अछाममा बिप्लव माओबादी र प्रहरी बिच गोली हानाहान ।

राजनीति

अछाममा बिप्लव माओबादी र प्रहरी बिच गोली हानाहान ।
मार्च २७ काठमाडौँ :- विप्लव माओवादीका कार्यकर्ता नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलबार रामारोशन गाउँपालिका गन्तव्य तय गरेको थियो। सो गाउँपालिकामा विप्लव माओवादीको गतिविधि बढेको गुनासो प्रहरीमा आएको थियो। विप्लव माओवादीको खासै प्रभाव नरहेको भनिए पनि त्यहाँ चन्दा–आतंक बढेको थियो। रामारोशन गाउँपालिकामा ‘अपरेसन’ चलाउने क्रममा प्रहरी टोली मंगलबार राति वडा नं. ४ झाता पुगेको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार चार दिनअघि जिल्ला प्रहरी कार्यालयबाट १९ जनाको टोली गस्तीमा निस्केको थियो। झाता अछामको विकट क्षेत्र मानिन्छ। प्रहरीका अनुसार सदरमुकाम मंगलसेनबाट बसमा चार घन्टा यात्रा गरेपछि पनि अढाइ घन्टा पैदल हिँडेमात्र झाता पुगिन्छ । जिल्लाभर गस्ती गरिरहेको यो प्रहरी टोलीमाथि मंगलबार राति वडा नं. ४ मा विप्लव माओवादीले गोली चलाएका थिए । प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार विप्लव माओवादीले एक राउन्ड फायर गरेपछि प्रहरीबाट जवाफी फायर भएको हो। त्यसक्रममा प्रहरीले छ राउन्ड फायर गरेको शाहीले बताए । शाहीका अनुसार विप्लव माओवादीका कार्यकर्ता नौ जनाको समूहमा थिए । ‘हाम्रो टोलीलाई देख्नेबित्तिकै उनीहरूले एक राउन्ड फायर गरे,’ शाहीले सेतोपाटीसँग भने, ‘सुरक्षाका लागि भए पनि गोली चलाउने स्थिति सिर्जना भयो।’ यसक्रममा प्रहरीले विप्लव समूहका अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भूमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। तर, उनीहरूले फरक–फरक नाम बताइरहेका छन् । ‘अदालतमा गएपछि मात्र उनीहरूको परिचय खुल्छ,’ शाहीले भने। उनीहरूमध्ये पाँच जना फरार छन्। विप्लव माओवादीका अनुसार प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा अछाम इञ्चार्ज शेरबहादुर विकको खुट्टामा चोट लागेको छ। प्रहरीले विप्लव माओवादीसँग हतियार रहेको पाइएपछि ‘सर्च’ अभियान तीव्र पारेको छ। यही समूहबाट १० राउन्ड गोली बरामद भएको अछाम प्रहरीले जनाएको छ। ‘उनीहरूसँग हतियार छन्, हाम्रो टोलीले खोजी गरिरहेको छ,’ डिएसपी शाहीले भने। प्रहरीले पक्राउ परेकाहरूलाई हातहतियार तथा खरखजना, राज्यविरूद्धको अपराधलगायत मुद्दामा अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ। समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...