तमुहरुको राष्ट्रिय पर्व ल्होसार बिरोधको रुपमा मनाउने ,गुरुङ राष्ट्रिय परिषद्को निर्णय |

मूलबासि /भूमिपुत्र

तमुहरुको राष्ट्रिय पर्व ल्होसार बिरोधको रुपमा मनाउने ,गुरुङ राष्ट्रिय परिषद्को निर्णय |
मंसीर १६ चितवन:-नेपाल सरकारले जातीय बिदा कटौती गरेको भन्दै तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद्ले यो वर्षको ल्होसार पर्वलाई आन्दोलनको रूपमा मनाउने तयारी थालेको छ । आइतबार भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । जातीय पर्वमा पाउँदै आएको सार्वजनिक बिदासमेत कटौती गरेर आदिवासी जनजाति समुदायमाथि ठूलो अन्याय गरेको भन्दै त्यसको विरोधमा कार्यक्रम गर्ने निर्णय गरिएको ह्युल छोँज धीँका केन्द्रीय अध्यक्ष रेशम गुरूङले जानकारी दिए । सामान्य तरिकाले माग गर्दा सम्बोधन नै नहुने देखिएपछि नचाहेरै पनि चरणवद्ध आन्दोलन गर्नुपर्ने बेला आएको उनले बताए । ‘पहिलो पटक संघीयताको अभ्यास गर्दै गरेका हामी आदिवासी जनजातिको लागि पहिलो गाँसमै ढुङ्गा लागेको छ,’ उनले भने, ‘त्यो ढुङ्गा ठूलो छ । त्यसलाई फाल्नको लागि गलघनकै प्रयोग गर्नुपर्ने भएको छ ।’ गुरूङ समुदायको महान पर्व तमू ल्होसारमा सार्वजनिक बिदा कटौती गरेर सरकारले आदिवासी जनजातिको पहिचान, अस्तित्व र स्वाभिमानमाथि नै छुरा प्रहार गर्ने काम भएको उनले बताए । ‘त्यसैले पनि यो आन्दोलन आवश्यक छ,’ उनले भने । तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषदका पूर्व केन्द्रीय अध्यक्ष कुम्भराज गुरूङले भने गुरूङ जातीको पर्वमा मात्रै नभई सम्पूर्ण आदिवासी जनजाति समुदायमाथि नै अन्याय भएकोले जनजाति महासंघले आन्दोलनको नेतृत्व दिनुपर्ने सुझाव दिए । ‘गुरूङहरूको मात्रै समस्या होइन,’ उनले भने, ‘सबै आदिवासी जनजाति समुदायमाथि अन्याय भएको छ । त्यसैले यसको नेतृत्व जनजाति महासंघले लिनुपर्छ । हामी सहयोग गर्न तयार छौँ ।’ ह्युल छोँज धीँका सल्लाहकार टेकप्रसाद गुरूङले भने यो आन्दोलनलाई कडारूपमा लैजानुपर्ने धारणा राखे । ‘सामान्य तरिकाले आन्दोलन गरेर हुँदैन,’ उनले भने, ‘सशक्त रूपमा जानुपर्छ । त्यसको लागि पूर्वतयारी बलियो हुनुपर्छ ।’ केन्द्रीय समितिको निर्णयलाई समर्थन जनाउँदै देशभरका सबै जिल्लामा एकै खालको कार्यक्रम आयोजना गर्ने सहमति भएको छ । ‘केन्द्रीय समितिले गरेको निर्णयको आधारमै हामी कार्यक्रम गर्न तयार छौँ,’ तमू ह्युल छोँज धीँ, गुरूङ राष्ट्रिय परिषद दैलेखका अध्यक्ष जीवन गुरूङले भने, ‘यो वर्ष ल्होसार आन्दोलनमा परिवर्तन हुँदैछ ।’ चितवन जिल्ला कार्यसमितिले पनि ल्होसार पर्वमा केन्द्रीय समितिको निर्णयअनुसार नै मनाउने तीव्र तयारी भइरहेको जिल्ला अध्यक्ष गणेशबहादुर गुरूङले जानकारी दिए । यो वर्ष सरकारको विरोधस्वरूप ¥यालीसमेत आयोजना गर्ने तयारी भइरहेको उनले बताए । देशभरका गुरूङ समुदायले हरेक वर्ष पुस १५ गते ल्होसार पर्व मनाउँदै आएका छन् । प्रदेश, जिल्ला र अन्य संघसंस्थाका अध्यक्षहरूसहितको बैठकमा विभिन्न जिल्लाबाट पदाधिकारीहरू चितवन आएका थिए । नरयाणी न्युज

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...