कुखुराको मासु गुन्द्रुक भन्दा सस्तो

व्यापार

कुखुराको मासु गुन्द्रुक भन्दा सस्तो
१२ भदौ, काठमाडौं । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै कुखुरापालक किसान चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ रुपैयाँ तोकिएको छ । सातामा तीन पटकसम्म मूल्य घटेपनि मासुको बिक्री नबढेपछि किसानहरु चिन्तित भएको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । प्रतिकिलो २५५ रुपैयाँमा पनि मासुको खपत नभएपछि शुक्रबारबाट पुनः मासु सस्तो बनाउने निर्णय भएको संघका अध्यक्ष जंगबहादुर बिसीले बताए । संघको बिहीबार बसेको बैठकले तयारी मासुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घटाएर २४० मा झारिएको अध्यक्ष बिसीको भनाइ छ । सुरुआती लकडाउनले कुखुरा बिक्री गर्न नसकेका किसानले कुखुरा पालन नगरेपछि असार आइपुग्दा बजारमा मासुको अभाव भएको मूल्य ३९० रुपैयाँ प्रतिकिलोसम्म पुगेको संघको भनाइ छ । ‘मूल्य आकासिएपछि किसानले उत्पादन बढाएको तर पुनः निषेधाज्ञा सुरु भएपछि मूल्य ओरालो लाग्यो,’ अध्यक्ष बिसीले भने । पछिल्लो १५ दिनमा मासुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको र घट्दो मूल्यका कारण किसानको लागत पनि नउठ्ने अवस्था आएको संघले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...