नेपाल आदिवासी जनजाती महासंघ युएईको सामुहिक वनभोज सम्पन्न ।

विदेश

नेपाल आदिवासी जनजाती महासंघ युएईको  सामुहिक वनभोज सम्पन्न ।
डिसेम्बर २४ मनु कोंमे तमु युएई :-नेपाल आदिवासी जनजाती महासंघ(नेफिन) युएईले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत तयार गरेको वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। नेफिन युएईको पहिलो बैठकमा अध्यक्ष महेश मोक्तानले संस्थाको वार्षिक कार्ययोजना भित्र नेफिन युएई अन्तर्गत रहेका मगर, गुरुङ, थारु, राई, लिम्बु, तामाङ, नेवार, शेर्पा, सुनुवार र भुजेल समुदायका सबै १० वटा संस्थाहरुका सदस्यहरुलाई यस वनभोज कार्यक्रम मार्फत एकअर्का बिच सद्भाव कायम गराउने र बहुपक्षीय सामुदायिक सहयोगको अवधारणा विकास गर्ने उद्देश्य सहित सर्वसम्मत कार्यसमितिका सबै पदाधिकारीहरुले अनुमोदन गरिए बमोजिम २० डिसेम्बर, २०१९ शुक्रबारका दिन युएईको दुबई स्थित जबिल पार्कमा नेपाल आदिवासी जनजाती महासंघ युएईले सामुहिक वनभोज कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ। उक्त वनभोज कार्यक्रम नेफिन युएईको ईतिहासमा नै पहिलो पटक गरिएको हो। कार्यक्रमको लागी नेफिन युएईका वरिष्ठ उपाध्यक्ष विजया लक्ष्मी राईको संयोजकत्वमा अन्य सदस्यहरु सहितको संयन्त्र बनाइएको थियो। संयोजक कार्यक्रम भन्दा १ हप्ता अगाडी अचानक अस्वस्थ भइ उपचारार्थ अस्पतालमा भर्ना भएको कारणले गर्दा नेफिन युएई का अध्यक्ष महेश मोक्तान र महासचिब कुमार बलामीले संयोजक संयन्त्रका सदस्यहरुसँग समन्वय गरी सबैको सहयोगमा पुरा जिम्मेवारी वहन गरी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बिहान ११ बजे देखी बेलुकी ७ बजे सम्म विभिन्न समुदायका महिला दिदीबहिनीहरुले आ-आफ्नो जातीय पहिरनमा सजिएर आउँदा कार्यक्रमस्थलमा आउने सबैले साँच्चिकै नेपालमै रहेको झैं महशुस गर्न पाएका थिए र सबैको हँसिलो मुहार देख्न पाउँदा पार्क भरी नेपालीपन को उल्लासमय वातावरण छाएको थियो। त्यसमाथी भिजिट नेपाल २०२० को प्रचार प्रसार मौखिक रुपमा गर्दै पार्कमा उपस्थित अन्य विदेशी नागरिकहरु पनि संगै बसेर फोटो खिच्न र मौलिक गीत संगीत र नाच हेर्न वरपर रमाइलो गरिरहेका अन्य विदेशी नागरिकहरु लर्को लाएर हेर्न आएका थिए र कतिपयले नेपाली खाना को स्वाद चाखेर निकै रमाएका थिए। सहभागीहरु धेरैजसो बिदेशीहरु लाई स्वागत र भलाकुसारी गर्नमा ब्यस्त देखिएका थिए भने कतिपय साथीहरु चाहीं खेलकुदमा रमाई रहेका थिए। हार्मोनियम, मादल, गितार र झ्याली सहितको विभिन्न भाषाका लोक गीतहरु गाएर लय र तालमा ताली बजाउँदै कम्मर मर्काई मर्काई नाचेको बेलामा सबैले हुटिङ गरी कलाकारहरुलाई हौसला प्रदान गरिएको थिए। त्यो दृश्य देखेर कतिपय पार्क घुम्न आएका पर्यटकहरु अनुमती माग्दै, संगै बसेर रमाईलो कार्यक्रममा सहभागिता पनि जनाएको क्षण त झन निकै रोमाञ्चक बनेको थियो। आयोजक नेफिन युएईले विभिन्न मनोरञ्जनात्मक खेलहरु, विभिन्न नेपाली मौलिक गीत संगीत तथा नाचगानको साथै नास्ता, पानी तथा पेय पदार्थ, खाना र बेलुकी भोजको पनि व्यवस्था गरेको थियो। नगद उपहार सहितको बिङ्गो खेलको लागी उपस्थित प्राय: सबैले कुपन ख़रीद गरी भाग लिएका थिए। बिंगो खेल नेफिन युएईका केन्द्रीय सदस्यहरु नेवा:पुच:युएईका सुनिलमान श्रेष्ठ , तमु समाज युएईका साँङगी डोल्मा गुरुङ, नेफिन युएईका महिला प्रमुख तथा शेर्पा किदुग युएईका माया शेर्पा र तामाङ समाज युएईका सुर्य मोक्तानले संचालन गरेका थिए भने वाद्यवादन तर्फ मादलमा लक्ष्मण श्रेष्ठ, हार्मोनियममा कुमार बलामी , गितारमा सुर्य तामाङ, राजेश प्रधान, देर राज गुरुङ, जितेन्द्र तामाङ लगायत अन्य सहभागीहरुले पालैपालो साथ दिइ अविच्छिन रुपमा मनोरञ्जन गर्नको लागी साथ दिएका थिए। मनोरञ्जनात्मक कार्यक्रमलाई बिचमा एकैछिन बिश्राम गराई महासचिब कुमार बलामीले छोटो औपचारिक कार्यक्रम तय गरी संचालन गर्नुभएको थियो। नेफिन युएईका अध्यक्ष महेश मोक्तानको सभापतित्वमा सम्पन्न उक्त औपचारिक कार्यक्रमका प्रमुख अतिथीमा नेफिन युएई एल एण्ड पि डी समिति प्रमुख देर राज गुरुङ लाई प्रमुख अतिथीको आसणग्रहण गराई सुरु गरिएको उक्त औपचारिक कार्यक्रममा विशेष अतिथिहरुमा प्रशिक्षण समिति उप प्रमुख सनिल घिसिङ, संरक्षण समितीका सदस्यहरु प्रमोद श्रेष्ठ, सुरेन्द्र थिङ तामाङ, टंक थापा मगर, नेपाली समाजका पार्षद अध्यक्ष राम मोक्तानको उपस्थिती रहेको थियो। यसै गरी नेफिन पत्रकार महासंघ (फोनिज)का कार्यवाहक अध्यक्ष राजेश प्रधान, संस्था प्रमुखहरुमा सुनुवार सेवा समाज युएईका अध्यक्ष नरबहादुर सुनुवार, नेवा: पुच: युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठ, किरात याक्थुङ चुम्लुङ युएईका सल्लाहकार डम्बर लिवाङ लिम्बू, किरात राई यायोक्खाका अध्यक्ष चन्द्रा साम्पाङ, थारु कल्याणकारी सेवा समाज युएईका अध्यक्ष रुपेश चौधरी, प्रवासी भुजेल सेवा समाज का उपाध्यक्ष तुल घर्ती तथा निवर्तमान अध्यक्ष सुर्य भुजेल, शेर्पा किदुग युएईका उपाध्यक्ष माया शेर्पा, नेपाल मगर संघ युएईका मुना गाहा मगर र तमु समाज युएईका साङ्गी डोल्मा गुरुङको उपस्थिती रहेको थियो। स्वागत मन्तव्यको साथै कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै सभापति महेश मोक्तानले उपस्थित सबै जनालाई नेफिन युएईलाई यस कार्यकालमा सबै दृष्टिकोणले सक्षम बनाउने उदेश्य लिएको हुँदा सबैले आफ्नो तर्फबाट भरपुर रुपमा सहयोग गर्नको लागी अनुरोध गर्दै आगामी बर्षहरुमा यस्ता खालको कार्यक्रमहरु सकभर निःशुल्क रुपमा वा एकदमै न्यूनतम शुल्क मा संचालन गर्ने घोषणा पनि अध्यक्ष महेश मोक्तानले गर्नु भएको छ। नेफिन युएईले यस्तै खालको विभिन्न कार्यक्रमहरु मार्फत संस्थाका सबै सदस्यहरुको व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गर्दै आदिवासीहरुको भाषा, संस्कृति र कलाको संरक्षण गर्दै जाने उद्देश्य नेफिनले लिएको र सबैको साथ र सहयोग पाएकोमा धन्यबाद ज्ञापण गर्नु भएको थियो। मन्तव्यकै क्रममा प्रमुख अतिथी देर राज गुरुङले नेफिन युएईले गरेको सकारात्मक कामहरु प्रती आभार प्रकट गर्दै यसलाई निरन्तर रुपमा अगाडी बढाउनको लागी सबै जानुपर्ने कुरामा प्रकाश पार्नु भएको थियो। औपचारिक कार्यक्रम संचालन गर्ने क्रममा महासचिव कुमार बलामीले प्रवासमा रहेका हामी सबै नेपालीहरु एकजुट भई जो जुनसुकै ठाउँमा जुनसुकै पेशा र व्यावसयमा संलग्न रहेता पनि राष्ट्रियताको सवालमा र संस्कृति, भाषा र कला प्रवर्द्धनको साथै आपत बिपत तथा भैपरी आएका बेलामा प्रवासमा तथा स्वदेशमा रहेका नेलीहरुको समस्या समाधान गर्न सबै सँग नेफिन युएईले हातेमालो गर्दै जाने र नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबैलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्दै नेफिन युएईका बरिष्ठ उपाध्यक्ष बिजया लक्ष्मी राईको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्नु भएको थियो। छोटो औपचारिक कार्यक्रम समाप्त लगतै सहभागी सबैजना पुन: नाचगान र मनोरन्जनमा व्यस्त रहेको थियो भने यस कार्यक्रम मार्फत सबै जातीय संस्थाहरुको महासंघ प्रतिको सद्भाव र सम्बन्ध विस्तार वृद्धि भएको र जसले गर्दा नेफिन युएई को यस कार्यकालको टिमलाई थप उर्जा र हौसला मिलेको कुरा नेपाल आदिवासी जनजाती महासंघ युएई तथा नेवा: पुच: युएईका महासचिव कुमार बलामीले जानकारी गराउनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...