७० करोड टेप काण्डः मिश्रलाई अख्तियारमा उपस्थित हुन निर्देशन

देश

७० करोड टेप काण्डः मिश्रलाई अख्तियारमा उपस्थित हुन निर्देशन
१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो । अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ ।
तोकिएको समयसीमाभित्र उपस्थित नभए कानुन बमोजिम हुने अख्तियारले जनाएको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको प्रहरी महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न आउनु होला, नआए कानुन बमोजिम भइ जाने छ,’ अख्तियारको सूचनामा लेखिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए । सो अडियो मिश्रले नै गोप्यरुपमा रेकर्ड गरेर मिडियामा दिएको आरोप छ । त्यसअघि गत पुस २१ गते संसदको सार्वजनिक लेखा समितिमा विज्ञका रुपमा बोलाइएका मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि फ्रान्स र जर्मनीका कम्पनीले गरेको प्रस्तावमा आर्थिक चलखेल भएको बताएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...