अमेरिकामा एक नेपाली सहित ३ को हत्या |
अपराध विदेश
हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिए । अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने नौ नेपालीमध्ये एक वृन्दाको गोली लागेर निधन भएको थियो भने अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका थिए । सो घटनामा सण्डे अगुडा र हेलेन रेइसको पनि मृत्यु भएको थियो । आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महिना अगाडि मात्र त्यहाँ काम गर्न थालेको उनीहरुको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
अमेरिकामा हुने ‘मास सुटिङ’ त्रासदी पूर्ण हुने र यसमा नेपाली पनि पर्नु दुःखद् भएको प्रतिक्रिया दिँदै अमेरिकाको मूलधारको राजनीतिमा लागेका एचवी भण्डारीले शुक्रबार कानूनी प्रक्रिया पूरा गरेर आइतवार सद्गत गर्ने तयारी भएको जानकारी दिए । पर्वतमा जन्मिएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन् ।

