श्रीमतीले छाडेको रिसमा उनकी साथीको हत्या!

अन्य

उदयपुरकी १६ वर्षीया किशोरीको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले त्रियुगा नगरपालिका वडा नम्बर ६ मोहनपुरकी कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

सप्तरी सुरुङ्गा नगरपालिका वडा नम्बर १ का २७ वर्षीय उचितलाल सदा र २३ वर्षीय विषे सदालाई पक्राउ गरेको गौतमले बताए। उनीहरूको घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

कृशला गत साउन १३ गते बेपत्ता भएकी थिइन्। उनी जंगलमा घाँस-दाउरा लिन गएकी थिइन्। तर उनी त्यसदिनदेखि घर फर्किनन्। उनी घर नफर्किए पनि बुबाले सोधिखोजी भने गरेनन्।

पाँच दिनपछि साउन १९ गते मोहनपुरको राजदेवी सामुदायिक वन रातमाटे खहरे खोलामा कृशलाको शव फेला पर्‍यो।

स्थानीयले मानिसको शव गनाइरहेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।  प्रहरीको टोली घटनास्थल पुग्यो। तर तत्कालै सनाखत हुन सकेन।  

प्रहरी उपरीक्षक सुवास बोहराका अनुसार  कृशलाको चिन्नै नसकिने अवस्थामा फेला परेको थियो।

'पुरै सडिगलिसकेको अवस्थामा शव फेला परेको थियो। केही चिन्नै नसकिने अवस्थामा थियो,' उनले भने,'अहिले यहाँको गर्मी मौसमले गर्दा पनि छिट्टै शव सडेको देखिन्छ।'

शवको अवस्थाका कारण उनीमाथि बलात्कार भए/नभएको खुल्न नसकेको बोहराले बताए।

सनाखत नभएपछि प्रहरीले आफ्नो मातहतका कार्यालयमा खबर पुर्‍याएर कोही हराएको भएमा सम्पर्कमा आउन भन्दै जानकारी गरायो।

त्यसपछि उनको शव जिल्ला अस्पताल उदयपुरमा लगियो। त्यसको भोलिपल्ट मात्रै मृतकका बुवा प्रेमकुमार चौधरी प्रहरीको सम्पर्कमा आए। उनले अस्पताल पुगेर आफ्नी कान्छी छोरी हो भन्दै सनाखत गरे।

बुबा चौधरीले त्यसदिन मात्रै आफ्नी छोरी हराइरहेको भन्ने प्रहरीलाई खबर गरेका थिए।

'उनकी छोरी पहिले पनि तीन-चार दिन बाहिर जाने-आउने गर्ने रहेछ। त्यसैले प्रहरीलाई खबर नगरेको भनेका छन्,' प्रहरी स्रोतले भन्यो।

शव चिन्ने अवस्थामै नभएपछि बुवाले पनि आफ्नी छोरी नै हुन् भन्ने कपडाहरूबाट सनाखत गरेका थिए।

त्यसपछि बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि थप अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक गौतमले बताए। साथै शवको पोष्टमार्टम गर्न बिपी कोइराला प्रतिष्ठान धरान  पठाएको थियो।

अनुसन्धानकै क्रममा करिब एक सय जनासँग सोधपुछ गरेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालबाटै पनि मानिसहरूको खोजी गरियो।

त्यसरी खोजी गर्दै जाँदा शनिबार दुई जनालाई प्रहरीले नियन्त्रणमा लियो। उचितलाल सदा र विषे सदाको घटनामा संलग्नता देखिएपछि नियन्त्रणमा लिएको हो।

'विभिन्न प्राविधिक तवरले अनुसन्धान गर्दै जाँदा उनीहरूको संलग्नता छ भन्ने पुष्टि भयो। उनीहरू दुई जना साथी-साथी हुन्। एउटै गाउँमा बस्ने हुन्,' उनले भने।

प्रहरीले उनीहरूमध्ये उचितलाल सदालाई मुख्य व्यक्तिको रूपमा खडा गरेको छ। उनकै योजनामा कृशलाको हत्या भएको प्रहरीले बताएको छ।

कृशलाले आफ्नो परिवार बिगारेको हुँदा बदला लिन हत्या गरेको उनले बयान दिएका छन्। प्रहरीका अनुसार कृशला र उचितलालकी दोस्रो श्रीमती साथी हुन्। प्रहरीले उचितलालकी श्रीमतीको पहिचान खुलाएको छैन। पहिलो श्रीमतीले पनि उनलाई पहिल्यै छाडेर गइसकेकी थिइन्।

केही समय अघि उचितलाललाई उनकी अर्की श्रीमतीले पनि छोडेर गएकी थिइन्।

'कृशला र उचितलालकी श्रीमती साथी-साथी हुन्। कृशला आफ्नी साथीलाई भेट्न भन्दै उचितलालको घरमा  आउने-जाने गर्थिन्। केही समयअघि श्रीमतीले उचितलाललाई छाडेर गइन्,' प्रहरी नायब उपरीक्षक गौतमले भने,'त्यसरी श्रीमतीले छाडेर गएपछि उनलाई रिस उठेछ। कृशलाको कारणले श्रीमतीले छाडेको भन्ने सोचेर मारेको देखिन्छ।'

उचितलालकी दोस्रो श्रीमती पनि नाबालक छन्।

साउन १३ गते दिउँसो करिब दुई बजे उनीहरूले कृशलालाई जंगलमा भेटेका थिए। दिनभरि त्यहीँ बसेर उनीहरूले रातिमात्रै हत्या गरेको प्रहरी उपरीक्षक बोहराले बताए।

'एउटाले सलले घाँटी न्याँकेको छ। अर्कोले मुक्का हानेर हत्या गरेका थिए,' उनले भने।

प्रहरीले उनीहरू दुबै जनामाथि थप अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत उदयपुरबाट प्रहरीले आइतबार १० दिन हिरासतमा राख्न अनुमति लिएको छ। ‍

-सेतोपाटी


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...