बोक्सीको आरोप लगाएर काली गुरुङको परिवारलाई विस्तापित गराउने रोशन पक्राउ |

अपराध

बोक्सीको आरोप लगाएर काली गुरुङको परिवारलाई विस्तापित गराउने रोशन पक्राउ |
श्रावण २७  गोर्खा : गोर्खाको  धार्चे गाउँपालिका ६ काशीगाउँकी काली गुरुङ र उनकी छोरी मिनकुमारीलाई बोक्सी आरोप लगाउने रोशन गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरीले आरुघाट गाउँपालिका, मान्बुबाट नियन्त्रणमा लिएको हो । साउन १० गते काशीगाउँकै भीमकुमार गुरुङको मृत्यु हुँदा काली र उनकी छोरीलाई रोशनले आरोप लगाएका थिए । भीमकुमारको बोक्सीका कारण मृत्यु भएको भन्दै उनको पेटमा सर्प, भ्यागुता लगायतका जीव रहेको दाबी गर्दै चिहानडाँडामै रोशनले शव काटेका थिए । त्यसपछि काली र उनको परिवारलाई गाउलेले सामाजिक बहिस्कार गर्नुका साथै कुटपिटसमेत गरेका थिए । पीडितले रोशनलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता गराएका थिए । उजुरी पर्नासाथ रोशनलाई पक्राउ गर्न काशीगाँउ गएको प्रहरी टोलीमाथि समेत गाउँलेले आक्रमण गरेका थिए । घटनामा प्रहरीसहित जनप्रतिनिधि र पीडितमाथि समेत आक्रमण भएको थियो । घटनापछि काली गुरुङको परिवार विस्थापित भई सदरमुकाम आएको थियो । रोशनलाई पक्राउ गर्न नदिने अडान राखेपछि गत आइतबार प्रहरी काशीगाउँबाट रित्तै फर्केको थियो । आरुघाट प्रहरी चौकीबाटै घटनाको अनुसन्धान गर्ने भन्दै फर्केको प्रहरी टोलीले उजुरी परेको हप्ता दिनपछि रोशनलाई पक्राउ गरेको हो । ‘रोशनलाई पक्राउ गरी सदरमुकाम ल्याइसकेका छौं,’ एसपी बिमल बस्नेतले भने, ‘बोक्सी आरोप लगाइयो भनी रोशनको नाममा किटानी जाहेरी छ । म्याद थप गरेर अनुसन्धान गर्दैछौं ।’ साभार :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...