जिल्ला न्यायाधिश बिरामी भए पछि टिकापुर घटनाको ३ बर्ष पछि तोकिएको पेशी फेरि सरे |

राजनीति

जिल्ला न्यायाधिश बिरामी भए पछि टिकापुर घटनाको ३ बर्ष पछि तोकिएको पेशी फेरि सरे |
श्रावण २५ कैलाली:-भदौ ७ गते टीकापुर घटना घटेको ३ वर्ष पुग्दैछ । जसको पहिलो पेशी बिहीबार तोकिएको थियो । तर, जिल्ला अदालत कैलालीले पहिलो पेशी नै सारेको छ । जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएको हो । ‘श्रीमान ज्यू (न्यायाधीश पर्शुराम भट्टराई) को स्वास्थ्य समस्याका कारण काठमाडौं जानुभएको थियो । उहाँ आजै फर्केपनि सुनुवाइ हुन सकेन,’ अदालतका नायव सुब्बा भानुभक्त पाण्डेले भने, ‘आज हुने भनिएको पेशी अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेकाले पेशी सरेको छ ।’ उनले आज हुने भनिएको पेशी साउन ३० गते बुधवार हुने जानकारी दिए । मुद्दाको प्रतिवादी तर्फबाट वकालत गरिरहेका अधिवक्ता गजेन्द्र केसीका अनुसार ३० गते हुने पेशीमा अदालतले साक्षी आदेश जारी गर्ने बताए । अदालतले वादी तथा प्रतिवादी पक्षबाट प्रमाण बुझेर साक्षी आदेश जारी हुने बताए । उनले टीकापुर घटनाको मुद्दा नियमित पेशीमा चढेकाले अब चाँडै नै किनारा लाग्ने समेत दाबी गरे । आवश्यक सबै प्रमाण संकलन भएको अवस्थामा २ महिनामा नै मुद्दाको किनारा लाग्ने समेत अधिवक्ता केसीले ठोकुवा गरे । आज हुने भनिएको पेशी सरेपछि टीकापुरका स्थानीयहरू असन्तुष्टि जनाएका छन् । टीकापुर नगरपालिका नगरपालिका–९ का स्थानीय टीकाराम चौधरीले ३ वर्ष पूरा हुनै लाग्दासम्म पनि सुनुवाइ नहुनु बिडम्बना रहेको बताए । अदालतले आफैं तोकेको पेशी पनि सार्नु भनेको गम्भीर षड्यन्त्र भइरहेको बताए । हालसम्म घटनाका अभियुक्तलाई पुर्पक्षकै लागि कारागारमा राखेको बताउँदै उनले दोषीलाई कारवाही र निर्दोष व्यक्तिलाई स–सम्मान न्याय दिनुपर्ने माग गरे । थरुहट÷थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी १ नाबालक र ७ प्रहरीको ज्यान गएको थियो भने त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी गरिएको समयमा सयौं थारु समुदायको घर, पसल, एफएम लगायतमा आगजनी भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको भन्दै थारु नेता तथा सार्वसाधारणलाई पक्राउ गर्‍यो । हालसम्म १ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनालाई विभिन्न मुद्दा चलाई पुर्पक्षको लागि कारागार चलान गरेको छ । १ नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ । साभार :-थारुवान न्युज

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...