पोखरामा पछिल्लो समय एक हजारका नक्कली नोट बजारमा |

अन्य

पोखरामा पछिल्लो समय एक हजारका नक्कली नोट बजारमा |
माघ २३ काठमाडौँ :-पोखरामा अहिले एक हजार रुपैयाँका नक्कली नोट देखिन थालेका छन् । एउटै नम्बरका नोट दिनदिनै देखिन थालेको बैंक अधिकारीले बताएका छन् । लुम्बिनी विकास बैंकको पोखरा न्युरोड शाखामा १ हप्ताभित्रै ५ वटा नक्कली नोट आएका छन् । ‘नक्कली नोटको कारोबार पछिल्लो समय अलि बढेको देखिन्छ,’ शाखाकी अपरेसन इन्चार्ज सफिना जोशीले भनिन्, ‘अहिले आएर दैनिक आउन थालेको छ ।’ उनले पछिल्लो हप्तामात्रै १ हजारका २ वटा नोट एउटै नम्बरको आएको बताइन् । नक्कली नोट दैनिक जसो आउने भए पनि एकैपटक ठूलो मात्रामा भने नआएको जोशीले सुनाइन् । ‘एकैचोटि ठूलोमात्रामा नक्कली नोट भने हामी कहाँ आएका छैनन् । तर दिनहुँ आइरहन्छन्,’ उनले भनिन् । सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली नोट भेटिएको उनले प्रष्ट्याइन् । पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ । पोखरामा पछिल्लो साउन यतामात्रै २ सयवटा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंक पोखराले जनाएको छ । ‘एकैचोटि ठूलो गिरोह फेला परेको छैन तर फाट्टफुट्ट फेला परिरहेका छन्,’ राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले भने । उनले नक्कली नोटको गिरोह पत्ता लगाउन बैंकदेखि सहकारीसम्म सूचना जारी गरिसकेको जानकारी दिए । नक्कली नोटको कारोबारी पत्ता लगाउन प्रहरीसँग समन्वय गरेर कारबाही गरिने उनको भनाइ थियो । नक्कली नोट सक्कली नोेटको तुलनामा हल्का हुने र कागजमा पानी राख्दा फुल्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । ‘नक्कली नोटमा छाँयामा चित्र पनि हुँदैन, नोटमा पानी राख्दा सोस्छ । सक्कली नोटले सोस्दैन,’ गौतमले भने । समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...