आजबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु

देश

आजबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु
१६ भदौ, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ । नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् । विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि चार्टर्ड उडानहरु भए । त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो । बन्दाबन्दीको अवधिमा दैनिक १८ वटासम्म चार्टर्ड उडान भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हँुदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् । कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ । यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...