राजधानी काठमाडौं कोरोनाको मुख्य “हटस्पट” बन्दै

देश    स्वास्थ्य

राजधानी काठमाडौं कोरोनाको मुख्य “हटस्पट” बन्दै
११ भदौ, काठमाडौं । समुदायस्तरमा संक्रमण देखिएको काठमाडौं उपत्यकामा बुधबार कोरोना भाइरस संक्रमितको संख्या चार हजार नाघेको छ । तर, सरकारले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकेको छैन । राजधानीमा बुधबार थपिएका तीन सय एक संक्रमितमध्ये काठमाडौंमा दुई सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ रहेका छन् । योसँगै काठमाडौंमा तीन हजार एक सय ८५, ललितपुरमा पाँच सय १० र भक्तपुरमा तीन सय २४ जना संक्रमित पुगेका छन् । अहिले सक्रिय संक्रमित रहेका देशका ७५ जिल्लामध्ये काठमाडौं सबैभन्दा बढी संक्रमित भएको जिल्ला हो । उपत्यकामा महिनौँदेखि घरबाहिर ननिस्केका सर्वसाधारणलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौं उपत्यकामा समुदायस्तरमै संक्रमण देखिएको बताए । ‘उपत्यकामा अहिले संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी समुदायकै हुन्, जसको कुनै ट्राभल हिस्ट्री पनि छैन, कोही त महिनौँदेखि घरमै रहेकाहरू पनि छन्,’ डा. पाण्डे भन्छन् । तर, यसलाई विश्व स्वास्थ्य संगठनले परिभाषित गरेकोजस्तो ‘लोकल ट्रान्समिसन’ भन्न नमिल्ने उनको भनाइ छ । ‘भारतमा समेत लोकल ट्रान्समिसन भएको भनिएको छैन, हाम्रोमा पनि त्यसरी भन्नचाहिँ मिल्दैन,’ डा. पाण्डेले भने । समुदायमै संक्रमण देखिए पनि सरकारले सबैको कन्ट्याक्ट ट्रेसिङ भने गर्न सकेको छैन । एकैदिन धेरैजनामा संक्रमण देखिन थालेपछि कन्ट्याक्ट ट्रेसिङमा समेत कठिनाइ भएको डा. पाण्डेले बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र उपत्यकाका स्वास्थ्य कार्यालयहरूले कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेपछि स्थानीय सरकारलाई जिम्मा दिइएको छ । ‘हामीले पनि सहजीकरण गरेका छौँ, तर आजकै कुरा गर्ने हो भने एकैदिन तीन सय एकजना थपिएका छन् । कसको सम्पर्कमा कति छन् ? कसरी छुट्याउने ?’ महाशाखा प्रमुख डा. पाण्डेले भने । जनशक्ति अभावका कारण कन्ट्याक्ट ट्रेसिङको काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको महाशाखा तथा जिल्ला स्वास्थ्य कार्यालयका अधिकारीहरू बताउँछन् । ‘हामीसँग पर्याप्त जनशक्ति छैन,’ भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भने, ‘हामीले सम्पर्क नम्बरसहितको विवरण स्थानीय तहलाई पठाएका छौँ, त्यसपछिको व्यवस्थापनमा उहाँहरूको सक्रियता छ ।’ समुदायस्तरमा संक्रमण देखिन थाले पनि नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गर्नेबाहेक अरू ठोस पहल भने गरेको छैन । संक्रमितबारे स्थानीय सरकार बेखबर संघीय सरकारले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङको जिम्मा सुम्पे पनि स्थानीय सरकार भने उनीहरूको पहिचान गर्नमै रुमल्लिएका छन् । उनीहरूलाई संक्रमितको वास पत्ता लगाउनै मुस्किल भइरहेको छ । ल्याबले संक्रमण पुष्टि गरेको दुई दिनपछि मात्रै स्थानीय सरकारले संक्रमितको विवरण पाउने गरेका छन् । उपत्यकामा सबैभन्दा बढी संक्रमित भएको काठमाडौं महानगरपालिकामा सोमबारसम्म एक हजार आठ सय ४० जना संक्रमित थिए । तर, मंगलबार र बुधबार कति संक्रमित थपिए भन्ने विवरण महानगरसँग पुगेको छैन । संक्रमित भएकामध्ये पनि को कुन वडामा बस्छन् भन्ने पूर्ण विवरण छैन । ल्याबबाट संक्रमण पुष्टि भएपछि रोग नियन्त्रण महाशाखा हुँदै जिल्ला स्वास्थ्य कार्यालयबाट स्थानीय तहसम्म विवरण पुग्नै दुई दिन लाग्ने गरेको काठमाडौं महानगरका कोभिड नियन्त्रण फोकल पर्सन ज्ञानबहादुर ओलीले बताए । सोमबारसम्मको अपडेट महानगरसँग आइपुगेको छ, मंगलबार कति संक्रमित थपिए ? अवस्था कस्तो छ ? हामीलाई जानकारी छैन,’ ओलीले भने । संक्रमण पुष्टि भएको दुई दिनपछि मात्रै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गर्छन् । काठमाडौं महानगरले संक्रमितको विवरण प्राप्त भएपछि टेलिफोनमार्फत संक्रमितको बसाइ र अवस्थाबारे एकपटक सोध्ने गरेको छ । फोन सम्पर्क नहुने संक्रमितबारे महानगर बेखबर छ । ‘महानगरभित्र कति संक्रमित होम आइसोलेसनमा छन् भनेरसमेत यकिन गर्न सकिएको छैन,’ फोकल पर्सन ओलीले भने । उनका अनुसार सोमबारसम्म करिब तीन सय ९० जना संक्रमित होम आइसोलेसनमा छन् । महानगरसँग कति संक्रमित निको भए भन्ने पनि जानकारी छैन । ‘न बिरामीले निको भएँ भनेर थाहा दिन्छन्, न त अस्पतालले डिस्चार्ज भएको खबर गर्छन् । ल्याबले पनि रिपोर्ट नेगेटिभ आएको विवरण पठाउँदैन,’ ओलीले भने । टोखा नगरपालिकासँग पनि त्यस्तै समस्या छ । मंगलबार कति संक्रमित थपिए भन्ने विवरण बुधबारसम्म पनि टोखामा पुगेको छैन । स्वास्थ्य शाखाका प्रमुख रण खुलालका अनुसार अहिले एक सय ३८ जना संक्रमित छन् । ‘संक्रमितको जानकारी पहिले जिल्ला स्वास्थ्य कार्यालयमा आउँछ, त्यहाँबाट छुट्टिएर यहाँ आउने एक दिनपछि मात्रै हो, कहिले त दुई दिन पनि लाग्छ,’ खुलाल भन्छन् । टोखामा ३५ जना होम आइसोलेसनमा बसेका छन् भने ६ जनालाई नगरपालिका आफैँले निर्माण गरेको चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आइसोलेसनमा राखेको छ । तर, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ भने टोखाले पनि गर्न सकेको छैन । उपत्यकाका अन्य स्थानीय सरकारले पनि सबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकेका छैनन् । संक्रमितको संख्या चार हजार नाघे पनि कन्ट्याक्ट ट्रेसिङको संख्या भने दश हजार मात्रै पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...