स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा त्रुटि पोखरामा ६ जनामात्रै संक्रमित।

स्वास्थ्य

स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमा त्रुटि पोखरामा ६ जनामात्रै संक्रमित।
जुन ३० पोखरा :-प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले संक्रमितको ठेगाना नै उल्टो हालेर विज्ञप्ति जारी गरेको पाइएको छ । निर्देशनालयले कास्कीको माछापुच्छ्रे गाउँपालिकाका पुरुषलाई पोखरा महानगरको देखाएको छ ।निर्देशनालयले पोखरामा ७ जनामा कोरोना पुष्टि भएको बताए पनि पोखरा महानगरले ६ जनामा कोरोना देखिएको जनाएको छ । निर्देशनालयले जारी गरेको विज्ञप्तिमा पोखराका ६ पुरुष र १ महिलामा कोरोना देखिएको उल्लेख छ । तर स्वास्थ्य अधिकृत हरिलाल आचार्यले ३६ वर्षे पुरुष कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रहेको बताए ।उनका अनुसार निर्देशनालयको विज्ञप्तिमा महिला भनिएका २७ वर्षे संक्रमित पुरुष हुन् ।‘विज्ञप्तिमा ३६ वर्षको पुरुष पोखराको भन्ने आएको छ । तर उहाँ पोखराको नभई माछापुच्छ्रे गाउँपालिकाको हुनुहुँदो रहेछ,’ आचार्यले भने । पोखराका बाँकी ६ संक्रमितमध्ये ४ जना साउदी अरब, १ जना कुवेत र १ जना युएईबाट आएका हुन् । संक्रमित ६ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा लगिएको छ । संक्रमित ६ जना वडा नम्बर १७, १३, २१, २७, १२ र ३ का हुन् ।महानगरले संक्रमित पोखराको नभएको बताइरहँदा निर्देशनालयले आफ्नो विज्ञप्तिमा कुनै त्रुटि नरहेको जनाएको छ ।‘माछापुच्छ्रेका पुरुषको स्वाब पोखरामै संकलन भएकाले यतै देखाइएको हो । मिस्टेक भएको होइन,’ निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले भने । महिला भनिएका २७ वर्षे संक्रमित पुरुष रहेको बारेमा आफूलाई केही जानकारी नभएको उनले बताए । पोखराका भनिएका पुरुष आफ्नै पालिकाको रहेको माछापुच्छ्रे गाउँपालिकाले पुष्टि गरेको छ । संक्रमितको नाम, ठेगाना, वर्ष सबै पालिकाबाटै पठाएको स्वाबसँग मिलेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले बताए ।उनले भने, ‘पोखरा १० को भनिएका पुरुष त्यहाँका होइनन्, नाम, उमेर, ठेगाना सबै हामीसँगै मिल्छ । तर मलाई आधिकारीक जानकारी कतैबाट आएको छैन ।’संक्रमित पुरुषको स्वाब असार १३ गते गाउँपालिकामै संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको स्वास्थ्य संयोजक आचार्यले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...