कलाकर्मीहरु कुलमान घिसिङको पुन नियुक्तीको पक्षमा

देश

कलाकर्मीहरु कुलमान घिसिङको पुन नियुक्तीको पक्षमा
१३ भदौ, काठमाडौँ । १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहोर्‍याउँदै चामत्कारिक ढगले नेपाललाई लोडसेडिङमुक्त देश बनाउन सफल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोेर्‍याउनुपर्ने माग जनस्तरबाट उठिरहेका बेला कलाकर्मीहरूले पनि स्वस्फूर्तरूपमा उनको पक्षमा आवाज उठाएका छन्। घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिँदै छ। यहीबीच मंगलबार बसेको मन्त्रिपरिषद्ले प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः उनलाइ नै नियुक्त गर्ने निर्णय गर्ने हल्ला फैलिएपछि दर्जनौं कलाकमीले यसबारे सामजिक सञ्जालमा पोस्ट गर्दै उनलाई बधाई दिए। तर, वास्तवमा मंगलबारको मन्त्रिपरिषद्मा यो एजेन्डा नै लगिएको थिएन। कुलमानकै नामका एक नक्कली आईडीमा आफूलाई नेपाल सरकारले पुनः नियुक्त गरिएको पोस्ट भएपछि सर्वसाधारणदेखि कलाकर्मीसम्म झुक्किएका थिए। अफवाह नै सही, कुलमानलाई प्राधिकरण प्रमुखमा पुनः नियुक्त गरिएको हल्ला फैलिएपछि यसप्रति आएको बधाई र शुभकामना सन्देशले नै देखाउँछ, सर्वसाधारणदेखि कलाकर्मीसम्म कुलमानको कार्यकाल दोहोरियोस् भन्ने चाहन्छन्। साथासाथै कुलमानको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको जिम्मेवारी दिनुपर्छ भन्दै सामाजिक सञ्जालमा दह्रोरूपमा आवाज उर्लिएको छ। यो आवाज सर्वसाधारणदेखि कलाकर्मीसम्मले उठाइरहेका छन्। ‘यो देशमा अन्धकार ल्याउने धेरै छन्, तिनीहरूलाई खोजी–खोजी हटाउनुपर्छ। उज्यालो ल्याउनेलाई सम्मान गरौं। कुलमानको ऊर्जाले देशको ऊर्जा बढ्छ।’ –ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले कुलमानको तस्वीर पोस्ट गर्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्। उनको पोस्टलाई नायिका वर्षा राउतले शेयर गरेकी छिन्। हास्य व्यंग्यकार मनोज गजुरेलले जनताको चाहनाको कदर गर्नुपर्नेमा जोड दिएका छन्। उनले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्– ‘बहुमत जनता कुलमानलाई दोहोर्‍याउनुपर्छ भन्दै छन् भने बहुमतको सरकारलाई यसो गर्न कुन मतले छेक्छ? ओके छ त भनेर समयको माग र जनताको चाहनाको कदर गरे भैगो। श्रीकुलमानलाई नै सदर गरे भैगो।’ अर्का हास्य कलाकार दीपकराज गिरीले थोरै फरक ढंगले आफ्नो मत राखेका छन्। उनले फेसबुकमा स्ट्याटस शेयर गर्दै लेखेका छन्– ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ। सरकारसँग यस्तै आशयको समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुको विकल्प छैन।’ अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरले विद्युत् प्राधिकरणमा फेरि कुलमान घिसिङको आवश्यकता रहेको जोड दिएकी छिन्। कुलमानका साथ आफू र कुनमानका साथ आफ्ना अभिनेता तथा निर्माता पति विनोद मानन्धरको तस्वीर राख्दै उनले फेसबुकमा लेखेकी छिन्– ‘थोरै आफ्नो सोचेर धेरै अरूका लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ।’ गायक शिव परियारले देशलाई उज्यालो चाहिएकाले पुनः एकपटक कुलमान घिसिङले विद्युत् प्राधिकरण हाँकेको हेर्न चाहेको उल्लेख गरेका छन्। ‘म व्यक्तिगतरूपमा कुलमान घिसिङले पुनः एकपटक विद्युत् प्राधिकरणको हाकिम हुनुपर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु। अहिले देशलाई, अहिले मात्र होइन सधैंभरि देशलाई उज्यालो चाहिएको छ। अब, नेपाल सरकारको निर्णय कुरेको छु, हेरौं। आशा छ, उज्यालोप्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ।’

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...