पुर्व सभामुख महराले क्लिन चिट पाए पनि सभामुख पदमा फर्कन नमिल्ने ।

राजनीति

पुर्व सभामुख महराले क्लिन चिट पाए पनि सभामुख पदमा फर्कन नमिल्ने ।
अक्टुबर ६ काठमाडौँ :-वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सभामुखको राजीनामा नै स्वीकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिए पनि अब सभामुखमा फर्किने सम्भावना नभएको भट्टराईको दाबी छ ।उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिंगको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधानबमोजिम निर्वाचन हुने उनले स्पष्ट पारे । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुसन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुसन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुसन्धान शुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुनुपर्छ ।’भट्टराईले मन लाग्यो भन्दैमा कसैको इज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाइने स्पष्ट पारे । उनले यदि शाही डिप्रेसनको बिरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि इज्जत छ, पुरुषको पनि इज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’ उनले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुने पनि जीकिर गरे । उनले भने,‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको केसमा अधिकतम १५ वर्षसम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हेरेर सजाय हुन्छ ।’ शाहीले आफू डिप्रेसनको बिरामी भएको भन्ने कुरा पत्यारलाग्दो नभएको पनि उनको भनाइ छ । उनले भने,‘यदि उहाँले भनेजस्तो हो भने यो कुरा मानसिक सन्तुलन गुमाएको कुरा चिकित्सकबाट प्रमाणित हुनुपर्छ ।’ उनले शाहीको भनाइलाई पनि अनुसन्धान गर्नुपर्ने बताए । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा भनेको राजीनामा नै हो । अब सभामुख पद रिक्त भयो । निर्वाचन हुनैपर्छ ।’ बहुदलीय प्रणाली भएकोले सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिंगको हुनुपर्ने उनको भनाइ छ । उनले यो प्रकरणमा ‘फस्ट इन्फरमेशन’ का आधारमा प्रहरीले आफ्नो प्रतिवेदन दर्ता गर्नुपर्ने बताए । उनले भने,‘फस्ट इन्फरमेसनका आधारमा प्रहरीले अनुसन्धान गर्नुपर्छ ।’ पीडित भनिने महिलाले अलग–अलग अभिव्यक्ति दिए पनि पहिलो सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गर्नुपर्ने उनको जीकिर छ । अहिले शाहीले बयान फेरेको कुरालाई उनले ‘एक्स्ट्रा जुडिसियल डकुमेन्ट’ भएको पनि बताए । यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहने पनि उनको भनाइ छ । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेदवार बनाएर सभामुख बन्न पनि सक्ने उनको तर्क छ । उनले शाहीको बाहिर आएको पहिलो भिडियाको आधारमा महराले सभामुखबाट राजीनामा दिएको बताए । यदि पहिलो भिडियोमा लगाएको आरोप गलत सावित भए उनलाई साइबर क्राईमको मुद्दा चलाउन सकिने पनि उनको तर्क छ । शाहीमाथि यदि कसैले ज्यान मार्ने धम्की दिएको हो भने पनि कसले धम्की दिएको भन्नेबारे अनुसन्धान हुनुपर्ने ज्ञवालीले स्पष्ट पारे । कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने एकिन भएपछि दोषिमाथि सोहीअनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ । उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस् भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’उनले सत्ताको शक्तिले उक्त घट्नालाई मोड्न नहुने पनि ध्यानाकार्षण गराइन् । उनले महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाईएको हो भने प्रतिष्ठामा आँच पुगेको सुनाइन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...