ललितपुरमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनालाई कोरोना

अपराध    स्वास्थ्य

ललितपुरमा ट्राफिक प्रहरीलाई हातपात गर्ने ६ जनालाई कोरोना
२२ भदौ, ललितपुर । पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ । पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए ।
कुटपीटको आरोपमा पक्राउ परेकामध्ये एकजनालाई शनिबार कोरोना भाइरसको संक्रमण थपिएको थियो । त्यसयता थप ५ जनालाई पनि कोरोना पोजेटिभ देखिएको ललितपुर प्रहरी परिसर, जाउलाखेलले जनाएको छ । अझै ५ जनाको रिपोर्ट आउन बाँकी छ । ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार क्षमा पूजा र आइतबार रथ  तानिएको छ । पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...