सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

खेलकुद

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट
१४ भदौ, काठमाडौं । ग्लेन फिलिप्सको अर्धशतक र कार्लोल ब्रेथइटेको उत्कृष्ट बलिङ मद्दतमा जमैका तल्लावाहजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ । नेपाली स्पीनर सन्दीप लामिछानेले २ विकेट लिएको उक्त खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो । ६ खेलमा ३ खेल जितेको जमैकाले ६ अंक नै जोडेको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । जमैकन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भएको थियो । उसका लागि काएरन पावेल र एभिन लेविसले समान २१ रन बनाए । सेन्ट किट्सलाई अलआउट गर्न जमैकाका लागि ब्रेथवेइटले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । सन्दीप लामिछाने फिडेल एवारड्स र भिरास्वामी परमुलले २–२ विकेट लिए । ब्रेथवेइटले ३.४ ओभरमा १ मेडन राख्दै ११ रन मात्र खर्चेर ३ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । यस्तै परमुलले ४ ओभरमा २० रन खर्चिए । त्यसअघि क्वीन्स पार्क ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनाएको थियो । फिलिप्सले ६१ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै जर्मेन ब्ल्याकउडले २७ रन जोडे । सेन्ट किट्सका कप्तान राएद एमरिटले ३ विकेट लिए । पोलार्डको शानदार ब्याटिङमा ट्रिनबागो अपराजित कप्तान काएरन पोलार्डले बिस्फोटक ब्याटिङ गर्दै ७२ रन बनाएपछि ट्रिनबागो नाइट राइडर्सले साविक विजेता बार्बेडोस ट्राइडेन्सलाई २ विकेटले हरायो । पोलार्डले २८ बलमा २ चौका र ९ छक्का मद्दतमा ७२ रन बनाएपछि ट्रिनबागोले १४९ रनको लक्ष्य एक बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा गर्यो । खेरे पेरीले ५ बल खेल्दै अविजित १० रन जोडे । यस्तै ओपनर लेण्डन सिमोन्सले ३२ रन बनाए । बार्बेडसका कप्तान ज्यासन होल्डरले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बार्बेडोसले २० ओभर खेल्दै ७ विकेट गुमाएर १४८ रन बनाएको तियो । बार्बेडोसका लागि जोन्सन चार्लसले ४७ र केयल मेयर्सले ४२ रन बनाए । ट्रिनबागोका अपिल हुसेन, जेयडन सिल्स र सिकन्दर राजाले २–२ विकेट लिए । अपराजित रहँदै लगातार ६ खेल जितेको ट्रिनबागो १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । चौथो हार व्यहोरेको बार्बेडोस ४ अंकसहित चौथो स्थानमा छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...