पोखरामा भोलीदेखि निजी सवारी जोरविजोर प्रणालीमा चल्ने

देश    स्वास्थ्य

पोखरामा भोलीदेखि निजी सवारी जोरविजोर प्रणालीमा चल्ने
कास्की जिल्लामा सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ । कास्की जिल्लामा आज राति १२ बजेदेखि लागु हुने गरी सवारी सधानहरूमा जोर बिजोर प्रणाली लागु गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले जानकारी दिनुभयो । कास्कीमा ट्याक्सीले जोरविजोर प्रणालीका आधारमा यात्रु बोक्न पाउने भएको छ । तर सार्वजनिक यातायातका साधन भने चल्न रोक लागाईएको प्रजिअ ढकालले बताउनुभयो । उहाँले भन्नुभयो – “कोरोना सङ्क्रमणको जोखिमलाई ख्यालमा राख्दै यात्रुवाहक सवारीसाधनमा रोक लगाएर अन्यको हकमा जोर बिजोर लागु गरेको छौ, यस्ता सवारीहरू बिहान ६ बजेबाट साँझ ८ बजे सम्म मात्र चल्न पाउने छन् ।” भदौ २० गते राति १२ बजे सम्म लागु हुने गरी प्रशासनले कास्की जिल्लामा सञ्चालन हुने सेवा तथा कार्यहरूको सूची र मापदण्ड सार्वजनिक गरेको प्रजिअ ढकालले जनाउनुभयो । प्रशासनले भेला, सम्मेलन, गोष्ठी, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरूमा पूर्ण बन्देज गरेको छ । प्रशासनले सूचना जारी गर्दै सबै प्रकारका शिक्षण संस्था, तालिम तथा प्रशिक्षण स्थलहरू, सिनेमा हल, पार्टी प्यालेस, फन पार्क, रङ्गशाला, फुटसल, खेलकुद स्थल, जिम खाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन सञ्चालन नगराउन भनेको छ । यसै गरी प्रशासनले सरकारी तथा गैर सरकारी कार्यालयहरू, बैङ्क एवमा वित्तीय संस्था तथा सहकारीहरू भने सामाजिक दुरी कायम गर्दै भिडभाड नहुने तरिकाले सञ्चालन गर्न पाइने भनेको छ । त्यसतै होटेल तथा रेस्टुरेन्ट भने होम एन्ड टेक अवेका आधारमा साँझ ७ बजे सम्म सञ्चालन गर्न पाउनेछन् । प्रशासनले अत्यावश्यक काम बाहेक घर वाट बाहिर ननिस्कन आग्रह गर्दै विकास निर्माण उद्योग तथा व्यवसायहरू भने यथावत् रूपमा सञ्चालन गर्न दिने निर्णय समेत गरेको छ । पोखरा महानगरपालिका की उप-प्रमुख तथा कोरोना रोकथाम नियन्त्रण मूल समितिकी संयोजक समेत रहेकी मञ्जु देवी गुरुङले पोखरा महानगरका वडा कार्यालयहरूले सामान्य सिफारिस बाहेकका अन्य कामहरू भने सञ्चालन नहुने बताउनु भएको छ । उहाँले भन्नुभयो–“हामीले भदौ २० गते सम्म सामान्य सिफारिस बाहेकका अन्य काममा रोक लगाएका छौँ ।” यो अवधि घरको नक्सा पास र अन्य कामहरू पनि रोकिएको उपप्रमुख गुरुङले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा सार्वजनिक सुचना हेर्नुहोस् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...