तीन दिन हिँडेर बाँसखर्क आईपुगे लिदीका पहिरो पीडित

देश

तीन दिन हिँडेर बाँसखर्क आईपुगे लिदीका पहिरो पीडित
११ भदौ, सिन्धुपाल्चोक । साउन ३० गतेको भीषण पहिरोले घरबारविहिन भएका जुगल गाउँपालिका १ लिदीका पहिरो पीडितहरु सोही गाउँपालिकाको वडा नं.२ स्थित बाँसखर्क आईपुगेका छन् । उनीहरु ३ दिन हिँडेर मंगलबार बाँसखर्क आईपुगेका हुन् । ३० साउनको पहिरोमा पुरिएका ३३ जनाको शव फेला परिसकेको छ । अन्य ६ जना अझै हराइरहेका छन् । नेपाली सेना र प्रहरीको टोली पहिरो उत्खननमा खटिरहेकै छन् । पहिरोपछि कहालीलाग्दो बनेको गाउँको दृश्य आँखावरिपरि घुमिरहेको लिदीवासीको अनुहारमा बाँसखर्क आइपुग्दा पनि चमक छैन । उनीहरूलाई भिरालो चौरमा ९१ वटा टेन्ट गाडेर राखिएको छ । सबै परिवारका लागि टेन्टका अस्थायी टहरा निर्माणाधीन छन् । हिलोमाथि टेन्ट गाडिएका छन् । भुइँबाट आउने चिसोले उनीहरूको बसाइ कष्टकर बनाएको छ । पर्याप्त टेन्ट नभएकाले केही परिवारलाई एकै ठाउँमा राखिएको छ । ‘टेन्ट आउँदै छन्, त्यसपछि सबैलाई व्यवस्थापन गर्छौँ,’ जुगल-२ का वडाध्यक्ष प्रताप लामाले भने, ‘दुई–तीन महिना व्यवस्थापन गर्ने चुनौती चानचुने छैन । चामल पनि पर्याप्त नभएकाले प्रतिपरिवार आधा बोराका दरले वितरण गरेका छौँ ।’ लिदीवासीको मनमा एउटै जिज्ञासा पाइन्छ, बाँसखर्कमा कतिन्जेल बस्ने  ? गाउँ फर्कौ,  फेरि पहिरोले बगाउने डर छ । गाउँ नजाऊँ त कहाँ जाने । अहिले गाउँपालिकाले लिदी छाड्न आग्रह गरेकाले मात्र उनीहरू बाँसखर्क आएका हुन् । १२ वैशाख ०७२ को भूकम्पपछि पनि यसरी नै गाउँ छाडेका थिए, लिदीवासीले । चिरा परेको जमिन व्यवस्थापन गरेर गाउँमै बस्ने वातावरण मिलाउने आश्वासन पाएर उनीहरू पुख्र्यौली थलो नै फर्किए । त्यसरी फर्केकामध्ये दुई परिवारका पाँचजनाको पहिरोमा परेर मृत्यु भएको छ । एकीकृत बस्तीमा राख्ने सभामुखको आश्वासन बाँसखर्क आइपुगेका पहिरोपीडितलाई भेट्न आएका सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूलाई एकीकृत बस्तीमा राख्ने आश्वासन दिएका छन् । उनीहरूको स्थायी बसोवासका लागि सिंहदरबारमा राज्यका उच्च पदस्थहरूसँग छलफल भएको उनले बताए । र, फर्किनासाथ प्रधानमन्त्रीसँग कुरा गर्ने आश्वासन बाँडे । पहिरोमा बाबुआमा गुमाएका बालबालिकालाई एसओएस बालग्राममा संरक्षण दिने योजना रहेको उनले बताए । ‘पहिलो प्राथमिकता पीडित बालबालिकाको उद्धार हो,’ सापकोटाले भने, ‘त्यसपछि स्थायी वासका लागि ‘फास्ट ट्र्याक’मा काम गरिनेछ ।’ विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेल र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले पनि पहिरोपीडितलाई सक्दो सहयोग गर्ने वचन दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...