जब एक युवक हत्या गरी काटिएको टाउको लिएर प्रहरी कार्यालय पुगे…

अपराध

जब एक युवक हत्या गरी काटिएको टाउको लिएर प्रहरी कार्यालय पुगे…
१९ भदौ, धादिङ । 'सर मान्छेको टाउको काटेर ल्याएको छु'। शुक्रवार बिहान सवा १ बजेतिर जिल्ला प्रहरी कार्यालय धादिङको गेटमा पुगेर एक युवकले सुरक्षामा खटिएका प्रहरीलाई भने। त्यसपछि प्रहरी नै अलमलमा परे। कालो रंगको पछाडि भिर्ने झोला देखाउँदै युवकले टाउको नै देखाएपछि नपत्याउने कुरै भएन। त्यसपछि प्रहरीले ती युवकलाई नियन्त्रणमा लियो। युवक थिए- २६ वर्षीय राजु परियार। 'कालो झोलामा टाउको लिएर नै आएपछि नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान भइरहेको छ,' जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रवीन्द्र रेग्मीले भने। बिहीवार राति युवकले ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेका थिए। राति उनीहरु एक पितृकर्मको कार्यक्रममा गएर फर्किने क्रममा विवाद भएपछि युवकले गुरुङको हत्या गरेका थिए । केही पर गएर धारिलो हतियार ल्याएर उनको टाउको काटेको प्रहरीमा मौखिक बयान दिएका छन्। नीलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा युवकले बृद्धको हत्या गरेका थिए। 'अहिलेसम्म धेरै कारण खुलेको छैन। उनीहरुको आपसी विवाद हुँदा हत्या भएको देखिन्छ,' एसपी रेग्मीले भने। अहिले घटनास्थल प्रहरी पुगिसकेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...