परिक्षा अघि बेपत्ता बिद्यार्थी उतिर्णको सुचीमा ।

अन्य

परिक्षा अघि बेपत्ता बिद्यार्थी उतिर्णको सुचीमा ।

नोवेम्बर ८ पोखरा :-वन विज्ञान अध्ययन संस्थान पोखरामा विएस्सी पहिलो सेमेस्टरको परीक्षा चल्दै थियो । कैलालीका भीष्मराज जोशी क्याम्पस नजिकैको जंगल जानेक्रममा सेती नदीमा खसे । उनी अहिलेसम्म पनि बेपत्ता छन् । यो २०७२ सालको कुरा हो ।पहिलो सेमेस्टरको सबै विषयका परीक्षा दिइ नसक्दै बेपत्ता भएका जोशी चौथो सेमेस्टरको परीक्षाको नतिजा आउँदा उत्तीर्णको सूचीमा परे । उनी बेपत्ता भएको २ वर्षपछि प्रकाशित चौथो समेस्टरको नतिजामा कसरी उत्तीर्ण भए ? सबै विद्यार्थी चकित परे ।

कास्कीका विनय भण्डारी पहिलो सेमेस्टरको परीक्षा दिएर २०७३ सालमा अमेरिका गए । उनले दोस्रो र तेस्रो समेस्टरको परीक्षा दिएकै छैनन् तर उनको नाम पनि तेस्रो समेस्टर पास हुने विद्यार्थीको सूचीमा प¥यो । वन विज्ञान अध्ययन संस्थान डिन कार्यालय अन्तर्गतको परीक्षा महाशाखाबाट प्रकाशित विभिन्न तहको नतिजामा यस्तै गम्भीर लापरवाही भेटिएको छ । बेपत्ता, विदेश गएका विद्यार्थी नतिजा सार्वनजिक हुँदा पास तर मार्कसिटमा फेल आउने लगायतका त्रुटि परीक्षा महाशाखाले गरेको छ ।अध्ययन संस्थानको डिन कार्यालय र परीक्षा महाशाखाको चरम लापरवाही देखिएको भन्दै विभिन्न विद्यार्थी संगठनले विरोध जनाएका छन् । समयमै परीक्षाफल प्रकाशित नगर्ने, हास्यास्पद र आधारहीन परीक्षा नतिजा सार्वजनिक गर्ने कामले संस्थानको डिन कार्यालय र परीक्षा महाशाखामाथि विश्वास घट्दै गएको विद्यार्थीले गुनासो गरेका छन् ।

‘सामान्य त्रुटि हुनु स्वभाविक हो तर डिन कार्यालय र परीक्षा महाशाखाको गम्भीर लापरवाहीले दिग्भ्रमित बनाएको छ,’ संस्थानका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका इकाई अध्यक्ष जीवन पौडेलले भने, ‘यस्ता गल्ती एकपटक होइन पटकपटक भएका कारण गम्भीर आशंका पैदा गरेको छ ।’

विद्यार्थीहरुले तत्काल छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन् । ‘निस्पक्ष नतिजा प्रकाशन गर्न र विद्यार्थीको भविष्यमाथि खेलवाड नगरी कार्यसम्पादन गर्न माग गर्दछौं,’ विद्यार्थी संगठनहरुले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन् । दशैं अगाडि नै वा दशैं र तिहारको बीचमै आउनु पर्ने परीक्षाको नतिजा ढिला गरी सार्वजनिक हुँदा पनि विद्यार्थीमाथि गम्भीर असर पर्ने गरी आउनु ठूलो लापरवाही भएको अखिल छैठौंका अध्यक्ष विमल पाण्डेले बताए ।

‘ढिला गरी सार्वजनिक भएका विभिन्न तहको नतिजामात्रै त्रुटिपूर्ण छैनन्, स्नातक तह र स्नातकोत्तर तहको भर्ना आवेदन फारम सम्बन्धी सूचना डिन कार्यालयबाट आधिकारिक रुपमा नआउँदै विभिन्न समूहका नाममा आएको छ । यो खेदपूर्ण छ,’ पाण्डेले भने ।स्वतन्त्र विद्यार्थी युनियन, नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अखिल छैटौंले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै संस्थानको ध्यानाकर्षण गराउँदै छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...