अमेरिकामा कोभिड-१९ बाट मर्ने नेपालीहरुको संख्या १५ पुग्यो ।

विदेश

अमेरिकामा कोभिड-१९ बाट मर्ने नेपालीहरुको संख्या १५ पुग्यो ।
एप्रिल २९ वासिङ्टन डिसी:-अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ ।मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् । मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिनुभएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका कारण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उहाँ भन्नुहुन्छ, “अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पु¥याउने गरेको देखिन्छ ।” यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिनुभयो । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पु¥याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा फेब्रुअरी ६ तारिखमा एक जनाको मृत्यु भएको थियो भने यो समाचार तयार पार्दासम्म अमेरिकामा यो भाइरसको सङ्क्रमणबाट ५८ हजार २२० जनाको मृत्यु भइसकेको छ । अमेरिकामा कूल १० लाख १२ हजार सङ्क्रमित पुगेका छन् । कोरोना भाइरसको तथ्याङ्क राख्दै आएको विश्वप्रसिद्ध अमेरिकी विश्वविद्यालय जोन हपकिन्सको पछिल्लो तथ्याङ्कअनुसार १८५ देशका ३१ लाख १६ हजार ६८० जना कोरोना भाइरस सङ्क्रमणमा परेका छन् भने यसको सङ्क्रमणबाट दुई लाख १७ हजार १६८ जनाले ज्यान गुमाएका छन् । यसमध्ये २६ दशमलव ८० प्रतिशत मृत्यु अमेरिकामा मात्रै भएको छ ।रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...