प्रथम शहिद लखन थापाको १४३ औ स्मृती दिवस इजरायलमा फेब्रवरी १४ तारिख मनाउने ।
जनजाती बिशेस
लखन थापा को थिए ?

-''नेपालको इतिहासमा प्रथम शहीदको गरिमामय स्थान प्राप्त गरेका लखन थापा मगरको जन्म वि.सं.१८९१ (ई.सं १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको थियो।[५] डा. हर्षबहादुर बुडा मगरले 'राष्ट्रका गौरव तथा नेपालका प्रथम शहीद लखन थापा मगर (द्दितीय )' पुस्तकमा उल्लेख गर्नुभए अनुसार , 'अन्नेरेरी कप्तान हनुमंसिंह थापा, सरदार बहादुर ( १८९१ -१९०१ ई.) २/३ गोर्खा राइफलका प्रथम सुबेदार मेजर थिए। हनुमंसिंहका काका लक्ष्मणसिंह थापाको जन्म गोरखामा १८३४ ई. मा भएको हो (२०५४, पृष्ठ ७ )। ' यसबाट पनि लखन थापा मगरको जन्म गोर्खाको काहुले गाउँमा नै भएको हो भन्ने कुरा ऐतिहासिक रूपबाट नै सान्दर्भिक देखिन्छ। उनको जन्म जुम्ल्याहा दाजुभाई का रूपमा भएको थियो। राम र लक्ष्मण दुई दाजु भाई मध्ये लक्ष्मण थापालाई नै पछि लखन थापा भनिएको हो।''
लखनसहित सातजना विद्रोहीलाई विसं १९३३ फागुन २ गते बुङ्कोटको काउले भँगारमा झुन्ड्याएर मृत्युदण्ड दिइएको खोजकर्ता त्रिलोक थापामगरले ‘इसमता डट कम' (२०७२–११–०२) मा उल्लेख गरेका छन् । थापाले आफ्नो लेख ‘कप्तान लखन थापाको जनविद्रोहको नालीबेली'मा उल्लेख गरेअनुसार लखनको जन्म विसं १८९१ मा भएको थियो ।
हालसम्म लखन थापाको प्रसंगमा ‘उनीसहित जयसिंह चुमी मगर लगायतलाई झुन्ड्याएर मृत्युदण्ड दिइयो' भन्नेमात्र पढ्न पाइन्छ । उनीसहित मारिने बाँकी को को थिए त ? यो प्रश्नको भरपर्दो जवाफ हालसम्म पढ्न पाइएको छैन । यस समस्याको समाधान गर्ने प्रयास यहाँ गरिएको छ ।
पद्मजंगको बयानमा पक्राउ परेका १२ जनामध्ये सात जनालाई मृत्युदण्ड दिइएको र विद्रोहमा कम सक्रियता भएका बाँकीलाई घर जान दिइएको प्रसंग परेकाले सात जनाले मृत्युदण्ड पाएको भन्ने तर्कलाई विश्वसनीय मान्न सकिन्छ । लखन थापालाई मृत्युदण्ड दिइएको घटनाको समयमा पद्मजंग २० वर्षका थिए । त्यसैले यस घटनाबारे उनमा चासो हुनु र यसबारे उनी जानकार हुनु सम्भव छ । इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा'को पूर्णांक ९३ (वैशाख २०५५:३५) मा प्रकाशमा ल्याएको ‘कुण्डली संग्रह'अनुसार पद्मजंगको जन्म विसं १९१४ कात्तिक २८ गते भएको हो ।
