प्रदेश राजधानीको माग गर्दै बिरगंज बन्द ,जनजीवन प्रभावित |

राजनीति

प्रदेश राजधानीको माग गर्दै बिरगंज बन्द ,जनजीवन प्रभावित |

फेब्रअरी ४ काठमाडौँ :- प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै वीरगञ्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर आन्दोलरत संघर्ष समितिले वीरगञ्ज बन्द गरेको हो ।

27337296_2022354414675337_3657913210412184637_n

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दकर्ताहरुले विआर ०५ पीए ३०४० नम्बरको भारतीय गाडी र नम्बर नखुलेका दुईवटा निजी कारमा तोडफोड गरेका हुन् । बिहानैदेखि सडक अवरुद्ध पारेका छन् । ठाउँ-ठाउँमा टायर बालेर प्रदर्शन गरिएको छ ।

संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगञ्जको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक, प्रतिमा चोक, बहुअरी लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् ।

बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ । मोटरसाइकल, रिक्सा पनि सञ्चालनमा छन् ।शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेका कारण बन्द गर्नुपरेको संघर्ष समितिका सचिव एवं कांग्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए । अस्थायी राजधानी जनकपुरलाई तोक्ने संकेत पाएदेखि नै वीरगञ्ज राजधानीका लागि आन्दोलित छ तर वार्ता र संवादका लागि पहल भएको छैन । सोमबार बिहान संघर्ष समितिको बैठक बसेर थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...