पोखरामा पर्यटकले पनि मनाए भाई टिका ।

अन्य

अक्टुबर २१ पोखरा :- दीपावलीको अन्तिम दिन पश्चिमाञ्चल होटल संघ पोखराले शनिवार आयोजना गरेको ११ औं भाइटिका महोत्सव मा १३ देशका ३५ पर्यटकले टिका ग्रहण गरेका छन् । भाइटिका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका पर्यटकहरु दोहो-याएर समेत टिका लगाउन पोखरा आउन थालेका छन् ।

पोखराको लेकसाइड स्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा यो पटक महोत्सव आयोजना गरिएको थियो । संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । अमेरिका, जर्मनी, चीन, बंगलादेश, फ्रान्स, अष्ट्रेलिया, मलेशिया लगायतका देशका पर्यटकले महोत्सवमा भाग लिएको महोत्सवका अर्का संयोजक केशवराज पहारीले जानकारी दिए ।

महोत्सवमा भाग लिएर नेपाली परम्परा अनुसार तिहारमा टिका लगाउन पाउँदा आफूले निकै नौलो अनुभव गरेको मलेशियाबाट आएका लो डाटोले बताए । आफू नेपालमा सातौं पटक आएको भन्दै उनले पोखरा मात्र तीन पटक आइसकेको जानकारी दिए । नेपाली संस्कृतिले आफूलाई सधैं आकर्षित गर्ने गरेको अनुभव उनको थियो । मलेशियाकै महिला पर्यटक मिन्कले पनि तिहार पर्व र खासगरी भाइटिका आत्मियता आदानप्रदान गर्ने पर्वको रुपमा आफूले बुझेको सुनाइन् ।

महोत्सवमा रेन्वो चिल्ड्रन होमका वालिकाहरुले पर्यटकलाई टिका लगाइदिएका थिए । पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि वालिकाहरुलाई दक्षिणा दिएका थिए । १५ अमेरिकी डलरमा पर्यटकले फारम भरेर कार्यक्रममा सहभागिता मात्र जनाएनन् सो अवसरमा आयोजना गरिएको देउसी भैलो र सांस्कृतिक कार्यक्रममा भरपूर मनोरञ्जन पनि लिए । सेलरोटी र अन्य परिकारको स्वादमा पनि उनीहरु उत्तिकै रमाए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...