कसले सम्हाल्ला तालिबानको सत्ता?

अन्य

तालिबानले अफगानिस्तानमा कब्जा गरेको छ। अफगान राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेका छन्।

अब अफगानिस्तानको सत्ता तालिबानका कुन नेताको हातमा जाने छ भन्ने आम चासो छ। दुई जनाको नाम बढी चर्चामा रहेको बीबीसीले जनाएको छ, मुल्ला अब्दुल गनी बरादर र हिब्तुल्लाह अखुन्दजादा। तालिबान भित्र यी दुई नेताको भूमिका कस्तो छ?

मुल्ला अब्दुल गनी बरादर

मुल्ला अब्दुल गनी बरादर ती चारमध्ये एक हुन जसले १९९४ मा तालिबानको गठन गरेका थिए। सन् २००१ मा अमेरिकाको नेतृत्वमा अफगानिस्तानमा आक्रमण भएपछि तालिबानलाई सत्ताबाट हटाइयो। तब, बरादर नेटो सैन्य बलविरुद्ध विद्रोहका प्रमुख बनेका थिए। 

पछि फेब्रुअरी २०१० मा अमेरिका र पाकिस्तानको एक संयुक्त अभियानका क्रममा उनी पाकिस्तानको कराची शहरबाट पक्राउ परेका थिए। 

२०१२ सम्म मुल्ला बरादरका बारेमा धेरै जानकारी थिएन। त्यस समय अफगानिस्तान सरकार शान्ति वार्तालाई अघि बढाउनका लागि जो बन्दी रिहाको माग गर्थ्यो त्यस सूचीमा बरादरको नाम मुख्य हुने गरेको थियो। 

सेप्टेम्बर २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरिदियो। तर उनी पाकिस्तानमा नै बसे कि अन्तै गए भन्नेबारे स्पष्ट थिएन। 

मुल्ला बरादर तालिबानका नेता  मुल्ला मोहम्मद उमरका सबैभन्दा विश्वासपत्र सेना र डिपुटी थिए। उनी पक्राउ परेका समयमा तालिबानका दोस्रा ठूला नेता थिए। 

अफगानिस्तान प्रशासनका वरिष्ठ अधिकारीलाई सधैं लाग्थ्यो कि, कतारले बरादरमार्फत तालिबानलाई शान्ति वार्ताका लागि मनाउन सक्छ। 

सन् २०१८ मा जब कतारमा अमेरिकासँग वार्ताका लागि तालिबानले ढोका खोल्यो तब तालिबानले उनलाई राजनीतिक दलको प्रमुख बनाएको थियो। 

मुल्ला बरादर सधैं अमेरिकासँगको वार्ताको समर्थन गर्थे। तालिबान गठनपछि उनले कमाण्ड र रणनीतिकारको भूमिका निभाएका थिए। 

मुल्ला उमर जिवित रहँदा उनी तालिबानका लागि खाना जुटाउने र रोजमर्रा गतिविधीका प्रमुख थिए। उनी अफगानिस्तानका सबै युद्धमा तालिबानका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुन् र खास गरेर हेरात र काबुल क्षेत्रमा उनी सक्रिय थिए। 

तालिबान सत्ताबाट हट्ने बेलामा उनी सहायक रक्षा मन्त्री थिए। उनकी पत्नी मुल्ला उमरकी बहिनी रहेको र तालिबानको सबै हिसाब किताब उनले राख्ने गरेका जनाइएको छ। अफगान सुरक्षाबल विरुद्धको सबैभन्दा महत्वपूर्ण हमलाको नेतृत्व उनले गरेको बीबीसीले जनाएको छ। 

तालिबानका अन्य नेता जस्तै उनीमाथि पनि संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाएको थियो। इन्टरपोलका अनुसार मुल्ला बरादरको जन्म उरूजन्गान प्रान्तको देहरावुड जिल्लामा १९६८ मा भएको थियो। 

हिब्तुल्लाह अखुन्दजादा 

तालिबानका नेता हिब्तुल्लाह अखुन्दजादा इस्लाम धर्मका विद्वान हुन्। उनी कान्धारबाट आएका हुन्। उनले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा पुर्‍याएको मानिन्छ। 

तालिबानको गढ कान्धारसँग उनको सम्बन्धका कारण तालिबानमा आफ्नो पकड बनाउन उनी सफल भएका हुन्। १९९० को दशकमा उनले सोभियत संघविरुद्ध अफगानिस्तानका बिद्रोही कमाण्डरको भूमिका निर्वाह गरेका थिए। तर उनको पहिचान सैन्य कमान्डरको तुलनामा एक धार्मिक विद्वानको रुपमा धेरै थियो। 

उनी अफगान तालिबानका प्रमुख बन्नुअघि पनि तालिबानका शीर्ष नेतामा पर्थे र धर्मसँग सम्बन्धित आदेश दिन्थे। उनले दोषी पाइएका हत्यारा र अवैध यौन सम्बन्ध राख्नेहरुको हत्या र चोरी गर्नेको हात काट्न आदेश दिएका थिए। 

हिब्तुल्लाह तालिबानका पूर्व प्रमुख अख्तर मोहम्मद मन्सूरका सहायक थिए। मन्सूरको २०१६ मा अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो। मन्सूरले आफ्नो वसीयतमा हिब्तुल्लाहलाई उत्तराधिकारी घोषणा गरेका थिए। 

पाकिस्तानको क्वेटामा हिब्तुल्लाहको भेट तालिबानी शीर्ष नेताहरुसँग भएको थियो।  उनीहरुले नै उनलाई तालिबानको प्रमुख बनाएका थिए। समाचार एजेन्सी एएफपीका अनुसार वसीयत पत्र उनको नियुक्तिलाई वैधता दिनका लागि बनाइएको थियो। तर, तालिबानले उनको चयनलाई सर्वसम्मितिबाट भएको निर्णय बताएको छ। 


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...