युएईमा भव्यरुपमा उधौली साकेला मनाउदै।

विदेश

युएईमा भव्यरुपमा उधौली साकेला मनाउदै।
डिसेम्बर २ युएई मनु कोंमे तमु :- किरातीहरुको महान चाड उधौली ‘साकेला’ यहि आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रबार युएईमा बस्दै आएका किरातीहरुले उधौली साकेला मनाउने भएको छ। किरात राई यायोक्खा शाखा युएई ,सुनुवार सेवा समाज युएई , किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति आबुधाबी तथा किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति अल ऐनले संयुक्तरूपमा उधौली साकेला कार्यक्रम मनाउन लागेको हो। किरातीहरुले मंसिर शुक्ल पुर्णिमामा उधौली साकेला मनाउने गर्दछन् भने बैशाख शुक्ल पुर्णिमामा उभौली साकेला मनाउने गर्दछन् । नेपालमा मंसिर पुर्णिमाको दिन मनाउने गरिए पनि युएईमा रहेका किरातीहरुले भने समय मिलाएर मनाउने गरेका छन् । यसैगरी युएईमा छरिएर रहेका किरातीहरुले आफ्नो पेशागत समयलाई समेटेर यहीँ आउदो डिसेम्बर १३ तारिख २०१९ शुक्रवार युएईको राजधानी अबुधाबी स्थित साकेला पार्क मुसफामा शुभकामना आदानप्रदान तथा साकेला सिलि कार्यक्रम भव्यरुपमा मनाउने भएका छन। किरातीहरु इतिहास कालखण्ड बाटै प्रकृतिपुजक हुन् । किराती आदिम पुर्खा सुम्निमा, पारुहाङ हुन् । पारुहाङ किरातेश्वर राजाका छोरा तथा तायादिन काल उनीहरुले नै खेतीपाती लगाउन सुरु गरेका थिए भन्ने भनाइ छ । हरेक बर्षमा दुइ पटक उधौली र उभौली साकेला भुमेपुजा गर्ने गरिन्छ । चोखो ठाउँको रुखको मुनि वरिपरि पर्खाल लगाएर बनाएको भुमे स्थलमा साकेला मनाउने गर्दछन् । साकेला गर्दा किराती मुन्दुमी कुल कुबि ( नक्छो) र जेष्ठ नागिरे र कोङकोधे पुर्खा र चार ढोले (सिल्लिपा) चार मसुने (सिल्लिमा) हुनुपर्ने हुन्छ । कुल मुन्दुमी नक्छोले आफ्नो घरको कुललाई देवी–देवतालाई मुन्दुम बखानलाई घरको तीन चुलालाई बल माग्ने गरिन्छ । साकेला गर्दा चाहिने सामग्रीमा चोखो अदुवा, चामल, धुप, सुगुर, कुखुराको भाले, एक आन्डा, चिन्डोमा चोखो रक्सी चाहिन्छ । मुन्दुमी नक्छोले लगाउने बस्त्र दाउरा सुलवाल जस्तै अनि नागका नक्सा सुनखरी र रातो काँचो धागिले बुनेर बनाएइको हुन्छ । खाडीको कपडा, दुम्सीको काँडा र सुनाखरी बाट बनेको सिलातकोमा, पगरी, मयुरको प्वाँख, रुद्राक्ष माला, सर्पको हाडको माला, घन्टी, फुर्के, बिसुर्लिम, सेउली, धनुकाँण, ढोल, झ्याम्टा, फलामबाट बनेको त्रिशुल, तरवार, खुर्पा आदी सामग्री चाहिन्छ । उधौली साकेला मनाउनुको अर्थ बालीनाली पाकेको अवसरमा बालिनाली उठाउने क्रममा हावाहुरी, असिना, झरी , बतास, चराचुरुङ्गी मुसा नलागोस भन्ने खुशियालीमा मनाउने पर्व हो। युएईमा छरिएर रहेका किरातीहरुले भने आफू बसेको ठाउँको सबै किराती समेट्दै पायक पर्ने पार्कमा जम्मा भएर प्रत्येक बर्ष उधौली र उभौली साकेला मनाउदै आइरहेको छन् । उक्त कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागी किराँत राई यायोक्खा शाखा युएई र सुनुवार सेवा समाज युएईले सम्पूर्ण युएईबासी किराँती तथा गैर किराँती नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई कार्यक्रममा गरिमामय उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरिएको किराँत राई यायोक्खा शाखा युएईका उपाध्यक्ष बिजया लक्ष्मी राईले बताएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...