मुम्चे “बिद्रोही साइँला” को क्वारेन्टाइन अनुभव मन्द बिष पिउनु सरह भो।

विदेश

मुम्चे “बिद्रोही साइँला” को क्वारेन्टाइन अनुभव मन्द  बिष पिउनु  सरह भो।
मे १६ युएई मुम्चे राई ‘विद्रोही साइँला’:-चीनको वुहान सहरमा २०१९ डिसेम्बरमा कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि मेरो कम्पनी ड्राइ डक्स वल्र्ड दुबाई (A DP WORLD COMPANY GROUP ‘DRY DOCKS WORLD DUBAI’) मा पनि यसको निकै हल्ला चल्यो । तर यस रोगबाट बचन अपनाउनु पर्ने सावधानका कुराहरूको भने कुनै आधिकारिक सूचना थिएन त्यो बेला । एकाध दिनपछि दैनिक रूपमा डिपार्टमेन्टमा काममा लाग्नु अगाडि सञ्चालन गरिने पिटिबि (प्रि टास्क ब्रिफिङ) मा यो रोग महामारीको रूपमा फैलिएको कुरा सङ्गै चीनको वुहानमा धेरै मानव क्षति भइसकेको र यसबाट बच्ने उपायहरू – मुखौटो लाउनु पर्ने, एक आपसमा जो कोहीसङ्ग हात नमिलाउनू पर्ने, कुनै पनि समयमा हातले मुख लगायत आँखा, कान, नाक जस्ता अङ्गहरूमा नछुनू पर्ने, खाना खानु अघि साबुन पानीले राम्ररी हात धुनु पर्ने र कसैलाई ज्वरो आएमा, खोकी लागेमा, टाउको दुखेमा, एकोहोरो छिउँ आएमा, श्वासप्रश्वासमा समस्या आएमा र नाकबाट पानी बगिरहेमा मेडिकल गइ हाल्नु पर्ने भनि मौखिक सूचना भयो । केही हप्ता पछि त कम्पनीले तुरुन्त लिखित सूचना नै जारी गर्यो । समय बितिरहेको थियो । कम्पनीले लिखित सूचना सार्वजनिक गरेर सावधान अपनाउनु पर्ने कुराको आधिकारिकता दिइसकेको थियो । हामी पनि हाम्रो बलबुताले भ्याएसम्म सुरक्षित रहन अभ्यासरत थियौ । कम्पनीले पनि सकेको पिपिई (पर्सनल प्रोटेक्टिभ इकुप्मेन्ट) साधनहरू उपलब्ध गराइरहेको थियो । स्यानिटाइजर चैँ अझै उपलब्ध गराएको थिएन । मार्च महिनाको ६ तारिख म काम गर्दै थिए । खाना खाएपछि मलाई एका-एक ज्वरो आयो । बेलुकाको पाँच बजेसम्म काम गर्नु पर्ने भएको हुनाले म ज्वरो सहेर काम गरेँ । जब काम गर्ने समय अवधि सकियो, त्यसपछि कार्ड पञ्च गरेर सिधैँ मेडिकल गएँ । मेडिकलले मलाई सामान्य मौसमी भाइरल ज्वरो हो भन्दै तीन दिनको लागि दैनिक तीन पटक खाने गरी औषधि दियो । लिएर आएँ । नियमित खान थालेँ । दबाइ खाँदासम्म ज्वरो जाती हुने तर दबाइको शक्ति सकिएपछि ज्वरो पुन जागिने हुँदै गयो । तीन दिनपछि पुन: म मेडिकल गएर मेरो समस्या राखेँ र डाक्टरले पुन: डोज थपेर मलाई उही दबाइ दियो । र म पुन: दैनिक ४ पटक दबाइ खाँदै काम गर्दै गएँ तर समस्या समाधान भएन । ज्वरो आउने मात्रै नभएर शरीरको सबै जोर्नीहरू दुख्ने र माङ्सपेसीहरु सबै थिलथिलो हुने हुँदा म एक प्रकारले शारीरिक रूपमा शक्तिरहित हुँदै थिएँ । त्यस माथि पनि दबाइ अधिकतम खाइएको हुनाले जिभ्रो सबै स्वादरहित भइसकेको थियो । अप्रिल ४, २०२० को दिन मेरो साप्ताहिक तथा नियमित छुट्टी थियो । बिहानै देखिन मेरो ज्वरो बढ्दै थियो । तर मैले त्यस दिन दबाइ खाइन । सोचे, अब यो औषधिले मेरो ज्वरो कम हुन्न । मैले पुन: मेडिकल जानु पर्छ र भए कुनै एन्टिबोयोटिक दबाइ प्रयोग गर्नु पर्छ । र म पुन: मेडिकल हिँडे । मेडिकल पुगेर टोकन लिएँ अनि रोल क्रममा पालो पर्खेर बसेँ । बिमारीको चाँप धेरै थियो । करिब एक घण्टापछि मेरो पालो आयो । सुरुमा रक्त चाँप चेक भयो । अनि ज्वरो, ज्वरो-३९ॱ देखायो । र मलाई कोठा नम्बर ३ मा पठाइयो । जम्मा तीन जना चिकित्सकहरूमा म महिला चिकित्सक को मा परेँ । हाम्रो कम्पनीको मेडिकलमा उनी नयाँ चिकित्सक थिइन् । उनले मलाई भित्र बोलाइन् । म भित्र गएँ र सोध पुछको क्रम सुरु भयो । मैले मेरो समस्या दर्साएँ । मलाई निकै सोधपुछ गरेपछि मलाई एडल्ट र एन्टिबायोटिक दबाइ लानु भनेर भन्नु भयो । र कुराकानी गर्दै जाने क्रममा मैले भने– डा. साहब, म विगत एक हप्तादेखि निरन्तर दबाइ खाँदै आएको छु । ज्वरो र दबाइ खाइले म निकै कमजोर भा’छु । त्यसैले सकिएमा मलाई तीन चार दिन जति बिरामी विदा दिनु परो । म आराम गर्न चाहन्छु । डाक्टरले मलाई यसो हेर्नु भयो र केही नबुझिने पारामा प्रेस्क्रिप्सन पेपरमा खारखुर लेखेर दिनु भयो । र भन्नु भयो फार्मेसीमा जानु र दबाइ लिएर पहिले इन्जेक्सन लाउनु र जानु, तीन दिनको बिरामी विदा मिलाइ दिएको छु । म पनि खुसी भएर फार्मेसी गएँ । फार्मेसीबाट दबाइ लिएर इन्जेक्सनको लागि काउन्टर नम्बर ६ मा गएँ र इन्जेक्सन लिए पनि निस्किन लाग्दा ढोकाको छेउमा बसेको सेक्युरिटीले मेरो हातको प्रेस्क्रिप्सन पेपर हेरो । हेरी सकेपछि उसले मलाई क्वारेन्टाइनमा जानु भन्यो र क्वारेन्टाइनमा डिउटी गर्ने सेक्युरिटीलाई फोन गरेर मेरो आइडिन्टिटी कार्ड नम्बर टिपाउँदै यो मान्छे आउँदै छ कोठाको व्यवस्था गरि दिनु भनेर भन्यो । त्यसपछि म सरासर क्वारेन्टाइन हलमा गएँ र सेक्युरिटीलाई भेटेर हलभित्र के के सामान लानु पाउँ छ भनेर सोधेँ । बसि खाना पाएको साँढे गोरु जस्तै त्यो हरिमुस्ले सेक्युरिटीले टेढो पाराले हेर्दै भन्यो- ओढ्ने, ओछ्याउने र भए पानी तताउने जग लिएर आउ । अनि म कोठा फर्किएँ । कोठा पुगेपछि सोचेँ- कति दिन बस्नु पर्ला ॽ धेरै दिन बस्नु परे त फेरफार कपडा पनि चाहिन्छ, खाने कुराहरू पनि अलिक व्यवस्था गर्नु पर्ला… थुप्रै । र मलाई चाहिने जति सबै सामान कुम्लो कुटुरो हालेर म बेलुकाको करिब ५ बजेतिर कोठाको भाइहरूलाई सहयोग मागेर कुम्लो कुटुरो बोक्दै क्वारेन्टाइन हल लागेँ । केही समयको अन्तरालपछि क्वारेन्टाइन हल पुगियो । मेरो सामान राखि दिएर भाइहरू कोठा फर्किए । मलाई त्यही हरिमुस्ले सेक्युरिटीले R-3-25 लेखिएको चाबी हातमा ठम्याइ दियो । म चाबी लिएर सरासर तेस्रो ताला को कोठा नम्बर २५ खोज्दै गएँ । कोठा भेटे पछि ढोका खोलेर भित्र पसेँ । कोठा सारै फोहोर थियो । झाडु खोजेर राम्ररी सफा गरेँ र ओछ्यान बनाएँ । यती गरिसक्दा बेलुकाको खाना खाने बेला भएको थियो । त्यसपछि म खाना लीन गएँ । खाना लिएर कोठा आएँ । खाना एक दमै कमसल खालको रहेछ तै पनि दुखले केही खाना खाएँ । खाना खाएर सुतेपछि म निदाए छु । मध्यरातमा बिउँझिँदा मलाई भयङ्कर रूपले ज्वरो आएको थियो । मैले तुरुन्तै मेडिकलमा फोन गरेँ र भने- “मलाई अत्याधिक ज्वरो आएको छ, मलाई सहयोग चाहीयो । तर फोन उठाउने मान्छेले भन्यो- राई, तिम्रो केश अरू केही छैन खाली ज्वरोको हो । त्यसैले केही समस्या हुन्न । कपडा छ भने भिजाएर निधारमा राखेर आराम गर । मलाई त्यसको कुराले सारै रिस उठ्यो र भनेँ- ए ल ठीक छ, ए हो ॽ यहाँ मलाई मर्ने बेला कुनै सहयोग नगर्ने ॽ अब म यहाँ मृत्यु पत्र लेखेर सुत्छु । मरिन भने ठीक छ तर मरेँ भने थाहा पाउँ छस् । यो क्वारेन्टाइनमा पहिले पनि दुई जना मान्छे मरिसकेका छन् । यो यो नम्बरमा, यो समयमा म सारै बिमारी भएर मेडिकल इमर्जेन्सी कलमा फोन गरि सहयोग मागेको तर मेडिकलबाट कुनै वास्ता गरेन, भनेर यहाँ लेखि राख्छु । म केही तल माथि भएँ भने थाहा पाउँ छस् ।” यती भनेपछि अतालिँदै भन्यो- “राई कुरा त्यसो होइन । अहिले कोही मान्छे छैन । इमर्जेन्सी कलमा गए छन् । एक घण्टापछि पनि घटेन भने पुन कल गर ।” बिमारी माथि रिसले आगो हुँदै मैले पनि एउटा रुमाल भिजाएर निधारमा ल्याप्प टाल्दै सुतेँ । हुने बेला गोरु पनि ब्याउँछ भने जस्तै म पुन निदाए छु । बिहान उठ्दा मेरो ज्वरो हटिसकेको थियो । त्यस दिनदेखि म निरन्तर क्वारेन्टाइन हल मा बस्दै आएँ । म भन्दा अगाडि आउने साथीहरू निकै देखियो । खै किन हो सबै साथीहरूको मुख निम्छरो र अँध्यारो देखिन्थ्यो । केही साथीहरू नेपाली नै रहेछन् । कसै-कसै को त महिना दिन भन्दा पनि बढि भइ सकेको रहेछ । यस हलमा बस्ने साथीहरूमा धेरैको कोभिड–१९ को लागी थ्रोट स्वाब टेस्ट गर्न बाँकी रहेछ । कतिको भने टेस्ट भएर रिपोर्ट नेगेटिभ आइ अर्कै ठाउँमा कमन क्वारेन्टाइनमा सारिएका र रिपोर्ट पोजिटिभ देखिएका साथीहरू भने अस्पताल भर्ना गरिएको रहेछ उपचारको लागि । मेरो बसाइ क्रमशः अधि बढ्यो । नेपाली समुदायमा देखिने जातपातका व्यवहार जस्तै म पनि यस हलमा पानी नचल्ने जाती जस्तै भएर बस्नु परो । खाना थाप्नु पनि परै बाट , खाजा थाप्नु पनि परै बाट । साथिहरुमा एकले अर्कालाई हेर्नु परे पनि रिसाएको साँढे गोरु जस्तै आँखा फुलाएर । हुँदा गर्दा मेरो बसाइ पनि बाह्र दिन बिति सकेको थियो । तेह्रौं दिनमा सेक्युरिटी एक्कासि आइ पुग्यो र मेरो कोठा ढकढकायो । मैले ढोका खोलेँ । क्वाप्प निलौला झैँ गरि हेरो र भन्यो- आज तेरो मेडिकल टेस्टको लागि नाम परेको छ आधा घण्टा पछि तल आइज । मैले सुनिमात्रै रहेँ एक शब्द बोलिन किन कि अहिलेसम्म मलाइ सारै मन नपरेको मान्छे त्यही थियो । अनि त्यो गधा उसको चाक हल्लाउँदै फर्कियो । त्यस पछि म बाहिर निस्कने तम तयारीमा लागेँ । निर्धारित समयमा तल झरेँ । म पुग्दा अन्य साथीहरू पनि भेला भइसकेका रहे छन् । हामी जम्मा १४ जना थिए छौं । नेपाली म मात्रै । बस हामीलाई लिन आइपुगिसकेको थिए छ । हामीलाई त्यही हरिमुस्ले सेक्युरिटीले नयाँ मुखौटो र हाते प्लास्टिकको पन्जा दिँदै बाहिर पठायो । हामी सबै सामाजिक दूरी कायम गर्दै एक सिटको फरकमा बस्यौं । मर्न लागेको, अगुल्टोको ठुटो जस्तो चालक रहेछ । चुपचाप गाडि चलायो । करिब आधा घण्टा पछि हामीलाई अदामिटल हस्पिटल पुर्यायो । मान्छेहरूको घुइँचोको कारण हामीलाई निकै समय गाडि भित्रै राख्यो । घाम चर्किदैं थियो । गाडीको एसीले करिब काम गर्न छोड्दै थियो । त्यही समयमा बल्ल हाम्रो पालो आयो । अनुशासित रूपमा लाम लागेर भित्र पसियो । क्रमशः फाराम भरियो । म जान्ने भएर सबैको फाराम भर्ने हुँदा सेकेन्ड लास्टमा भएँ । हाम्रो थ्रोट स्वाब कलेक्सनको क्रम जारी थियो । म सेकेन्ड लास्ट भएको हुँदा मेरो पछाडि एक जना साथी र मैले निकै समय पालो गर्खिनु परो । त्यसैले मैले हाम्रो स्याम्पल कलेक्टर एक स्टाफ नर्स जो अतिरिक्त रहिछिन् । उनले रिसेप्सनमा काम गर्ने स्टाफ कतै जानु परे त्यहाँ आएर सहयोग गर्दी रहिछिन्, लाई एकाध कुराहरू सोधेँ । जसमा हामी बीचको एउटा कुरा थियो- मैले सोधेँ, कोभिड–१९ थ्रोट स्वाब टेस्ट रिपोर्ट नेगेटिभ आयो भने त्यो मान्छे कोरोना सङ्क्रमित हुन्छ ॽ उसको जबाफ थियो- होइन । अनि मैले फेरी सोधेँ- अनि किन कोरोना सङ्क्रमित यती र पोजिटिभ यती भनेर डाटा तयार हुन्छ ॽ जून मान्छेलाई कोरोना भाइरसको कुनै प्रभाव नै छैन, त्यस्तोलाई सङ्क्रमित भन्न मिल्छ । उसले भन्यो- यो मेडिकल प्रक्रिया हो । हामी बीच कुराकानी चलिरहेको थियो । यही क्रममा मेरो र मेरो पछाडिका साथको पनि पालो आयो । हाम्रो पनि थ्रोट स्वाब कलेक्सन भयो । त्यसपछि हामी फर्कियौ । फर्केर कोठा आइ पुगेपछि केही राहत मिलेजस्तो भयो । तर एक घण्टाभित्र नै केही साथीहरूलाई सेक्युरिटीले बोलाएर लगि हाल्यो । पछि कुरा बुझेको त ती साथीहरूको रिपोर्ट पोजिटिभ आए छ । त्यस्तोहरूलाई तुरुन्तै हस्पिटल भर्ना गर्दो रहेछ । अरू साथीहरूको रिपोर्ट नेगेटिभ एक दिन पछाडि आयो । मेरो चैँ तीन दिन पछाडी डिपार्टमेन्टले जानकारी दियो । मेरो पनि रिपोर्ट नेगेटिभ नै आएको थिए छ । यसरी रिपोर्ट आएपछि कोरोना कहरको सबै प्रक्रिया पुरा गरिएको भन्ने लाग्यो र साथीहरूको अगाडी कुखुरे छाती फुलाएर हिँड्न थालियो । जम्मा १८ दिन क्वारेन्टाइन बस्दा १८ वर्ष जेल बसेजस्तो गारो भयो । सरकारी अर्थात अस्पतालहरूको व्यवस्थामा तयार गरिएको क्वारेन्टाइनहरु त के कस्तो हुन्छ थाहा भएन तर म चै कम्पनीकै व्यवस्थापनमा तयार गरिएको हुनाले क्वारेन्टाइन एक किसिमले बिमारीलाई मन्द विष सेवन गराएर मार्ने दरबार थियो । किन कि क्वारेन्टाइनमा बिमारी राखेपछि राम्रो खानाको व्यवस्था हुनुपर्थ्यो ता कि कोरोनाको बिमारीहरूलाई इम्युनिटी पावरको जरुरी हुन्छ तर यहाँ यस्तो सुविधा बिलकुल थिएन । कुकुर बिरालोलाई जस्तो परदेखि फालि दिएको खानेकुरोहरू सबै खुर्सानीकै पोका जस्तो लाग्ने, तेलको आहालमा चोपेर निकालेको जस्तो देखिने, नाना थरीका मसलाले मोलेको जस्तो गन्हाउने । खाए खा न खाए घिच जस्तो । त्यो पनि खानेहरूलाई पुरा पेट नहुने । त्यस्तै समय समयमा बिमारीहरूको रेखदेख गर्नको लागी औषधी सहित स्वास्थ्य कर्मीहरूको टोली आउनु पर्थ्यो । किन की, क्वारेन्टाइनमा बसनेहरु सबै कोरोना सङ्क्रमित नभए पनि केही न केही बिमारी भएकै भएर बसाइएको हुन्छ । तर यतिका दिन बस्दासम्म कसैको अनुहार देख्न पाइएन । बिमारीहरूको आत्मा बल बढाउनको लागि हुनुपर्ने परामर्श व्यवस्था त झन् शून्य नै थियो । समय-समयमा भेटिने सुरक्षाकर्मीहरू त हल नलाग्ने साँढेहरू जस्तो । यी तमाम समस्याहरूकै कारण सामान्य अवस्थाको बिमारीहरूले अरू मानसिक तनाव प्रबल रूपमा खेप्दै कमजोर भएर बस्नु पर्छ । यी विभिन्न कारणहरूकै कारणले क्वारेन्टाइनभित्र बिमारी मरेका खबर पनि सुन्न पाइन्छ । यसै कारणले कसै कसैको लागी यो मन्द विष सेवन गर्नु जस्तै देखिन्छ । तसर्थ, क्वारेन्टाइनमा बस्दा व्यवस्थापकबाट आवश्यक मात्रामा सुविधाहरू नभए पनि आफ्नै प्रयासबाट इम्युनिटी पावर बढ्ने खानेकुरोहरू खाइरहनु पर्छ । केही चीज खानु पूर्व साबुन पानीले हात धुनु पर्छ । गरम पानी सम्भव भए दिनमा चार पाँच पटक पिउँदा राम्रो । आत्मबल कमी कहिले पार्नु हुन्न । यसको लागि सम्भव भए सम्म घर परिवार सङ्ग सम्पर्कमा हरिरहनु पर्छ । घर परिवार तथा अन्य नर नाता र साथीहरूसङ्ग कुराकानी गर्दा पनि धेरै हिम्मत प्राप्त हुन्छ । होइन भने, सामाजिक दूरी कायम गरेर क्वारेन्टाइनकै साथीहरूसङ्ग कुराकानी गर्ने अभ्यास गरिरहनु पर्छ । यसले कोठामा एकलै बस्नु पर्दाको न्यास्रो पन हटेर जान्छ । कतै घाम लाग्ने ठाउँ भएमा सके जति घाम ताप्नु पर्छ । कोठामा एकलै बस्दा फुर्सदको कारण मन र मस्तिष्कमा धेरै कुरा खेलिरहने हुन्छ जुन बेला सकारात्मक कुराहरू मात्र सोच्नु पर्छ । आपत्कालिन स्वास्थ्य समस्या देखा परे तुरुन्त सम्बन्धित निकायमा सम्पर्क गरि हाल्नु पर्छ । विशेषता कोरोना भाइरसको लक्षणहरू मध्य श्वासप्रश्वासमा समस्या देखा परे तुरुन्त मेडिकलमा कल गरि हाल्नु पर्छ र सहयोग लीनु पर्छ किनकी कोरोना भाइरसको यो अन्तिम लक्षण हो । क्वारेन्टाइनमा बसनेहरू को कम्तीमा पनि १४ दिन भन्दा अगाडि थ्रोट स्वाब टेस्ट हुन्न । यस बीचमा श्वासप्रश्वास सम्बन्धी कुनै समस्या देखिए थ्रोट स्वाब टेस्ट पर्खिनु हुन्न । श्वासप्रश्वासमा समस्या देखा पर्नु भनेको अन्तिम चरणमा पुग्नु हो ।     लेखक:- नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ( फोनिज ) युएईका सल्लाहकार एवं किरात राई यायोक्खा शाखा युएईका सल्लाहकार हुनु हुन्छ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading ... Loading ...