भयावह अवस्था आए के गर्ने, थाहा छैन सरकारलाई

देश    स्वास्थ्य

भयावह अवस्था आए के गर्ने, थाहा छैन सरकारलाई
१५ भदौ, फिस्टेल न्युज । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै ९ सय जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । नयाँ संक्रमित दर घट्ने कुनै संकेत नै देखिएको छैन । दिनानुदिन नयाँ कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको छ । मृत्यु हुनेहरुको संख्या पनि दिनदिनै बढ्दो क्रममै छ । यसले के देखाउँछ भने नेपालमा कोरोना संक्रमण बृहत्तर रुपमा फैलिरहेको छ । तर अहिलेको अवस्थालाई कोरोनाको भयावह अवस्था मान्न सकिदैन । यद्यपी यहि अवस्थाबाट निकट दिनमै भयावह अवस्था सृजना नहोला भन्न सकिन्न । यदि कोरोना महामारीले जटिल रुप लिदै गएको खण्डमा सरकारको रणनीति के हुने र त्यसमा सरकारले कस्तो खालको तयारी गर्दैछ भन्ने विषयमा भने सरकार नै अन्यौलमा रहेको प्रष्ट बुझ्न सकिन्छ । कोरोना महामारीले भयावह रुप लिएको खण्डमा के गर्ने भन्नेमा स्वंय सरकारलाई नै थाहा नभएको सोमबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङबाट प्रष्ट हुन सकिन्छ । सदाजस्तै आज अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना महामारी बारे देशभरको पछिल्लो २४ घण्टाको अवस्थाबारे जानकारी गराए । तथ्यांकगत जानकारी सकिएपछि उनी थप बोल्दै गए । "कोरोना संक्रमणको दर यसरि नै बढ्दै जाने हो भने हामीसँग भएका स्रोत र साधनले नभ्याउन सक्छ" प्रेश ब्रिफिङका क्रममा उनले भने "यो महामारीले भयावह रुप लिदै गएमा हामीसँग उपलब्ध अस्पताल, आईसियु, भेन्टिलेटरले धान्न सक्दैन ।" डा. गौतमले शक्ति सम्पन्न राष्ट्रहरु पनि कोरोनाबाट हायलकायल भएको तथ्य सुनाउदै नेपाल जस्तो विकासशिल देश यसबाट अछुतो रहन नसक्ने बताए । उनको अभिव्यक्तिले नागरिकको सुरक्षाको जिम्मेवारीलाई सरकारले हल्का रुपमा लिएको बुझ्न सकिन्छ । उनले यति मात्रै भनेन् बरु कोरोनाका कारण नेपालमा भयावह अवस्था सृजना भएमा के गर्ने भन्ने बारेमा स्वंय सरकारलाई नै थाहा नभएको जसरी प्रस्तुत भए । उनले भने "सम्पन्न राष्ट्रहरुमा पनि यस्तो समस्या आएको हामीले देखेका छौँ । हामीसँग उपलब्ध अस्पताल र जनशक्तिले धान्न नसकेको खण्डमा के गर्ने भन्ने बारे सबैले सोच्न जरुरी हुन्छ"  बरु उनले जनतालाई कोरोनाबाट बच्न गर्नुपर्ने सामान्य सावधानीका उपाय बारे जानकारी दिए र भने "हरेक व्यक्ति जिम्मेवार भएमा कोरोना विरुद्धको लडाईमा हाम्रो जित हुनेछ ।" प्रवक्ता गौतमले निकट दिनमा कोरोना नियन्त्रणका लागि अस्पताल बन्ने, आईसोलेसन सेन्टरहरु थपिने, जनशक्ति व्यवस्थापन गरिने, आवश्यक प्रविधि भित्र्याईने जस्ता योजना सार्वजनिक गर्नुपर्नेमा साधारण सावधानीका उपायहरु बोल्नमा समय व्यतित गरे । सरकारको यो प्रस्तुतीबाट प्रष्ट हुन सकिन्छ कि कोरोनाको भयावह अवस्था आएको खण्डमा आवश्यक स्रोत साधनको व्यवस्थापन कसरि गर्ने भन्ने बारे हाल सम्म प्रभावकारी योजनाहरु बनेका छैनन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 4.50)
Loading...