शिक्षा मन्त्रीलाई खुला पत्र।

अन्य

शिक्षा मन्त्रीलाई खुला पत्र।
जुन ३ छबिलाल पौडेल पोखरा:-माननीय शिक्षामन्त्री ज्यु नमस्कार । कोरोना भाईरस कोभिड १९ को कारण उत्पन्न महामारीका कारण बन्दाबन्दीको समयमा खान नपाएर भन्दा पनि सरकारको शिक्षा क्षेत्रको उच्च ब्यक्ति हजुरले यस क्षेत्रमा गरेका निर्णयले जनता हृदयघातबाट जोगिन सफल भएका छन । यही खुसीमा हामी आराम महसुस गरेका छांै । मन्त्री ज्यु शिक्षा संसारकै सर्वश्रेष्ठ शिल्प हो यसमा कुनै बिबादै छैन । यसकै कारण आज बिश्वले मंगल ग्रह माथि समेत बिजय हासिल गरिसक्यो । बर्तमान महामारीलाई निस्तेज पार्न पनि बिद्यालयबाट प्राप्त ज्ञानसिप र अनुसन्धाननै एउटै मात्र बिकल्प हुनेछ । यस कारण पनि शिक्षा ग्रहण गर्ने कार्यलाई किमार्थ स्थगन गरिनु हुदैन यो संसारकै मान्यता हो । बालबालिकाले जुन उमेर समुहमा जुन शिक्षा ग्रहण गर्नु पर्ने हो त्यो समयमा सो ज्ञान ग्रहण ग्रहण गर्न पाएनन् भने उनीहरुको बौद्धिकतामा तुवाँलो लाग्न सक्छ । यस तर्फ आजको बिश्वका सबै शासक , अभिभावक उत्तिकै चनाखो छन् । यी सबै प्रसङ्गको ठूलो ज्ञाता पटक पटक शिक्षा मन्त्रालयको कमाण्ड समालेको हजुर पनि हो भन्ने मा म बिश्वस्त छु । धेरै भूमिकामा बाँध्न जरुरी छैन । केही दिन अगाडि सरकारले २०७७ जेष्ठ ३२ गते सम्मका लागि बन्दाबन्दीको लागि निर्णय थमाउँदै गर्दा यहाँको कमाण्डमा रहेको मन्त्रालय सँग जोडिने निजी क्षेत्रको बिद्यालयको संगठनको एउटा अभूतपूर्ण निर्णय सार्वजनिक भयो । देशभरका प्रायः सरकारी बिद्यालय क्वारेन्टीन बनिरहेको बेला निजी बिद्यालयले बिद्यार्थी भर्ना शुरु गर्ने । तमाम जनता भोक र रोग सग लडिरहेको बेला हजुरको कमाण्डमा रहेको बिशिष्ट निकायको निर्णय प्रति मन्त्रालयबाट कुनै प्रतिकृया नदिई रहदा हामीलाई यहाँको साँठगाँठमै यो सबै निणय भएको भनेर बुझ्न खास समस्या परेन । अनि यो निणय सँगै हजुरको क्रान्तिकारी पार्टीले बिगतमा शिक्षामा समानता भनेर आम सर्वधारणलाई भिडाई रहेको दृश्य दुनियाँलाई मुर्ख बनाउने हतियार मात्र थियो भन्ने पुष्टि हजुरहरुले नै प्रमाणित गरेर देखाईदिनु भयो । यो भन्दा ठूलो घात जनताका लागि शिक्षा क्षेत्रमा केही छ भने बताईदिनु होला । मन्त्रीज्यु हजुरको बहादुरीको अर्कमण्यता यतिमा मात्रै सीमित रहेन । जेष्ठ १८ गते त हजुरबाटै स्थानीय निकायका नाममा अनुरोध हुकुम बक्स्यो ःअसार १ गते बाट पठनपाठन शुरु गर्नू । जुन समाचार आम अभिभावकका लागि शक्तिशाली भूकम्प भन्दा पनि कठिन भयो । जसलाई सामना गर्नका अत्यन्तै अप्ठ्यारो भयो । जुनकम्पनले ओठ तालु सुकायो । यसको पराकम्पनले धैर्यताको पिल्लर नै भत्काउने गरि कापेको हजुरको कार्यस्थल सम्म शायद त्यहाँको कडा सुरक्षा ब्यवस्थाको कारण पुग्न सकेन । एक छिनका लागि मानौ यो पत्र पूरै गलत छ ।गलत नै सही शिक्षा क्षेत्र बिशेष गरी बिद्यालय शिक्षा सँग जोडिएका बिषयमा केही थान ज्वलन्त प्रश्न छन् । नागरिकलाई स्पष्ट पार्नु पर्ने दायित्व मनन् गर्नु हुन्छ भने सबोधनको पर्खाई रहनेछ । म मेरो प्रश्नलाई बिषम परिस्थिति तर्फ होईन बरु हजुर सम्मिलित सरकारले गरेका निर्णय र सरकारले नीति तथा कायक्रम मार्फत संबोधन गरेका बिषय केन्द्रित गर्नेछु । यो प्रश्नलाई फरक बिचार र निराधार आक्रोसको रुपमा नबुझी भयभीत अभिभावकको असन्तुष्टि भनेर बुझिदिनु होला । यो देशको शिक्षा प्रणाली कता तर्फ जाँदैछ भनेर बुझेर यहाँको मन्त्रालय बर्तमान अवस्थाको आवश्यक्तालाई सही मार्गमा लैजान कोशेढुंगा साबित हुनेछ । बालबालिकाको पढाई लेखाई प्रति देखाउनु भएको चासोको उच्च सम्मान गर्दै आम नागरिकको तर्फ बाट निम्न प्रश्न मन्त्री ज्युको लागि जिज्ञासाको रुपमा राखेको छु । १. सरकारी बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सरकारको नीति तथा कार्यक्रम मार्फत सम्बोधन भएको निजी बिद्यालय सँग साझेदारी गर्ने भन्ने बिषयले सरकारी क्षेत्रमा शिक्षाका बिज्ञहरु हुदै नभएकोलाई प्रष्ट पारेको हो ? वा सर्वसुलभ र माध्यमिक बिद्यालय सम्मको निःशुल्क गर्ने सरकारको आफ्नो घोषणा कार्यन्वयन गर्न नसकेको ? २. सरकारी बिद्यालयहरु अहिलेको देशको आवश्यक्ता अनुसार क्वारेन्टिन बनेका छन् र क्वारेन्टिन क्षेत्रमा कारोना भाईरसका शंकास्पद बिरामीलाई मात्र राख्ने हो भन्ने बिषयमा हजुर पक्कै जानकार हुनुहुन्छ । यस्तो अवस्थामा बालबालिका लाई र क्वारेन्टिनमा राखिएका नागरिकहरु लाई सँगै राखेर कस्तो शिक्षा दिने हो ? ३. क्वारेन्टिन स्थल रोग सर्नका लागि जोखिमपूर्ण क्षेत्र हो । जो क्वारेन्टिन मुक्त भएपनि केही समय संकमण फैलाउने कारक बन्न सक्छ भन्ने बिज्ञहरुको राय छ । यस्तो अवस्थामा घरमै सुरक्षित बसेका बालबालिकालाई बिद्यालय पठाउने कुनै परीक्षण हो कि ? बालबालिका प्रतिको गैर जिम्मेवारिता? ४. कहीँकतै मन्त्री ज्युको माथ जोगाउन बैकल्पिक शिक्षा दिने हो पठनपाठन नै गर्ने भनिएको होईन पनि भनिएको छ । घरमा दिन नमिल्ने र यो बन्दाबन्दीमा समेत बिद्यालयमै जानु पर्ने यो कस्तो बैकल्पिक शिक्षा हो ? केही उदाहरण पाउन सकिन्छ कि ? ५. पूर्ण सुरक्षा ब्यवस्था सहित बिद्यालय खोलेका ,प्रबिधिका कारण पूर्ण बन्दाबन्दीकै अवस्थामा जान नपरेको देश दक्षिण कोरियाको बिद्यालय समेत खुलेको २ दिनमै बन्द गराउनु परेको तात्तातो घटना क्रम लार्इ मन्त्री ज्युका सल्लाहकार हरुले यो निर्णय गर्नु अगाडि सुझाए वा सुझाएनन् ? ६. अनलाइन कक्षाका नाममा भएको कक्षा शिक्षण आफैमा सबै तहका लागि प्रभावकारी नभएको र शहरमै बस्ने सबै बर्गले समेत यो प्रबिधिलाई अपनाउन नसकेको अवस्थामा दुर दराजका कति जनतामा प्रबिधिको पहुँच पुगेको र अपनाउन सक्ने तथ्याङ्क हजुरको मन्त्रालयमा छ ? ७. घरमै रहेका बालबालिका लाई बिद्यालय पठाउन हतार हुने हजुरको मन्त्रालय बिद्यालय शिक्षालाई ब्यापार बनाउने प्रमुखकारक एसइइ लाई हटाउने यो सबैभन्दा ठुलो अवसर हो भन्ने वहस चलाई रहँदा हजुरको मन्त्रालय त्यस तर्फ किन मौन छ ? हाम्रा बालबालिकालाई एसइइ दिन योग्य बनाउने हाम्रा बिद्यालय र शिक्षकको मूल्याङ्कन लाई आधार बनाएर बिद्यालयले नै उनीहरुको स्तर मूल्याङ्कन गरि निणर्य दिन किन सक्दैनन ? एसइइको अन्यौल अझै कति समय राख्ने हो ? ८. समुदायलाई जिम्मेवारी दिने नाममा स्थानीय निकायलाई सुम्पिएको सामुदायिक बिद्यालयका बालबालिकाले शिक्षाको गुणस्तरमा निजी क्षेत्रको बिद्यालयका बिद्यार्थी सग प्रतिस्पर्धी हुन सरकारले के कस्ता नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ? ९. हाम्रा बालबालिकाको लागि श्रम प्रति सम्मान भाव जगाउने यो उचित समय हो । त्यसका लागि यो समय शारीरिक दुरी कायम राखी उनीहरुलाई पनि उत्पादनको जटिलता बारे प्रयोगात्मक ज्ञान दिन मन्त्रालयबाट के कस्ता कार्यक्रमहरु सार्वजनिक गरिए ? कि किताबी सैद्धान्तिक शिक्षालाई मात्र शिक्षा मान्ने हजुर मातहतको मन्त्रालयको नीति हो ? १०.निजी बिद्यालयलाई सामुदायिक स्कुल सुधार गर्ने जिम्मा दिँदा के साच्चै सामुदायिक बिद्यायको शैक्षिक गुणस्तरले छलाङ मार्छ र ? ११. देशका सबै सामुदायिक बिद्यालयमा राज्यकै तर्फबाट बालशिक्षाको लागि केही शिक्षकहरु राखिएका छन् । उनीहरुहको पारिश्रमिक श्रम ऐनले तोकको भन्दा पनि न्युन छ । देशको एउटा जिम्मेवार मन्त्रालय नै कानुनको यति बिघ्न खिल्ली उडाउन मिल्ला र ? धन्यबाद उही हजुरको शुभ चिन्तक छबिलाल पौडेल,एकान्तबास

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...