मिलेमतोमा वन फडानी, भागबन्डा नमिलेपछि लफडा

अपराध

मिलेमतोमा वन फडानी, भागबन्डा नमिलेपछि लफडा
१२ भदौ, नेपालगञ्ज । डडेल्धुराको आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा स्थानीयस्तरमा मिलेमतोमै वन फँडानी भएको पाइएको छ । स्थानीयस्तरमा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ताहरू सामाजिक अगुवा, जनप्रतिनिधि र निर्माण व्यवसायीहरूको मिलेमतोमा वन फँडानी गरेको भए पनि काठ काटिएको लामो समयपछि रकममा कुरा नमिल्दा डिभिजन वन कार्यालय डडेल्धुरालाई जानकारी गराइएको स्थानीय बताउँछन् । स्थानीय एक अगुवाले नाम नछाप्ने सर्तमा भने– ‘सहमतिमै काठ काटिएपछि केही काठ आमा समँहको भवन निर्माणका लागि र केही अन्य सामाजिक कामका लागि छुट्ट्याइएको थियो ।’ चक्रपथ सडक निर्माण भइरहेको आलिताल गाउँपालिका–८ डोला र आसपासका बस्तीका बासिन्दाहरूको बैठक बसी सामाजिक कार्यका लागि केही काठ उपलब्ध गराउने र बाँकी काठ बिक्री गरेर सबैले रकम बाँडफाँड गर्ने सहमति भई काठ काटिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको वन अधिकारीहरीहरूको कथन छ । असार मसान्त नजिकिँदै जाँदा निर्माण कार्य गरिएको सो सडकखण्ड आसपासका रुखहरू सोही अवधिमा काटिएका हुन् । काटिएका रुखका गोलिया बनाएर सडक खण्डभन्दा टाढा खोल्साखोल्सीमा लुकाइएको पाइएको छ भने केही काठ चिरेर बिक्रीसमेत गरेको स्थानीयको दाबी छ । काठ लुकाएर अवैधरूपमा बिक्री–वितरणसमेत गरिन थालेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका स्थानीय केही नेता–कार्यकर्ताले वन फँडानीका बारेमा चासो राख्दै ८ देखि १० लाख रुपियाँ पार्टीलाई सहयोग गर्नुपर्ने माग राखेको र काठ बिक्री भइसकेपछि मात्रै रकम उपलब्ध गराउने सहमति गराउन खोज्दा कुरा नमिलेर उनीहरूले डिभिजन वन कार्यालयलाई गुहारेको सडक निर्माण गरिरहेको निर्माण कम्पनी उग्रतारा कन्सट्रक्सन सम्वद्ध स्रोतले जनायो । आलिताल गाउँपालिकाको कोषबाट निर्मित सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सडकको एलाइनमेन्टमा ६ वटा सालका रुख पर्ने उल्लेख छ । तस्करी गर्ने उद्देश्यले सडकको एलाइनमेन्टभित्र नपर्ने सालका रुखसमेत काटिएको स्थानीय बताउँछन् । आलिताल गाउँपालिकाले डोला चक्रपथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरेपछि इब्रिडिङमार्फत उग्रतारा कन्ट्रक्सन प्रालिको ठेक्का सदर भएको थियो । स्थानीयबाट प्राप्त सुचनाका आधारमा डिभिजन वन कार्यालय डडेल्धुराले सशस्त्र वनकर्मीहरूको टोलीसहित सो सडक खण्डको निरीक्षण गर्दा गत शुक्रबार पहिलोपटक एक सय १० थान गोलिया सालको काठ बरामद गरेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...