लमजुङको पर्यटकीय गाउँ राइनासकोटमा होमस्टे सुरु।

अन्य

लमजुङको पर्यटकीय गाउँ राइनासकोटमा होमस्टे सुरु।

अक्टुबर ७ पोखरा :-भूकम्पबाट क्षतीग्रस्त बनेका पूर्वी लमजुङको पर्यटकीय गाउँ राइनासकोटमा पुनःनिर्माणसँगै घरबास (होमस्टे) सुरु भएको छ ।पुनःनिर्माण गरिएका १४ घरमध्ये ९ घरमा घरबास कार्यक्रम सुरु गरिएको हो । भूकम्पपछि अमेरिकी नागरिक नातासाको सहयोगमा राइनासकोटका १४ घर, १ आरोग्य भवन र १ सामुदायिक भवन निर्माण गरिएको थियो । करिब १ करोड ५० लाख रुपैयाँको लगानीमा उक्त घर निर्माण गरिएका हुन् ।

५ वटा कोठा रहने भूकम्प प्रतिरोधी घर पुरानै शैलीमा निर्माण गरिएको राइनासकोट पुनःनिर्माण कार्यक्रमका संयोजक विवेक पण्डितले बताए । गल्लीमा बत्ती जडान गर्नुका साथै प्रत्येक घरका पिँढी आगन, आकासे पानीको व्यवस्थापन पुरानै शैलीमा गरिएका छन् ।राइनासकोटमा रहेका केही पुराना घरलाई भने पौराणिक महत्व झल्काउन पहिलैकै स्वरुपलाई सुरक्षितसँग राखिएको छ । गुरुङ जातिको बस्ती रहेको राइनासकोटमा उनीहरुको कला, संस्कृतिलाई जोगाउन संग्रहालय समेत स्थापना गरिएको छ । पुनःनिर्माण र वातावरणमैत्री अवधारणा पनि सँग–सँगै सुरु भएको छ ।

अवधारणा अनुसार गोबर ग्यास, धुवाँरहित चुलोे, फोहोरमैला र पानीको व्यवस्थापनका लागि काम भइरहेको छ । त्यसैगरी राइनासकोट प्रवद्र्धनका लागि एग्रोटुरिजम अवधारणा पनि सँग–सँगै बढाइएको छ । प्रत्येक घरमा हरित गृहसहित कृषि र पशुपालनका साथै तल्लो भागमा अलैँचीखेती सुरु गरिएको छ ।

वाइसेचौविसे राज्य शासनमा तत्कालीन राजकुमार द्रब्य शाह बसेको राइनासकोट पुग्न लमजुङ प्रवेशद्वार पाउँदीबाट ३ घण्टाको पैदल यात्रा र २ घण्टाको सवारी यात्रापछि पुग्न सकिन्छ । राइनसकोटबाट अन्नपूर्ण र मनास्लु, हिमशृृंखला तथा लमजुल हिमाल, बुद्ध हिमाल, गणेश हिमाल, माछापुच्छ्रेलगायत हिमाल सजिलै देख्न सकिन्छ ।यसैगरी लमजुङका साविक ६१ गाविसमध्ये ६० गाविस र विभिन्न १६ जिल्लाको भू–भाग देख्न सकिने पर्यटन व्यवसायी कृष्णराज ओलियाले बताए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...