् । यो सञ्जालले अफगानिस्तान र पाकिस्तान सीमामा तालिबानको वित्तीय र सैनिक परिचालनको कार्य गर्छ । 

अफगानिस्तानमा आत्मघाती बम आक्रमणको सुरुवात हक्कानीहरूले नै गराएको धेरैको विश्वास छ । काबुलको होटलमा भएको आक्रमण, तत्कालीन राष्ट्रपति हमिद कारजाइको हत्याप्रयासजस्ता हाइप्रोफाइल आक्रमण यही सञ्जालले गराएको ठानिन्छ । सिराजुद्दिनको उमेर ५० वर्ष भएको अनुमान छ । 

मुल्लाह अब्दुल घानी बरादर

बरादर तालिबानका संस्थापकमध्ये एक हुन् । तालिबानको राजनीतिक नेतृत्व उनैले गर्छन् । कतारको दोहामा अमेरिकासँग वार्ता गर्ने समूहमा उनी पनि सामेल थिए । केही महिना अघि मात्रै यो वार्ता निष्कर्षहीन बनेको थियो । उनी मुल्लाह ओमारका सबैभन्दा विश्वासिला कमान्डरमध्ये एक हुन् । बरादर पाकिस्तानको कराचीमा सन् २०१० मा पक्राउ परेका थिए भने सन् २०१८ मा मुक्त भए । 

शेर मोहम्मद अब्बास स्तानिकजाइ

अघिल्लो पटक तालिबान सत्तामा हुँदा स्तानिकजाइ उपमन्त्री थिए । सत्ताच्यूत भएपछि उनी करिब एक दशक दोहामा बसे । सन् २०१५ मा उनी दोहास्थित तालिबानको कार्यालय प्रमुख बने । सरकारसँगको वार्तामा सहभागी बनेका उनले तालिबानको कूटनीतिक टोलीमा सहभागी भएर  विभिन्न मुलुक भ्रमण गरेका छन् । 
अब्दुल हकिम हक्कानी

हक्कानी तालिबानको वार्ता टोलीका प्रमुख हुन् । उनी तालिबानको पूर्व छायाँ अदालतका प्रधान न्यायाधीश समेत हुन् । धार्मिक विद्वानहरूको परिषद्का प्रमुख समेत रहेका उनी अखुन्जादाका विश्वासिला मानिन्छन् । यो परिषद् तालिबानको शक्तिशाली संगठन मानिन्छ । 


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...