पाटन अस्पतालमा कोरोना संक्रमितको सम्पर्कमा आएका नर्सहरुले सेवा दिँदै !

देश    स्वास्थ्य

पाटन अस्पतालमा कोरोना संक्रमितको सम्पर्कमा आएका नर्सहरुले सेवा दिँदै !
११ भदौ ललितपुर । ललितपुरस्थित पाटन अस्पतालका नर्सहरूले कोरोना उपचारमा खटिए पनि आफूहरूको स्वास्थ्य सुरक्षामा अस्पताल संवेदनशील नभएको गुनासो पोखेका छन्। अहिलेसम्म १२ जना नर्समा कोरोना संक्रमण देखिसकेको भन्दै अस्पतालको लापरबाही यथावत् रहे अझै धेरैमा संक्रमण देखिने उनीहरूको भनाइ छ। 'अस्पतालले हाम्रै पिसिआर गर्न मान्दैन। कति साथीहरूलाई संक्रमण देखिएको छ तर उहाँहरूको सम्पर्कमा को-को पुग्नुभो भन्ने कुरामा अस्पतालले कुनै चासो दिँदैन,' अस्पतालकी एक नर्सले भनिन्। उनले आफैं पिसिआर गर्न जाँदा पनि अस्पतालले आनाकानी गर्ने गरेको सुनाइन्। 'आफैं पिसिआर गर्छु भनेर माथि जाँदा उल्टै लक्षण देखिएको छैन किन गर्नुपर्‍यो भनेर भन्नुहुन्छ,' उनले आक्रोशित हुँदै भनिन्, 'यस्तो तालले कुन बेला संक्रमित भइने हो थाहा छैन।' केही दिनअघि मात्र मेडिकल आइसियूमा खटिएका तीन जना नर्सलाई संक्रमण देखिएको थियो। तर अस्पतालले संक्रमितहरूको सम्पर्कमा पुग्नसक्ने अन्य नर्सहरूको भने ट्रेसिङ गरेर परीक्षण नगरिएको ती नर्स बताउँछिन्। 'ट्रेसिङमा एकदम लापरबाही छ। कोही संक्रमित भयो भने उनीहरूको सम्पर्कमा पुगेका हुन सक्नेहरूलाई पनि आइसोलेट गरिँदैन। ड्युटीमै खटाइन्छ,' उनले भनिन्। अस्पतालकै क्वार्टरमा बस्ने एक जना स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि सँगै अर्को कोठामा बस्ने नर्सलाई अस्पतालले ड्युटीमै खटाएको छ। उनलाई छुट्टै क्वारेन्टिनमा आइसोलेट गरेर राखिएको छैन। कोरोना उपचारमै खटिएकी अर्का नर्स भन्छिन्, 'यस्तो छ अस्पतालको हालत। संक्रमितलाई मात्र व्यवस्थापन गरिन्छ तर अरूमा सर्नसक्ने कुरालाई अलिकति पनि ध्यान दिइएको छैन।' साथै, अस्पतालले कोभिड वार्डमा खटिएका नर्सहरूलाई परीक्षणबिना नन-कोभिड वार्डमा सिफ्ट गर्ने गरेको पनि पाइएको छ। यसरी परीक्षण नगरी नन-कोभिड वार्डमा जाँदा यदि संक्रमण भए त्यसबाट धेरैमा संक्रमण सर्नसक्ने उनीहरू बताउँछन्। कोभिड वार्डमा खटिएकी एक नर्सले भनिन्, 'संक्रमितहरू राखिएको ठाउँमा खटिएपछि हामीले पनि संक्रमण सर्न सक्ने धेरै सम्भावना हुन्छ। पिपिई लगाउँदा लगाउँदै पनि कुनै बेला सानो कुराले गर्दा संक्रमण सर्न सक्छ। तर कोभिड वार्डमा खटिएकालाई नन-कोभिडमा लैजाँदा पनि परीक्षण गरिँदैन।' अस्पतालले कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई कोभिड वार्डबाट नन-कोभिड वार्डमा लैजानुपूर्व कम्तिमा न्यूनतम अवधिका लागि भए पनि क्वारेन्टिनमा राख्नुपर्ने नर्सहरूको माग छ। तर अहिलेसम्म अस्पतालले त्यसरी राख्नलाई क्वारेन्टिनको व्यवस्थापन नगरेको उनीहरू बताउँछन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...