रौतहटमा पूजारीको हत्या: आठ दिन बित्यो, प्रहरीले ‘क्लु’ पनि पाएन

अपराध    देश

रौतहटमा पूजारीको हत्या: आठ दिन बित्यो, प्रहरीले ‘क्लु’ पनि पाएन
११ भदौ, रौतहट । रौतहट माधवनारायण नगरपालिका-२ का पूजारीको हत्या भएको आठ दिन बित्दा प्रहरीले हत्यामा को संलग्न थियो भन्ने ‘क्लु’सम्म पत्ता लगाउन सकेको छैन। खेसरहियास्थित हनुमान मन्दिरका पूजारी ६२ वर्षीय राम साहको अज्ञात समूहले मन्दिरमै भदौ ३ गते राति सवा ९ बजे गोली हानी हत्या गरेको थियो। खाना खाइरहेको समयमा पूजारीलाई अज्ञात समूहले गोली हानेको थियो। रौतहट प्रहरीले अनुसन्धानको ‘सुई’ जता पनि बहन सक्ने बताएको छ। हालसम्म कोही व्यक्ति पहिचान भइनसकेको प्रहरीको भनाइ छ। पूजारी हत्या गर्ने समूह नेपालभित्रकै भएको प्रहरी दाबी छ। ‘अहिलेसम्म बाहिरको समूह देखिएको छैन,’ रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले भने। यता दुई नम्बर प्रदेश प्रहरीको अनुसन्धान टोली पनि रौतहटमा खटिएको छ। उसले अहिलेसम्म केही पनि पत्ता लाग्न नसकेको बताएको छ। ‘अहिले केही भनिहाल्दा अनुसन्धानलाई बाधा पर्न जान्छ, प्रहरीले मेहनत गरिरहेको छ,’ प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले भने। पूजारी साहको कञ्चटमा गोली हानिएको थियो। यसकारण गोली हान्ने समूह ‘गैरव्यावसायिक अपराधी’ हैन भन्न सकिने अवस्था नरहेको अनुसन्धान अधिकृतहरू बताउँछन्। ‘रातको समय र एकान्तको मन्दिरमा पुगेर पूजारीलाई गोली प्रहार गर्नु योजनाबद्ध देखिन्छ,’ एक अनुसन्धान अधिकृतले भने। हत्या गरिएका पूजारी सामान्य नागरिक हुन्। पूजारी साहको राजनीतिक सम्बन्ध, लेनदेन केही पनि छैन। उनको आर्थिक सम्बन्ध पनि देखिँदैन। माधवनारायण नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादव भन्छन्, ‘उनी त भक्तहरूले दिएको चामल, दाल, र केही भेटीबाट बाँचिरहेका थिए, यस्तो मान्छेको हत्या किन गरियो, घटना रहस्यमय बनेको छ।’ पूजारी साहको सामाजिक सम्बन्ध भने बलियो थियो। उनी त्यहाँ दुई वर्षयता मन्दिर स्थापना गरेर बसिरहेका थिए। उनी त्यहाँ गएपछि स्थानीयहरू मन्दिरमा पूजा गर्न जान थालेका थिए। नजिकै अर्को मन्दिर थिएन। ‘सोझो र कसैलाई पनि चित्त नदुखाउने व्यक्ति थिए उनी,’ मेयर यादव भन्छन्, ‘गाउँलेले एकदमै माया गरेका मान्छे हुन्।’ धार्मिक कारण उनको हत्या गरियो भन्नेमा पनि कसैले विश्वास गरेका छैनन्। किनकी, साहको धार्मिक यात्रा लामो हैन, जम्मा दुई वर्षको हो। यो बीचमा उनको त्यस्तो कुनै विवादास्पद गतिविधि गरेको देखिन्न। उनी सोही वडाका बासिन्दा हुन्। साहले दुई वर्षअघि आफैं उक्त मन्दिर स्थापना गरेका थिए। उनले आफ्नो अंशमा परेको जग्गा बेचेर ऐलानी जग्गामा मन्दिर स्थापना गरेका थिए। मेयर यादवका अनुसार श्रीमतीको मृत्युपछि साह सन्त भएका हुन्। उनका छोराछोरी पनि छैनन्। करिब १२ वर्ष पहिले श्रीमती बितेपछि साह एक्ला भएका थिए। भाइ-भतिजालाई घर बनाइदिएपछि आफ्नो भागमा परेको जग्गा बेचेर साधु बने। घटना भएको ठाउँबाट जिल्ला प्रहरी कार्यालय करिब २२ किलोमिटर टाढा छ। तीन किलोमिटर पर इलाका प्रहरी कार्यालय छ, जो घटनास्थलबाट उत्तर पर्छ। त्यहाँ सशस्त्र प्रहरीको बेस क्याम्प पनि छ। रौतहट भारतसँग खुला सीमा भएको जिल्ला हो। घटना भएको ठाउँभन्दा दक्षिण सीमा २० किलोमिटर टाढा छ। त्यसकारण हत्यारा सीमापारिबाट आयो र सुटुक्क त्यतै फर्कियो भन्ने बलियो आधार छैन। मन्दिर पूर्व र पश्चिमका बस्तीभन्दा केही टाढा अलग्गै खुला ठाउँमा छ। घटना भएको दिन त्यहाँ साप्ताहिक हाट लागेको थियो। स्थानीय बुद्धिजीवी विन्दा सहनी भन्छन्, ‘बजार लागेको दिन सात-आठ बजेसम्म मान्छेहरूको जमघट हुन्छ।’ आतंक र असुरक्षा मच्चाउने त्यहीँकै कुनै समूहले यो घटना गराएको हुनसक्ने आशंका उनले गरे। ‘मलाई त त्यो घटना सुन्दाखेरी नै आश्चर्य लाग्यो, त्यस्तो निरीह प्राणीलाई गोली हानेर हत्या गर्नु आततायी हो,’ सहनीले भने। हत्याको विरोधमा प्रदर्शन गर्नेलाई धरपकड गर्न गृहको गोप्य सर्कुलर गृह मन्त्रालयले भने हत्यामा संलग्नको खोजीका लागि दबाब दिने समूहलाई धरपकड गर्न निर्देशन दिएको छ। गृहले भदौ ७ गते प्रहरी प्रधान कार्यालयलाई परिपत्र गर्दै हिन्दूवादी समूहहरूले गतिविधि गरिरहेकाले रोक्न निर्देशन दिएको हो। ‘सो घटनाको विषयलाई लिएर जिल्लाहरूमा हुन सक्ने अवाञ्छित गतिविधि हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानुन विपरीतका कार्य भए गरेको पाइएमा संलग्नलाई कानुनी दायरामा ल्याउने व्यवस्था गर्नू,’ पत्रमा भनिएको छ। पत्रमा हत्यालाई लिएर दाङ, रौतहट, सुनसरीमा प्रदर्शन भएको उल्लेख छ। सन्तहरू नै संलग्न भएर सुनसरीमा गतिविधि भएकाले सो कार्यलाई रोक्न निर्देशन दिइएको छ। गृह प्रवक्ता चक्रबहादुर बुढाले घटनालाई धार्मिक र राजनीतिक रङ दिने कुरालाई निरुत्साहित गर्न गृहले निर्देशन दिएको बताए। उनले भने, ‘अनुसन्धान गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने विषय छँदैछ, तर घटनालाई कुनै धर्म र राजनीतिसँग जोडेर काम गर्न नदिन यस्तो निर्देशन दिइएको हो।’ उनले पटक-पटक प्रहरीलाई घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउन निर्देशन दिइरहेको बताए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...