संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने ।

देश

संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने ।

अक्टुबर ८ काठमाडौँ :- संघीय संरचनामा पनि सशस्त्र प्रहरी बल केन्द्र मातहत नै रहने भएको छ ।‘सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तालीम सम्मेलन’ को उद्घाटन गर्दै गृहमन्त्री जनार्दन शर्माले संघीय संरचनामा बललाई कसरी लैजाने भन्ने गृहकार्य मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “सशस्त्र प्रहरी बलको प्रदेशस्तरको स्वतन्त्र संरचना बन्दैन, तर यसको प्रदेश संरचना भने बन्छ ।” विदेशमा शान्ति मिसनमा जाँदामात्रै राम्रो कमाइ हुने परिपार्टीको अन्त्य गर्दै बलका कर्मचारीको भत्ता र सुविधा बढाउन विभिन्न योजना बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “देशभित्र औद्योगिक सुरक्षामा खटिँदा होस् वा जलविद्युत् आयोजनाको सुरक्षामा खटिँदा सोबापत ती संस्थाबाट थप रकम त्यहाँ खटिने बलका कर्मचारीले पाउने व्यवस्था गर्नेतर्फ ध्यान दिन आवश्यक छ ।”बलले शान्तिसुरक्षा, जनधनको सुरक्षा, विपद् व्यवस्थापन, औद्योगिक सुरक्षाको कार्यादेश पाएकाले सो क्रममा आएका समस्या र समाधानका उपायबारे सम्मेलनमा गहन छलफल हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तो छलफलले बलको नयाँ रणनीतिक योजना विकास गर्ने एवं आवश्यक कार्यनीति तय गर्ने उहाँको भनाइ छ ।मन्त्रालयले आन्तरिक सुरक्षा नीति बनाइरहेको र त्यो अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । केहीअघिको बाढीपहिरोमा राहत तथा उद्धारमा र स्थानीय निकायको निर्वाचनमा शान्तिसुरक्षा दिन सशस्त्र प्रहरी बलले खेलेको भूमिका सराहनीय रहेको गृहमन्त्रीले बताउनुभयो ।कार्यक्रममा बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले संगठन व्यवस्थापन, नीति, रणनीति तय गर्न सम्मेलन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...