फुड बैंकः महामारीले सिर्जना गरेको सुन्दर परोपकारी काम

देश    समाज

फुड बैंकः महामारीले सिर्जना गरेको सुन्दर परोपकारी काम
१४ भदौ, काठमाडौं। कोरोनाका कारण चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै देशैभर राहत वितरणको लहर नै आयो । लकडाउनबाट प्रभावितहरुलाई विभिन्न खाद्य सामग्री बाँड्न मनकारीबीच तँछाडमछाड चल्यो । तत्कालीन समयमा सरकारी निकायदेखि निजी तथा गैरसरकारी संघ संस्थाहरुले देशैभर राहत वितरण गर्ने अभियान चलाएका थिए । तर, यो क्रम धेरै समय टिक्न सकेन । टिकोस् पनि कसरी लकडाउन नै चार महिनासम्म लम्बिएपछि । सुरुवाति समयमा राहत बाँडिरहेकाहरु अहिले आफैं राहत थाप्नुपर्ने अवस्थामा पुगेका छन् । जतिबेला देशमा कोरोना नभएर त्रास मात्रै थियो, राहत र सहयोगको अभियान ब्यापक भयो । तर देश साँचिक्कै कोरोना कहरमा परेको बेला भने कुनै चहलपहल छैन । बरु एउटा अभियानले व्यापकता पाउन थालेको छ, जुन दिनेका लागि सुविधा र सन्तोषजनक र लिनेका लागि सम्मानजनक छ । फुड बैंक एउटा अभियान हो। दोस्रो चरणको निषेधाज्ञाको दोस्रो हप्ता चल्दै गर्दा देशका विभिन्न ठाउँमा सञ्चालनमा आएको फुड बैंकबारे सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । हुनेले दिने र नहुनेले लिने फुड बैंकको अवधारणा हो । फुड बैंकको अवधारणा धादिङको गजुरी गाउँपालिकाबाट फुड बैंकको अवधारणा सुरु भएको थियो । फुड बैंकको नयाँ अवधारणाको सुरुवात सोही गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले गरेकी थिइन् । परापूर्व कालमा नेपाली प्रचलनमा रहेको ‘धर्म भकारी’ भन्ने अभ्यासलाई केही परिमार्जन गर्दै फुड बैंकको अवधारणा कार्यन्वयनमा ल्याइएको उपाध्यक्ष ढुंगाना बताउँछिन् । २०७६ चैत २२ गते धादिङको गजुरी गाउँपालिकाले नेपालको पहिलो फुड बैंक सुरुवात गरेको थियो । हुने र सक्नेले खाद्यान्न दान गर्ने र नहुने विपन्नले लिएर जाने गरी स्थापना गरिएको फुड बैंकबाट हालसम्म गाउँपालिकाका ३२ सय घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । राहत वितरण गर्दा धेरै मानिसहरु जम्मा हुने, तामझामसहित फाटोसेसन गर्ने र त्यसलाई सामाजिक सञ्जालमा हाल्ने प्रवृत्ति छ । यसबाट एकातर्फ कोरोनाको जोखिम बढ्छ भने अर्कोतर्फ यस्ता तस्वीर सामाजिक सञ्जालमा आउँदा राहत लिनेहरुमा लघुताभाष पैदा हुन्छ । तर, फुड बैंकमा दिने र लिनेबीच प्रत्यक्ष सम्पर्क हुँदैन । न त फोटोसेसन नै गरिन्छ । दिन चाहनेले आफ्नो सुविधा अनुसार कुनै पनि समयमा सामग्री फुड बैंकमा हस्तान्तरण गर्न सक्छन् । लिनेले पनि आवश्यकता हेरेर सामग्रीहरु लिन सक्छन् । यसरी काम गर्दा संक्रमणको जोखिम पनि न्यून हुन्छ । देशभर फैलिदैं फुड बैंक संस्थागत रुपमा पहिलो पटक स्थानीय तहबाट सुरु भएको फुड बैंकको अवधारणा यतिबेला पूर्वको मोरङदेखि पश्चिममा भैरहवासम्म सुरु भएको छ । यसै साता ललितपुरको गोदावरी नगरपालिकाले चापाँगाउँमा फुड बैंक सुरु गर्‍यो । नगरपालिकाको ११ वडामा सुरु भएको फुड बैंकबाट चामल, दाल, सोयबिन जस्ता अत्यावश्यक खाद्यान्न विपन्नका लागि वितरण भइरहेको नगरपालिकाले जनाएको छ । नगरले संस्थागतभन्दा पनि स्थानीय युवाले थालेको काममा समन्वय गरिदिएको जनाएको छ । मोरङको केराबारीमा पनि गत सातादेखि फुड बैंक सञ्चालनमा आएको छ । स्थानीय युवाहरुबाट सञ्चालित फुड बैंक हरेक दिन बिहान ९ देखि १० बजेसम्म सञ्चालनमा आउँछ । नहुनेले लिन र हुनेले दिएर जानसक्ने फुड बैंक गाउँपालिकाको कार्यालय परिसरमा राखिएको छ । लकडाउन तथा निषेधाज्ञाका कारण मर्कामा परेका श्रमिकहरुलाई लक्षित गर्दै भैरहवामा पनि फुड बैंक सञ्चालनमा ल्याइएको छ । लकडाउनका कारण कसैको पनि चुलो बल्न नरोकियोस् भन्ने उद्देश्यले बुधबारदेखि फुड बैंक स्थापना गरिएको मायादेवी च्यरिटेबल फाउन्डेसन तथा लायन्स क्लब अफ भैरहवाले जनाएको छ । फुड बैंकमा चामल, दाल, नुन, तेल, मस्यौरा, आलु, प्याज, तरकारी मसला तथा पिठो आवश्यकताअनुसार लकडाउन अवधिभर हुनेबाट लिइने र नहुनेलाई वितरण गरिने सञ्चालकहरुले जनाएका छन् । यस्तै पोखरामा १० वषिर्य बालिका पि्रन्सा रेग्मीले पनि ‘भोक उपचार केन्द्र’ नाम दिएर फुड बैंक सञ्चालनमा ल्याएकी छिन् । चामल, तेल र नुन उनको उपचार केन्द्रबाट वितरण हुन्छ । यसका अलवा पाँचथर, बारा, बैतडी लगायतका जिल्लामा पनि फुड बैंक सञ्चालनमा आएका छन् । ‘समाजको सुन्दर पक्ष’ महामारीको समयमा नागरिक स्तरबाट भएको यस किसिमको सहयोगको भावनाले समाजमा मानवीय भावना थप मजबुत बनेको समाजशास्त्रीय बुझाइ छ । हुनेले स्वच्छ मनले दान गर्न र नहुनेले अप्ठ्रोमा गुजारा चलाउन गतिलो अवधारणा फुड बैंक भएको शमाजशास्त्री नरेन्द्र मिश्र बताउँछन् । ‘नेपाली समाजमा परम्परागत रुपमा पैँचो तथा दानको प्रचलन रहेको छ, र अझ विपदको बेला यस्तो कार्यको महत्व बढी हुने गर्दछ,’ मिश्र भन्छन् । विपदको बेलामा नागरिकले गरेको यस्ता सहयोग दिर्घकालीन र स्थायी हुन नसक्ने सम्भावना भएकाले राज्यस्तरबाट सहयोग निरन्तरता हुन पर्नेम्ाा उनको जोड छ । यस्ता अवधारणा कार्यन्वनयन गरिदा लक्षित वर्गको पहूँच र स्वभावमा विशेष ख्याल गरिनु पर्ने उनले बताए । साभारः अनलाईन खबर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...