रौतहटमा एक महिला मृत फेला, बलात्कारपछि हत्याको आशंका

अपराध

रौतहटमा एक महिला मृत फेला, बलात्कारपछि हत्याको आशंका
रौतहट । रौतहटमा एक ४० वर्षीया महिला मृतावस्थामा फेला परेकी छन् ।  गढीमाई नगरपालिका–३ लक्षमीपुरकी मिन्त्री देवीको शव आइतवार गाँउछेउकै उखुुघारीमा फेला परेको प्रहरीले जनाएको छ । कुटपिट गरी सालले घाँटी कसेर हत्या गरिएको अवस्थामा मिन्त्री देवीको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । घटना प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका रहेको डिएसपी श्रेष्ठले बताए ।  महिलाको हत्याको अनुसंधान गर्न आवश्यक जनशक्ति परिचालन गरिएकाले तत्कालै हत्याको कारण यकिनका साथ भन्न सकिने अवस्था भने नरहेको प्रवक्ता श्रेष्ठको भनाइ छ  । हाल घटनास्थललाई सुरक्षित राखेर मुचुल्का उठाउने काम भइरहेको प्रवक्ता श्रेष्ठले बताए । यसअघि गत साउन ३२ गते जिंगडियाका २२ वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव बरामद भएको थियो । यस्तै गत भदौ ३ गते राति ९ बजे खेसरहियाका हनुमान मंदिरका पुजारी ७० बर्षिय श्रीराम साहको पनि हत्या भएको थियो ।  खाना खान बसेको क्रममा अज्ञात मानिसले कन्चटमा गोली हानेर हत्या गरेको थियो । निरञ्जन रामको हत्याको अनुसंधानमन क्रममा १ गते ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन प्रमुख डिएसपी ज्ञानकुमार महतोले जिंंगडियाका बिजयराम सहित ७ जना माथि ज्यान मुद्धा दर्ता गरेर सार्वजनिक गरेका थिए । प्रहरीकै नियन्त्रणमा रहेको समय गत १० गते उपचारको क्रममा नेशनल मेडिकल कलेज वीरगंजमा १९ वर्षीय बिजयरामको मृत्युु भएको थियो । रामको दुबै किडनीले काम गर्न छोडेकाले मृत्यु भएको प्रहरीको दाबी छ भने पीडित परिवारले प्रहरीको यातनाबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् । घटनाको निष्पक्ष छानबिनको लागि रौतहटमा आन्दोलन हुँदै आएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...