नेपालमा कोरोना विरुद्धको भ्याक्सिन परीक्षण गर्ने तयारी हुँदै

देश    स्वास्थ्य

नेपालमा कोरोना विरुद्धको भ्याक्सिन परीक्षण गर्ने तयारी हुँदै

७ भदौ, काठमाडौं । कोरोना भारइसविरूद्धका खोपको नेपालमा पनि अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ।

परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए।

उनले पछिल्लो समय कोभिड-१९ विरुद्ध विश्वमा क्लिनिकल ट्रायलको चरणमा रहेका विभिन्न भ्याक्सिनहरूको नेपालमा पनि अनुसन्धान गर्न परिषद्ले नेतृत्व लिएको बताए।

'चीन, रसिया र बेलायतको अक्सफोर्ड भ्याक्सिन ग्रुपले उत्पादन गरेका भ्याक्सिनहरू नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न कम्पनीहरू इच्छुक भएको र प्रकृया पनि अगाडि बढाएको छ,' ज्ञवालीले भने।

उनले चीनको 'होङ्सी ग्रुप' पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको बताए।

ज्ञवालीले भने, 'उहाँहरुले पनि एक हजार जनामा क्लिनिकल ट्रायल गर्न इच्छा देखाउनुभएको छ। तर हामी त्यसलाई अध्ययन गरेर अनुमति दिने कुरा टुंगो गर्छौं।'

अन्य कम्पनीहरू पनि क्लिनिकल ट्रायलका लागि आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने परिषद्को तयारी छ।

ज्ञवाली भन्छन्, 'कम्पनीहरू इच्छुक हुनु भएन भने पनि परिषद्ले नै क्लिनिकल ट्रायललगायत अनुसन्धान अगाडि बढाउँछ।'

उनले त्यसका लागि अक्सफोर्ड ग्रुपसँग प्रारम्भिक कुराकानी पनि भएको बताए।

'हामीले विश्व स्वास्थ्य संगठनमार्फत अक्सफोर्डसँग पनि कुरा गरेका छौं। यो साता ठोस कुरा थाहा हुन्छ' उनले भने, 'उहाँहरूले अनुसन्धानको लागि भनेर खोप उपलब्ध गराउने वा नेपालले खरिद गर्नुपर्ने कुरा चाहिँ टुंगो लागेको छैन।'

उनले सम्बन्धित दूतावासमार्फत चीन र रूससँग पनि खोपका लागि कुरा भइरहेको जनाए।

रूसले कोरोनाविरुद्धको खोप चाँडै नै बजारमा आउने दाबी गरेको छ। यीबाहेक अन्य शक्ति राष्ट्रहरूसमेत कोरोनाविरुद्धको खोप बनाउन दिनरात लागिरहेका छन्।

भारतले पनि कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल गरिरहेको छ।

नेपालमा भने यो खोप कति जनामा परीक्षण गर्ने भन्ने टुंगो भएको छैन। त्यसका लागि परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ।

ज्ञवाली भन्छन्, 'कतिजना व्यक्तिलाई खोप दिने भन्ने टुंगो छैन। तर परिषद्ले दुईवटा डिजाइनमा काम गरिरहेको छ। अब खोप आएपछि डिजाइनकै आधारमा प्रयोग हुन्छ।'

पछिल्लो समय परिषद्ले कोरोना संक्रमितको उपचारमा 'रेम्डेसिभिर' औषधीको प्रभावकारिताबारे पनि अनुसन्धान गरिरहेको छ। ज्ञवालीले केही दिनमै संक्रमितको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्न लागिएको बताए।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...