पोखराका मुख्य मुख्य स्थानहरु सी सी क्यामराद्वारा मनीटर गरिने |

स्थानीय

पोखराका मुख्य मुख्य स्थानहरु सी सी क्यामराद्वारा मनीटर गरिने |
असोज १५ पोखरा :-कास्कीका तत्कालीन एसपी अशोक सिंहको पालामा पोखरा महानगरपालिकालाई सुरक्षाका हिसाबले बलियो बनाउन सिसिटिभी क्यामेरा जडान गर्ने निर्णय भयो ।पछि उनी महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखामा सरुवा भए । उनको सरुवासँगै महानगरको सिसिटिभी क्यामेरा जडान गर्ने योजना पनि सेलाएर गयो । योजना तयार पारेका धेरै समयपछि महानगरले पुनः सहरका मुख्य स्थान तथा चोकमा सिसिटिभी क्यामेरा जडान गर्न सुरु गरेको छ । सहरमा विभिन्न घटना बढ्दै गएपछि पोखरा महानगरपालिकाले सुरक्षाका लागि क्यामेरा जडान गर्न लागेको महानगरले जानकारी दिएको छ । पोखरा महानगरपालिकाले क्यामेरा जडान गर्न गण्डकी प्रदेश सरकारसँग साझेदारी तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र पोखराका उद्योगी व्यवसायीसँग समन्वय गरेको हो । सहरका जुनसुकै ठाउँमा सिसिटिभी क्यामेरा जडान गरेपनि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्की कार्यालयमा मनिटर राखेर नियन्त्रण गरिने मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । ‘महानगरपालिकाभरि नै सिसिटिभी क्यामेरा हुनेछन्,’ उनले भने, ‘चालु आर्थिक वर्षमा पोखराका महत्वपूर्ण स्थान तथा चोकमा सिसिटिभी क्यामेरा जडान गर्न लागेका छौं ।’ उनका अनुसार जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयमा मनिटर राखेर सहरका सम्पूर्ण गतिविधिमाथि निगरानी राखिनेछ । महानगरमा सिसिटिभी क्यामेरा जडान गर्न ८ करोडको स्टिमेट तयार गरेको छ । असोज दोस्रोसातासम्ममा महानगरले पालिखे चोक, महेन्द्रपुल, चिप्लेढुंगा वीपीचोक, सिर्जनाचोक, पृथ्वीचोक, अमरसिंह चोक, जिरो किमी चोक, हल्लन चोकमा सिसिटिभी क्यामेरा जोडिसकेको मेयरका स्वकीय सचिव तिमिल्सिनाले जानकारी दिए । ‘मुख्य चोक तथा ठाउँहरु गरेर अहिलेसम्म १५ ठाउँमा क्यामेरा जोडिसकेका छौं,’ उनले भने । ८ करोड रुपैयाँ स्टिमेट भएपनि यस आर्थिक वर्षमा महानगरले ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको महानगरले जानकारी दिएको छ । ‘अहिले सहरमामात्रै हो । पछि पर्यटकीय पदमार्ग (ट्रेकिङ रुट)मा समेत सिसिटिभी जडान गर्न सहकार्यका लागि केही दाताहरुसँग कुरा अघि बढिरहेको छ,’ मेयरका स्वकीय सचिव तिमिल्सिनाले भने । जिल्ला प्रहरी कार्यालयले ४ फेजका सिसिटिभी क्यामेरा जडान गरिरहेकोछ । साभार :-समाधान

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...