वीर अस्पताल अब कोभिड अस्पताल

देश    स्वास्थ्य

वीर अस्पताल अब कोभिड अस्पताल
२२ भदौ, काठमाडौं । नेपालको सबैभन्दा पुरानो र सरकारी रिफरल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को आइतबार बसेको बैठकले वीरलाई अब कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने निर्णय गरेको हो । यो निर्णयसँगै कमान्डले वीर अस्पतालको स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध गराउने टुंगोमा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो । देशका विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य र यससँग सम्बन्धित विषय अध्ययन गरिरहेका विद्यार्थीलाई आवश्यकतानुसार कोभिड नियन्त्रण तथा रोकथामका लागि खटाउन सक्ने निर्णय मन्त्रालयले गरेको छ । त्यसका लागि निश्चित सम्झौता गरेर खटाउन सक्ने मन्त्रालयका प्रवक्ता गौतमले बताउनुभयो । त्यसै गरीे मेडिकल विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाउने समेत मन्त्रालयले निर्णय गरेको छ । कोभिडको राष्ट्रिय मार्गचित्र निर्धारण गर्नका लागि प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा एचटीएसी समिति गठन गरिएको छ । एक जना विज्ञसहित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट डा. प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् आपत्कालील व्यवस्थापन इकाइबाट एक जना सदस्य–सचिव रहने गरी समिति गठन गरिएको छ । सबै सरकारी प्रयोगशालाले परीक्षण गर्ने नमुना संख्याको ५० प्रतिशत नमुना परीक्षण दायरामा नपरेकाहरुको आफ्नै खर्चमा सशुल्क परीक्षण गर्न चाहेमा अनुमति दिने पनि उहाँले गौतमले बताउनुभयो । अब सरकारी प्रयोगशालामा पनि ५० प्रतिशतले मात्र पीसीआर निःशुल्क परीक्षण गराउन पाउने निर्णय भएको छ । लकडाउनपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल मात्र कहिले बिरामी भेट्न गएर होम क्वारेन्टाइन, कहिले स्वास्थ्य मन्त्रालयका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएर होम क्वारेन्टाइन बस्दै आउनुभएको छ । आफ्नो छोरालाई कोरोना संक्रमण भएकाले उहाँ पुल्चोकस्थित मन्त्री क्वाटरमै होम क्वारेन्टाइनमा बसेको आइतबार सार्वजनिक गर्नुभएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...