महिलाले लाश बोकेरा घाटसम्म लगे ।

अन्य

महिलाले लाश बोकेरा घाटसम्म लगे ।

नोवेम्बर २५ तनहुँ :-पितृसत्तात्मक सोचको अन्त्य गर्न तनहुँका महिलाले शव बोकेर दमौलीघाटमा पुर्‍याएका छन् ।व्यासनगरपालिका– ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा बस्दै आएका ८१ वर्षीय मीनबहादुर बस्यालको शव आश्रमकै महिलाहरूले बोकेर शुक्रबार बिहान अन्त्येष्टिका लागि घाटसम्म पुर्‍याएका हुन् । बस्यालको बिहीबार राति मृत्यु भएको हो ।

विसं २०६८ देखि उक्त आश्रम महिलाको मात्रै सक्रियतामा सञ्चालन हुँदै आएको भए पनि २०७० सालदेखि विधिवत्रूपमा दर्ता गरी सञ्चालनमा ल्याइएको हो ।अविवाहित बस्याल उक्त आश्रममा विगत पाँच वर्षदेखि बस्दै आएका थिए । उनका आफन्तहरू कोही पनि नभएको बताइएको छ । हाल उक्त ज्येष्ठ नागरिक आश्रममा चार महिला र तीन पुरुष गरी सातजना बस्दै आएका छन् ।

समाजमा महिलाले केही पनि गर्न सक्दैनन् भन्ने परम्परालाई तोड्नका लागि महिलाले नै शव बोक्ने गरेको आश्रमकी कार्यबाहक अध्यक्ष शकुन्तला आलेले बताइन् ।ज्येष्ठ नागरिकलाई पालन पोषण गरिसकेपछि उनीहरूको मृत्युपश्चात् हामीले नै दाहसंस्कार गर्नुपर्छ भन्ने उद्देश्यले महिलाले शव बोक्नुपरेको उनले जानकारी दिइन् ।पितृसत्तात्मक सोचलाई अन्त्य गर्नका लागि महिलाले पनि समाजमा केही गर्न सक्छन् भन्ने शिक्षा दिनका लागि महिलाले शव बोक्ने साहस गरेका हुन् सचिव मल्लले भनिन् ।

समाजमा रहेको कुरीतिको अन्त्यका लागि महिलाले देखाएको साहसपूर्ण कार्य एउटा उदाहरणीय रहेको घाटमा पुगेका दमौलीका व्यवसायी रामकुमार श्रेष्ठले बताए । ‘छोरा नभए पनि छोरीले पनि कर्तव्य पालना गर्न सक्छन् भन्ने सन्देशमूलक कार्य तनहुँका महिलाले गरेका छन्,’ श्रेष्ठले भने ।ज्येष्ठ नागरिक बस्यालको निधनपछि आश्रममा आबद्ध सबै महिलाले एक छाक खाना छाड्ने बताएका छन् ।

साभार :-समाधान


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...