चार महिना पछि पोखराको सडकमा गुड्न थाले नगर बस।

स्थानीय

चार महिना पछि पोखराको सडकमा गुड्न थाले नगर बस।
जुलाई २४ पोखरा:-लकडाउनको लामो अन्तरालपछि नगर बस गुड्न सुरु गरेका छन् । कोभिड–१९, का कारण कायम रहेको बन्दाबन्दीले लामो समयदेखि रोकिएका सार्वजनिक सवारी साधन सरकारले आधारभूत मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिएसँगै गुड्न सुरु गरेका हुन् । पोखरामा महानगरपालिकामा ३७८ नगर बसमध्ये बिहीबार करिब आधा नगरबस सञ्चालनमा आए । पोखरा यातायात प्रालिका अध्यक्ष देउप्रसाद गुरुङले कोरोना जोखिमको आधारभूत मापदण्डलाई अपनाएर बिहीबार करिब आधा बस सञ्चालनमा आएका जानकारी दिए । गुरुङका अनुसार यसअघि लिइराखेको भाडा दरमा दोब्बर लिने गरी र एक सिटमा एक जना यात्रुमात्र राख्ने गरी बस सञ्चालन गरिएको हो । गाडी चालक, सहचालक यात्रु सबैले आधारभूत स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ । लामो समय गाडी नचलेपछि अधिकांश गाडी ग्यारेजमा थन्किएका छन् भने चालक, सहचालक आआफ्नो घर गएकाले पनि सबै गाडी सञ्चालनमा आउन अझै समय लाग्ने गुरुङको भनाइ छ । बस सञ्चालनको पहिलो दिन भएकाले यात्रुको चाप त्यति देखिएको छैन भने यात्रु सबैले मास्कको प्रयोग गरेका छन् । त्यसैगरी १२० दिने बन्दाबन्दी खुलेसँगै पृथ्वीराजमार्ग अन्तर्गतका लामा छोटा दूरीका बस पनि अब चल्ने भएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले अब केही दिनमै लामाछोटा दूरीका सार्वजनिक बस सञ्चालन गरिने जानकारी दिए । केसीका अनुसार कास्कीमा पृथ्वीराजमार्ग अन्तर्गतका करिब १ हजार ४०० बस सञ्चालनमा छन् । पोखरेली ट्याक्सी सेवा प्रालीका अध्यक्ष प्रकाश तिवारीका अनुसार पोखराको सडकमा गत असार २६ गतेदेखि नै ट्याक्सी गुड्न थालेका हुन् । पोखरामा करिब २ हजार २०० ट्याक्सी रहेकामा अहिले आधारभूत स्वास्थ्य सतर्कतासहित करिब १ हजार ५०० ट्याक्सी पोखराको सडकमा गुडेका छन् । (रासस)

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...