प्रवासमा रोगले थलिएका स्याङ्जाका युवालाई जिल्लाबासीको सहयोग

विदेश    समाज

प्रवासमा रोगले थलिएका स्याङ्जाका युवालाई जिल्लाबासीको सहयोग
बोम्जन गुरुङ
१८ भदौ, सउल । दक्षिण कोरियामा रोगले थलिएका स्याङ्जाका आशिष थापालाई आर्थिक सहयोग प्राप्त भएको छ । दक्षिण कोरियामै कार्यरत स्याङ्जाका युवाहरु सम्मिलित कल्याणकारी संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले बिरामी थापाको सहयोगार्थ आर्थिक संकलन अभियान सञ्चालन गरि संकलित रकम निजलाई हस्तान्तरण गरेको हो ।
स्याङ्जा परिवारले थापालाई प्रत्यक्ष भेटि संकलित ६ लाख २५ हजार नेपाली रुपैयाँ बुधबार हस्तान्तरण गरेको थियो ।
विगत तीन वर्षयता कोरियामा कार्यरत थापा गल्याङ नगरपालिका वडा नं-२ ईलुङ्गाका स्थायी निवासी हुन् । उनी लिभर सिरोसिस नामक कलेजोको जटिल संक्रमणबाट प्रताडित छन् ।
बिरामी थापा अस्वस्थताका कारण कम्पनीबाट रिलिज पेपर लिएर कामको खोजीमा रहँदै गर्दा अचानक बेहोस भई ढलेका थिए । काम छोडेर बसेको अवस्थामा उपचार खर्च निकै धेरै आएकोले स्याङ्जा परिवार दक्षिण कोरियाको मातहतमा दुई हप्ताको अवधि राखेर उपचारार्थ आशीष थापा "सुर्य" सहयोग संकलन अभियान सञ्चालन गरिएको संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले जानकारी दिए । सो अभियानको सम्पूर्ण विवरण संस्थाको पेजबाट अपडेट गरिएको केन्द्रीय कोषाध्यक्ष बिजय थापाले थपे ।कोरियाको अस्पताल डिस्चार्जपछि बिरामी थापा थप उपचारका लागी सेप्टेम्बर ४ मा नेपाल जाँदैछन् ।
सउल दोङ्देमुनस्थित स्याङ्जा घरमा रहेका उनलाई स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष युवराज गुरुङ, केन्द्रीय सल्लाहकारद्वय नरेन्द्र गुरुङ र होबिर दर्लामी मगर, संस्थाका भलिबल टीम क्याप्टेन अमित राना, सक्रिय व्यक्तित्व पुरन गुरुङ, बिरामी निकट व्यक्तित्व चमन थापा लगायतको उपस्थितिका विच सो सहयोग रकम हस्तान्तरण गरिएको हो । सोही अवसरका विच नेपाल मगर संघ दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै सो संस्थाका प्रमुख सल्लाहकार रहेका होबिर दर्लामी मगरले रु. ७० हजार (७ लाख वोन) संस्थागत रुपमा प्रदान गरेका थिए । केहि हप्ता अघि मात्रै आपतकालिन राहतकोष स्थापनार्थ नेपालीका लागी नेपाली दक्षिण कोरियाद्वारा गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका-२०१९ ” संकलित रकमबाट रु. एक लाख अर्थात दश लाख वोन सहयोग गरिसकिएको उक्त कार्यक्रमका संयोजक गुरुदत्त न्यौपानेले जानकारी दिए ।
उपचारार्थ आशीष थापा "सुर्य" सहयोग संकलन अभियानमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्नुहुने नेपाल मगर संघ दक्षिण कोरिया, सांगीतिक महाधमाका-२०१९ को टिम लगायत कोरियामा रहेका समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...