हस्तान्तरण नहुँदै भत्कियो फेवा सिल्टेसन ड्याम

देश

हस्तान्तरण नहुँदै भत्कियो फेवा सिल्टेसन ड्याम
फेवातालको आयतन खुम्चँदै गएपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा फेवातालको शीरको चार स्थानमा सिल्टेसन ड्यामको काम सम्पन्न भयो । बेतेनी खोला, लौरुक, अधेँरी र हर्पन खोलामा सिल्टेसन ड्याम निर्माणको काम सम्पन्न भएको हो । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको करिब २८ करोड लागतमा निर्माण भएको सिल्टेसन ड्याम समय अवधि पुरा नहुँदै सम्पन्न भएपनि हस्तान्तरण नहुँदै अधेँरी खोलामा बनेको सिल्टेसन ड्याम सोमबार अविरल बर्षासँगै आएको बाढीले ५० मिटर बगाएको छ । अधेँरी खोलाको सिल्टेसन ड्याम बगाएसँगै करिब करोड बढीको क्षति भएको छ । हस्तान्तरण अवधि नसकिँदै सम्पन्न भएको ड्याम भत्किनुको मुख्य दोष स्थानीयहरु पोखरा महानगर र ठेकेदार कम्पनीलाई दिन्छन् । पिकेजी कम्पनीले निर्माण कार्यमा गरेको कमजोरीको कारण ड्याम भत्किएको स्थानियबासी खिमलाल भण्डारीले बताए । सिल्टेसन ड्याम निर्माण कार्यमा कमजोरी भएको भनेर पटक पटक पोखरा महानगरपालिकालाई जानकारी गराए पनि आफ्नो सुझाबलाई बेबास्ता गरेको पोखरा महानगरपालिका वडा नं. २३ का  बिष्णुप्रसाद पराजुली बताए । सिल्टेसन ड्याम बनाइसकेपछि ड्याममा रहेको माटोको लेदो र  गिट्टी बालुवा निकाल्ने काममा महानगरको ध्यान नपुग्दा करोडौँको क्षति हुन पुगेको स्थानीय बिष्णु दाहालले बताए । पहिला निर्माण गरिएको बलियो बाँधलाई भत्काएर काम छिटो सक्ने नाममा ठेकेदार कम्पनीले कमजोर संरचनाको सिल्टेसन ड्याम बनाउँदा ड्याम भत्किएको उनको तर्क छ । दाहालका अनुसार ड्याम निर्माणमा भएको कमजोरीको बारेमा स्थानियहरुले पटकपटक पोखरा महानगरलाई जानकारी गराएका थिए । यता आयोजनाका इन्जिनियर विमल आचार्यले भने सिल्टेसनमा रहेको गिट्टी बालुवा समयमा नै निकाल्न नसक्दा ड्याम भत्किएको बताए । इन्जिनियर आचार्यका अनुसार आयोजना हस्तान्तरण नभइसकेकाले गर्दा क्षति भएको भत्किएको भाग ठेकेदार कम्पनीले पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...