मेस्सीलाई भित्र्याउन म्यानचेष्टर सिटीको अग्रसरता

खेलकुद

मेस्सीलाई भित्र्याउन म्यानचेष्टर सिटीको अग्रसरता
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीलाई भित्र्याउन प्रक्रिया अघि बढाएको छ। मंगलबार मेस्सीले आफूले बार्सिलोना छाड्न चाहेको बताएपछि उनलाई भित्र्याउन इंग्लिस क्लब सिटी अग्रपंक्तिमा देखिएको हो। सिटीले मेस्सीलाई तीन वर्षको सम्झौताको प्रस्ताव अघि सारेको इएसपिएनले स्रोतको हवाला गर्दै उल्लेख गरेको छ। मेस्सीका लागि सिटीपछि अमेरिकन मेजर सकर लिग टिम न्युयोर्क सिटीमा जान सक्ने प्रस्ताव पनि अघि सारिएको छ। न्युयोर्क सिटी म्यानचेस्टर सिटीकै कम्पनी सिटी फुटबल ग्रुपको स्वामित्वमा रहेको क्लब हो। कतारका लगानीकर्ताको ग्रुपअन्तर्गत विश्वभर दर्जनौ क्लब रहेका छन्। ३३ वर्षीय मेस्सीलाई भित्र्याएर सिटी इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग जित्न चाहान्छ। त्यसपछि मेस्सीले चाहे न्युयोर्क सिटीमा जान सक्नेछन्। सिटीले खेल जीवनपछि पनि मेस्सी सिटी फुटबल ग्रुपको एम्बासडरको रूपमा रहने अर्को प्रस्ताव गरेको छ। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत साता मेस्सीसँग छलफल गरेको युरोपियन मिडियाहरूको दाबी थियो। त्यसको केही दिनपछि मेस्सीले बार्सिलोना छाड्न चाहेको बताएका थिए। मेस्सीले क्लब छाड्ने बताएपछि अहिले सबैभन्दा ठूलो चिन्ता बार्सिलोनालाई परेको छ। किनभने बार्सिलोना मेस्सीबाट सकेसम्म बढी सम्झौता रकम उसुल्न चाहान्छ। तर मेस्सी आफूमाथिको रिजल क्लब हटाउन चाहान्छन्। मेस्सीले आफूसँग सम्झौता गर्दा सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा पनि उल्लेख रहेको सम्झाउँदै बार्सिलोनालाई पत्र लेखेका छन्। सन् २०१७ को सम्झौतामा सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा थपिएको मेस्सीको भनाइ छ। सो सम्झौता २०२१ सम्म भए पनि मेस्सीले चाहेको बखत क्लब छाड्न सक्ने सो बुँदाले प्रष्ट पारेको मेस्सीका वकिलले तर्क गर्दै आएका छन्। तर बार्सिलोनाले सिजनको अन्त्य जुन मध्य मात्र भएको दाबी गरेको छ। सोही आधारमा बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो राखेको छ। कतिपयले यो क्लज मेस्सीलाई रोक्नका लागि बार्सिलोनाको रणनीति भएको भनेर विश्लेषण गरेका छन्। मेस्सीका वकिलले भने कोरोना भाइरसका कारण यो सिजनको अन्त्य जुनमा नभएर अगस्टमा हुने दाबी गरेका छन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...