गाडी किनेको २ वर्षमै मर्मत खर्च ६२ लाख ? अनुसन्धान गर्दै अख्तियार

देश

गाडी किनेको २ वर्षमै मर्मत खर्च ६२ लाख ? अनुसन्धान गर्दै अख्तियार
१० भदौ, बुटवल । प्रदेश ५ को प्रदेशसभामा भएका खर्चमा अनियमितताको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । प्रदेश सभा सचिवालयले गाडी मर्मतमा गरेको ६० लाख रुपैयाँ  भन्दा बढी खर्च र प्रदेश सभाका सचिव दुर्लभकुमार पुन र लेखा अधिकृत आलोक अग्रहरिले कानून विपरीत घरभाडा लिँदै आएको विषयमा उजुरी परेको थियो । यस विषयमा प्रदेश सभाको लेखा समितिले पनि छानबिन गरिरहेको छ । अख्तियारले पनि प्रदेश सभा सचिवालयबाठ फाइल मगाएर अनुसन्धान थालेको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले पुष्टि गरे । ‘उजुरी परेपछि हामीले अनुसन्धान प्रकृया अघि बढाएका छौं’ प्रवक्ता भुसालले भने । प्रदेशसभाका ३२ वटा सवारी साधन मर्मतमा २३ महिनामा ६३ लाख खर्च भएको देखाइएको छ । किनेको दुई वर्ष पनि नबित्दै गाडी मर्मतमा यति ठूलो रकम खर्च देखाएपछि अनियमितता भएको आशंकामा प्रदेश सभाको सार्वजनिक लेखा समितिले पनि सांसद वैजनाथ जैसवाल कलवारको संयोजकत्वमा समिति गठन गरेर छानबिन अगाडि बढाएको छ । सवारी साधन मर्मतसम्बन्धी सम्पूर्ण हरेक बिलको नम्बर, खर्च भएको मिति, मर्मत गरेको ग्यारेजको नामसहित विस्तृत फाइल मगाएर छानविन गरिरहेको कलवारले बताए । प्रदेश सभा सचिवालयका कर्मचारी, गाडी चालक र वर्कशपको मिलेमतोमा सवारी मर्मतमा अनियमितताको आशंका रहेको समिति संयोजक कलवार बताउंछन् । प्रदेश सभाले आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ६१ लाख रुपैयाँमा ११ वटा जीप, एउटा स्कोर्पियो गाडी, एउटा कार, चारवटा मोटरसाइकल र तीन वटा स्कुटर किनेको थियो । किनिएका सवारी साधान गाडी सभामुख, उपसभामुख, प्रदेश सभाका सातवटा समितिका सभापति, सत्तापक्ष र विपक्षी दलको प्रमुख सचेतक, प्रदेश सभा सचिव र उपसचिवलाई सुविधा वापत दिइएको छ । एउटा जीपमा बजार मूल्यभन्दा ३ लाख ३९ हजार ९९९ रुपैयासम्म बढी रकम तिरेको पाइएपछि लेखा समितिले ३७ लाख ३९ हजार ९८९ रुपैयाँ फिर्ता गराएको थियो । यस्तै प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि अनुदान अन्तर्गत कोल्ड स्टोर खरिदमा दिएको अनुदानमा पनि अनियमितता भएको आशंकामा छानबिन गर्न लागिएको लेखा समिति सभापति डिल्ली चौधरीले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...